Shittalpati
विषादी तरकारीमा रोक लगाऊ

भारतबाट आयात हुने तरकारीमा अत्याधिक मात्रमा विषादी हुने गरेको छ । नचाहँदा–नचाहँदै पनि हरेक नेपालीको भान्सामा दिनहुँ विषालु तरकारी पाकिरहेका छन् । तरकारीमा विषादीको प्रयोग बढेका कारण नेपालीहरूमा गम्भीरखालका रोग लाग्ने गरेको पनि पाइएको छ । आयातित विषादीमध्ये ८५ प्रतिशत तरकारीमा प्रयोग हुने गरेको छ । सरकारले अर्गानिक खेती प्रवद्र्धन गर्ने लक्ष्य राखेको छ । तर, बालीनालीमा विषादी प्रयोगदर बढ्दै गएको छ । सरकारले संविधानले सुनिश्चित गरेको सुरक्षित र गुणस्तरीय वस्तु उपभोग गर्न पाउने अधिकार सुनिश्चित गर्ने दायित्व पूरा गर्न सकेको छैन । नेपालमा प्रत्येक वर्ष भित्रिने विषादी मध्ये ८५ प्रतिशत तरकारी बालीमा प्रयोग हुन्छ । अधिकांश मानिसहरु विषादी तरकारी कै कारण मृत्युवरण गर्नु परेको छ ।

स्वास्थ्य नै हरेक नागरिकको सम्पत्ति हो । स्वस्थ नागरिक नै देशको धन हो । स्वस्थ नागरिक नभई देशको उत्पादकत्व बढ्न सक्दैन, साथै स्वास्थ्यमा गर्ने खर्चको छुट्टै व्यवस्था गर्नुपर्ने बजेट शिक्षा तथा अन्य विकाकका कार्यमा खर्च गर्न सकिन्छ । अत्याधिक विषादीको अवशेष नरहने गरी स्वस्थ तरकारी खाने वातावरण बनाउन सरकारले प्रोत्साहन गर्न आवश्यक छ । जलवायु परिवर्तनका कारण तरकारी तथा खाद्यान्नमा विभिन्न रोगका कीरा देखिन थालेकाले किसानले त्यसलाई नियन्त्रण गर्न अन्धाधुन्ध रूपमा विषादी प्रयोग गर्न थालेका छन् । कीरा वा शत्रुजीव व्यवस्थापन गर्न अन्य कुनै विकल्प नखोजी कडाभन्दा कडा विषादी प्रयोग गर्दा स्वास्थ्यमा गम्भीर असर पर्न गएको छ । विषादी प्रयोगले तत्कालिन रूपमा मुच्र्छा पर्ने, झाडापखाला लाग्ने, कम्पन, दृष्टि कमजोर तथा मृत्यु हुने असर गर्छ । अन्धोपना, क्यान्सर, ट्युमर, नपुसंकता, बाँझोपन, विकृत बच्चाको जन्म, विभिन्न अंगमा असर, नसा सम्बन्धी समस्या दीर्घकालीन रूपमा ल्याउने गर्छ । किसानमा जनचेतनाको कमीका कारण र वैकल्पिक उपाय नखोज्दा आम उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर परिरहेको छ । भारत लगायतका देशबाट आयात हुने तरकारी, फलफूल, माछामा विषादी तथा अखाद्य वस्तु मिसावटको अवस्था सीमानाकामै परीक्षण गरी स्वस्थ खानेकुरा मात्र भिर्याउन सरकारले समयमै ध्यान दिन जरुरी छ ।

प्रकाशित मिति: शनिबार, फागुन २४, २०७६  १२:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update