Shittalpati
रामपुर सरकारले घुम्ती शिविर मार्फत सेवा दिन थालेपछि स्थानीय हर्षित

इमान सिं राना
पाल्पा (रामपुर) । तत्कालीन गेझा गाउँ पञ्चायतका पूर्व प्रधानपञ्च रामपुर १० गेझा होस्दी निवासी ८१ वर्षिय नुन बहादुर राना वडा कार्यालय परिसरमा भएको स्वास्थ्य सहितको घुम्ती शिविरमा पुगेका थिए । आँखा परिक्षणका लागि पुगेका राना नगरपालिकाको सबै सेवा एकै स्थान बाट पाउँदा दंग थिए । हातमा लौरी सहायतामा आएका रानाले आँखा परिक्षण पछि उनले खुशी साट्दै भने, ‘हामी वृद्ध, असक्त, निम्न परिवारका मानिसहरुलाई असुविधा भएको ठाउँमा पनि यसरी सबै सुविधा पाउँदा ज्यादै खुशी लाग्यो ।’ रानाले थपे, ‘यस्ता सेवाहरु बेला बेलामा भैदिएको भए जनतालाई अझै सहज हुनेथियो ।’ राना मात्रै होइन नगरपालिका कार्यालय बेझाँड भन्दा सबै भन्दा पश्चिमको वडा नं. १० र ८ का स्थानीयहरुले यसरी नै खुशी साटेका थिए । नागरिकहरुको पहुँच सम्म सहज रुपमा सेवा पु¥याउनका लागि रामपुर नगरपालिकाले घुम्ती शिविर सञ्चालन गरे संगै स्थानियहरु हर्षित भएका हुन् । शिविर मार्फत नगरपालिका कार्यालयका सबै विषयगत शाखा मार्फत दिने सेवा, स्वास्थ्य परिक्षण अन्तर्गत सामान्य स्वास्थ्य परिक्षण, आँखा जाँच र महिलाहरुको पाठेघरको मुखको क्यान्सर सम्भावना परिक्षण सहित व्यवसाय दर्ता तथा परामर्श सेवा प्रदान गरिएको थियो ।

नगरपालिकाको सामाजिक विकास शाखाले जेष्ठ नागरिक परिचय पत्र तथा अपाङ्गता परिचय पत्र वितरण, पञ्जीकरण, सिफारिस प्रदान तथा कर तिर्ने सुविधा, योजना शाखा अन्तर्गत स्टमेट तयार तथा अनुगमन, कृषि तथा पशु शाखा अन्तर्गत बाली व्यवस्थापन तथा परामर्श, पशुहरुलाई औषधी वितरण, आयुर्वेद शाखा अन्तर्गत औषधी वितरण सेवा प्रदान गरिएको थियो । रामपुर अस्पताल र कालरुीगण्डकी आँखा तथा कान उपचार केन्द्र संगको सहकार्यमा स्वास्थ्य परीक्षण, आँखा परिक्षण शिविर, रामपुर उद्योग वाणिज्य संघ संगको सहकार्यमा व्यवसाय दर्ता तथा परामर्श सेवा प्रदान गरिएको थियो । वडा कार्यालय परिसरमा सेवागत घुम्ती शिविरको उट्घाटन गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले नगरपालिका कार्यालय तथा अस्पतालको पहुँच भन्दा पर रहेका जनताको आवश्यकतालाई मध्यनजर गर्दै वडा नं. १ र १० मा शिविर सञ्चालन गरिएको बताए । उनले अन्य संघ संस्था संगको सहकार्यमा नगरले सेवा प्रदान गरेको भन्दै थापाले आगामी वर्षहरु पनि कार्यालय भन्दा पर रहेका जनताको सहजताको लागि आवश्यकता अनुसार कार्यक्रम सञ्चालन गर्ने बताए । उनले वडा कार्यालय मात्रै नभई दुरदराजका जनताको लागि टोलटोल मै गएर सेवा प्रदान गर्ने बताए ।

कार्यक्रममा रामपुर नगर समन्वय समितिका सदस्य नेत्र प्रसाद भट्टराई, कमलराज भट्टराई, रामपुर १० का वडा अध्यक्ष लिल बहादुर गाहा, इलाका प्रहरी कार्यलय रामपुर प्रमुख प्रहरी निरिक्षक भिम बहादुर कार्की, रामपुर अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डाक्टर कुशल खनाल, रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकाल, पत्रकार सीता डोटेलले बोल्दै गाउँगाउँमा रहेका नागरिकहरुको लागि यस्ता शिविर अति प्रभावकारी हुने बताएका थिए । साथै यस्ता शिविरहरु आवश्यकता अनुसार सञ्चालन गर्नु आवश्यक रहेको बताएका थिए ।

रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बाबुराम अर्यालले नगरपालिका कार्यालयको पहुँच भन्दा पर रहेका र सेवा लिन जान असमर्थ जेष्ठ नागरिक, अशहाय, अपाङ्गता भएका र निम्न वर्गको व्यक्तिहरुलाई लक्ष्यित गरी शिविर सञ्चालन गरिएको बताए । उनले चेक बाहेकका सबै सेवा प्रदान गरिएको बताए । कार्यक्रममा रामपुर नगरपालिकाका प्रशासकिय प्रमुख युवराज पन्थीले कार्यक्रमको उद्देश्य बारे जानकारी गराएका थिए । रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बाबुराम अर्यालको अध्यक्षतामा भएको कार्यक्रम रामपुर नगरपालिका कृषि शाखाका प्रमुख रामहरी पाण्डेयको स्वागत र रामपुर नगरपालिकाका योजना अधिकृत कपिल बहादुर खाँणको सञ्चालनमा भएको हो ।

शिविर मार्फत १ हजार २ सय ३० जना भन्दा बढीले सेवा लिएका छन् । स्वास्थ्य तर्फ ४ सय ९ जनाले सामान्य उपचार सेवा र २ सय ७० जनाले आँखा परिक्षण गराएका छन् । आँखा परिक्षणको क्रममा २७ जनामा मोतिया विन्दुको समस्या देखिएको छ । त्यस्तै १ सय ३ महिलाले पाठेघरको परिक्षण गराएका छन् । आयुर्वेद शाखा तर्फ २ सय ४७ जनाले सेवा लिएका छन् । राजश्व तथा मालपोत तर्फ १ सय २ जनाले, व्यवसाय दर्ता १६ जनाले, वडा कार्यालय बाट १ सय २८ जनाले, पशु तथा कृषि सेवा शाखा तर्फ १ सय ४७ जनाले, योजना तर्फ ४ जनाले सेवा लिएका छन् । सामाजिक विकास शाखा अन्र्तगत १ सय २ जनालाई जेष्ठ नागरिक परिचय पत्र, क वर्गको २ जना, ख वर्गको ५ जना, ग वर्गको ४ जना र घ वर्गको ३ जना गरी १४ जनालाई अपाङ्गता परिचय पत्र प्रदान गरिएको छ ।

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत इलाका प्रहरी कार्यालय रामपुरले कोरोना भाईरस सम्बन्धी ४५ जनालाई सचेतना प्रदान गरेको छ । नगरपालिकाले यस अघि बुधबार वडा नं. १ र २ का नागरिहरुलाई गाँडाकोटमा शिवर मार्फत सेवा प्रदान गरेको थियो ।

प्रकाशित मिति: शुक्रबार, फागुन २३, २०७६  १८:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update