Shittalpati
मुद्रण उद्योगलाई सरकारले बेवास्ता गरेको छ : मुद्रण व्यवसायी

पाल्पा,मुद्रण उद्योगलाई सरकारले बेवास्ता गरेको मुद्रण व्यवसायीहरुले बताएका छन् । अरु व्यवसाय जस्तै मुद्रण उद्योगले पनि देशको आर्थिक विकासमा महत्वपूर्ण योगदान गर्दै लाखौलाई रोजगारी दिदै आएको भएता पनि सरकारले यो व्यवसायलाई बेवास्ता गरेको बताएका हुन् । यो उद्योग तथा व्यवासायीलाई सहुलियत दिने कुरामा सरकारले ध्यान नदिएको उनीहरुको गुनासो छ ।

शुक्रबार पाल्पाको तानसेनमा भएका मुद्रण उद्योग संघको भेलामा बोल्ने अधिकांस व्यवसायीहरुले यस्तो बताएका हुन् । कार्यक्रममा नेपाल मुद्रण उद्योग महासंघका उपाध्यक्षविष्णु तिवारीले आर्थिक विकासमा मुद्रण उद्योगको योगदान महत्वपूर्ण रहे पनि सरकारले त्यसतर्फ ध्यान नदिएको बताए ।
नेपाल मुद्रण उद्योग महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण पराजुलीले मुद्रण व्यवसायलाई आधुनिकीकरण र व्यवसायिक बनाउँदै लैजान देशव्यापी सञ्जाल निर्माण हुनुपर्ने धारणा व्यक्त गरे । मुद्रण उद्योग महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष घनश्याम घिमिरेले यो व्यवसायलाई समय अनुकुल व्यावसायिक बनाउँने कार्यमा पाल्पाका मुद्रण उद्योगीहरु पनि सक्रिय भएर लागेकोमा खुसी व्यक्त गरे ।

महासंघका प्रदेश सदस्य जगदीश भट्टराईले पाल्पा जिल्लाका मुद्रण व्यवसायीका समस्याहरु समाधानका लागि पैरवी गर्न भेला महत्वपूर्ण रहेको बताए । कार्यक्रममा महासंघका केन्द्रीय सदस्य राजु गैरे, लुम्बिनी प्रदेशका सह–सचिव डिल्लीराम पाण्डे, लुम्बिनी प्रदेश सदस्य निर्मल अर्याल, वरिष्ठ पत्रकार सुमन अधिकारी लगायतले मुद्रण व्यवसायलाई समय सापेक्ष आधुनिकीकरण गर्दै लैजानुपर्नेमा जोड दिए । उनीहरुले जिल्लाका सरकारी निकायका छपाई सम्बन्धी काम जिल्लामै छाप्न सकिने प्रविधि भए पनि बाहिरिने कार्यलाई तत्काल रोग्नुपर्नेमा जोड दिएका थिए । जिल्लामा प्रिन्टींड व्यवसाय सञ्चालन गर्दै आएका प्रेस उद्यमीहरुको भेलाले, नेपाल मुद्रण उद्योग महासंघको शाखाका रुपमा मुद्रण उद्योग संघ पाल्पा समेत गठन गरेको छ ।

व्यवसायी रिलनमान मर्हजनको अध्यक्षतामा संघ गठन गरिएको हो । जसको उपाध्यक्षमा विष्णु प्रसाद न्यौपाने, सचिव अमृत गुरुङ्ग, कोषाध्यक्ष प्रणयजंग राणा, सह–चिवमा राजु राजकोटी निर्विरोध निर्वाचित भएका छन् । यसैगरी सदस्यहरुमा ईश्वर देवकोटा, ओमप्रकाश बस्याल,कृष्ण कार्की, महेन्द्र खाती, उमेशमान मर्हजन, नितु काफ्ले, युवराज कुमाल, सुधीर रायमाझी निर्विरोध निर्वाचित भएको संघले जनाएको छ ।
त्यस्तै संघको सल्लाहकारहरुमा प्रेम मल्ल, जगदीश भट्टराई, केशवलाल बज्राचार्यलाई मनोनित गर्ने निर्णय भएको संघका अध्यक्ष रिलनमान मर्हजनले जानकारी दिए । कार्यक्रम लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद पराजुलीको अध्यक्षतामा भएको थियो ।

 

प्रकाशित मिति: शुक्रबार, असोज १, २०७८  २०:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update