Shittalpati
एसियन कंक्रिटोका उत्पादन अब नेपाल गुणस्तरमा

रामचन्द्र रायमाझी

पाल्पा, एसियन कंक्रिटोले नेपाल गुणस्तरअनुसार उत्पादन सुरु गरेको छ । युरोपियन तथा भारतीय मापदण्डअनुसार निर्माणजन्य सामग्री उत्पादन गर्दै आएको कंक्रिटोले अब नेपालमा पनि उत्पादन थालेको हो । कम्पनीले लुम्बिनी प्रदेशको औद्योगिक क्षेत्र भैरहवामा पत्रकार सम्मेलन गरी उत्पादनको विषयमा जानकारी गराएको छ ।

कंक्रिटोका निर्माण सामग्री उत्पादनमा पायोनियर एसियन कंक्रिटोले वैशाख ७ मा नेपाल गुणस्तर तथा नापतौल विभागबाट नेपाल गुणस्तर चिह्न (एनएस) पाएपछि सोहीअनुसार उत्पादन गरिरहेको पत्रकार सम्मेलनमा कम्पनीका अध्यक्ष मनीष रुंगटाले जानकारी दिए । ‘नेपालमा यस्ता सामग्रीको मापदण्ड बनिनसकेको अवस्थामा हामीले यूरोपियन तथा भारतीय मापदण्डलाई अनुशरण गरेर विभिन्न सामग्री बनाइरहेका थियौं ।’ अध्यक्ष रुङ्गाटाले भने, ‘नेपाल सरकारले यससम्बन्धी मापदण्ड बनाएपछि एसियन कंक्रिटोले नेपाल गुणस्तर (एनएस) लिएको तथा अहिले सोही अनुरुप उत्पादन गर्दै आएको छ ।’

उद्योगले हाल ३० वटा विभिन्न निर्माणजन्य सामग्री उत्पादन गर्दै आएको छ । कर्बस्टोन र इन्टरलक ब्लक सरकारले बनाउने पूर्वाधार विकासमै ८०/९० प्रतिशतसम्म खपत हुने गरेको कम्पनीका प्रबन्ध निर्देशक राजेशकुमार अग्रवालले बताए । यसमध्ये कर्बस्टोन र इन्टरलक ब्लक नेपाल गुणस्तर चिन्ह्र प्राप्त गर्ने पहिलो प्रोडक्ट भएको उनको भनाई छ । जर्मनीबाट मेसिनसहित प्रविधि ल्याएर बनाइएका सामग्री अन्य उद्योगको भन्दा कयौं गुणा बलियो र टिकाउ हुने कम्पनीले दाबी गरेको छ । ‘कम्पनीबाट उत्पादित सामग्री वातावरणमैत्री, बलियो हुँदाहुँदै पनि नेपाल गुणस्तर नपाएकाले बजारीकरणमा ठूलो समस्या भएको थियो । एनएस प्राप्त गरेपछि आफ्ना उत्पादनलाई बजारमा लैजान थप सहज भएको छ ’निर्देशक अग्रवालले भने ।

यदि सरकारले नेपाल गुणस्तर चिन्ह्र प्राप्त गरेको उत्पादन मात्रै प्रयोग गरेमा सरकारको अर्बौ रुपैयाँ वार्षिक मर्मत सम्भारबापत खर्च हुने रकम जोगिने कम्पनीका भाइस प्रेसिडेन्ट स्यामल झाले दाबी गरे । ‘विगतका दिनमा नेपालमा यस्ता गुणस्तरीय प्रोडक्ट बनेका थिएनन् । उद्योग पनि लागिसकेका थिएनन् । बाध्य भएर सरकारले गुणस्तरहीन प्रोडक्ट प्रयोग गरिरहेको थियो,’–झाले भने, ‘अब नेपालमै सरकारद्वारा बनाइएको मापदण्ड पालना गरेर गुणस्तरीय कर्बस्टोन तथा इन्टरलक ब्लक बन्न थालिसकेका छन् । त्यही भएर सरकारले पनि अब उप्रान्त बन्ने पूर्वाधारमा एनएस प्राप्त उत्पादन लगाउनका लागि योजना अघि सार्नुपर्छ ।’ निर्माणजन्य सामग्री उत्पादनमा पायोनियर एसियन कंक्रिटो नेपाल गुणस्तर तथा नापतौल विभागबाट नेपाल गुणस्तर चिन्ह पाउने पहिलो उद्योग हो । एसियन कंक्रिटो आउनुपूर्व पनि अन्य कम्पनीहरु थिए । तर, उनीहरुले एनएसका बारेमा कुनै चासो लिएको देखिएको थिएन । उद्योगले इँटासहित ३० वटा अन्य विभिन्न प्रडक्ट बनाउँछ । त्यसको पनि कच्चा पदार्थ एउटै हो । सडकको छेउ किनारामा लगाउनेदेखि घरभित्र र बगैंचालाई सुन्दर बनाउनेसम्म सामग्री उत्पादन गर्दै आएको छ ।

प्रकाशित मिति: शुक्रबार, असोज १, २०७८  १६:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update