Shittalpati
अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशालामा पर्यटकको आकर्षण

गुल्मी (वामी), मूर्तिकला कार्यशालामा पर्यटकको आकर्षण देखिएको छ । बागलुङ गलकोट नगरपालिका ५ टेउवामा सञ्चालन भइरहेको अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशालाको अवलोकन गर्न विभिन्न ठाँउबाट आन्तरिक पर्यटकहरु पुग्ने गरेका छन् । कार्यशालामा जापान, इटाली, इजरायल, फ्रान्स, युक्रेन, ताईवान, क्यानडा, भारत, चिन, ब्राजिल र नेपाल सहित ११ देशका १५ जना अन्तर्राष्ट्रिय ख्याति प्राप्त मुर्तिकारहरुले स्वतन्त्र रुपमा विभिन्न प्रकारका मुर्ति निर्माण गरिरहेका छन् ।

गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले प्रदेश र केन्द्र सरकारको सहयोगले कार्यशाला सफल भएको भन्दै स्रोत र साधन अनुसार स्थानीय सरकारले पनि कार्याशालालाई गलकोट नगरपालिकाको एउटा पर्यटकीय गन्तव्य बनाउन क्रमागत रुपमा आर्थिक सहयोग गर्ने बताए । त्यस्तै गलकोट अन्तर्राष्ट्रिय मुर्तिकला कार्याशालाका कोषाध्यक्ष यमबहादुर श्रीसले कार्याशालाको लागि १ करोड ४१ लाख, ७२ हजार बराबरको खर्च लाग्ने अनुमान गरिएको बताउँदै कार्यशालामा मुर्तिकलाको प्रत्यक्ष अवलोकन गर्न दैनिक सयौं आन्तरिक पर्यटकहरु कार्यशाला आउने गरेको बताए ।

साथै मुर्तिकलाको लागि नेपालका हिमाली र पहाडी क्षेत्र अलौकिक र अनुपम ठाँउको रहेको भन्दै नेपालका पहाडी ढुङ्गाहरु आफैमा कलाले भरिएको र त्यसमा मानवीय कला भोर्न पाउँदा फरक अनुभूति लागेको अन्तर्राष्ट्रिय ख्याति प्राप्त इटालीका मुर्तिकार बेतिनो फ्रान्सेनीले बताए । १७ दिनसम्म चल्ने अन्तर्राष्ट्रिय मुर्तिकला कार्यशाला मार्फत विभिन्न किसिमका मुर्तिहरु निर्माण हुने छन् । मुर्तिहरुलाई भावी दिनमा खुल्ला मुर्तिकला संग्रहालय निर्माण गरेर साँस्कृतिक कलाको अध्ययन अनुसन्धान स्थल र पर्यटकीय गन्तव्यको रुपमा वृद्धि विकास गर्ने उद्देश्य रहेको गलकोट अन्तर्राष्ट्रिय मुर्तिकला कार्यशालाका अध्यक्ष पूर्णबहादुर रानाले बताए ।

त्यस्तै गलकोट अन्तर्राष्ट्रिय मुर्तिकला कार्यशालाका संयोजक ओम खत्रीले हरेक कलाकारका आ–आफ्ना अनुभवका आधारमा मुर्ति निर्माण हुने भन्दै कार्यशालाका निर्माण भैरहेका मुर्तिहरुमा मानवीय भावना र संस्कृतिलाई उजागर गर्ने खालका मुर्तिहरु निर्माण भैरहेको जानकारी दिए । गत फागुन ५ गतेदेखि सञ्चालन भएको कार्यशालाको आज समापन गरिदै छ । –पत्रकार कौरव खत्रीबाट

प्रकाशित मिति: बुधबार, फागुन २१, २०७६  ११:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update