Shittalpati
महाधिवेशनका लागि ढोका खुल्यो

नेपाली काँगे्रसको क्रियाशील सदस्यता विवादको टुंगो लागेको छ । १४ औँ महाधिवेशनको तयारीमा रहेको कांग्रेसले डेढ वर्ष लगाएर बल्ल क्रियाशील सदस्यता टुंगो लगाएको हो । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यद्वय मीनेन्द्र रिजाल र रमेश लेखक सम्मिलित कार्यदलले सदस्यताका विषयमा देखिएका बाँकी विवादलाई सोमबार टुंगो लगाएर सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रतिवेदन बुझाएको छ ।

यससँगै कांग्रेसको क्रियाशील सदस्यताको विवाद किनारा लागेको छ । यसअघि पनि नेताहरूले सदस्य विवाद सहमतिमै समाधान गर्ने वा सहमति हुन नसके स्थगन गर्ने समझदारी गरिसकेका थिए । सोहीबमोजिम कार्यदलले १७० वडाको विवाद स्थगन गरेको बताइएको छ । नेपाली काँग्रेसभित्र क्रियाशील सदस्यता विवाद पटक पटक दोहोरिने समस्या हो । विगतका महाधिवेशनमा पनि क्रियाशील सदस्य विवाद नरहेको होइन । यस पटक भने यो विवादले महाधिवेशनको मिति नै परिवर्तन गर्नुपर्ने अवस्था आयो । दुई वर्षअघि पहिलो पटक १४औँ महाधिवेशन कार्यतालिका बनाउँदा २०७७ जेठ मसान्तभित्र क्रियाशील सदस्य टुङ्गो लगाइसक्ने योजना थियो । साउन ३० गते गठन भएको यो कार्यदलको प्रतिवेदन कार्यान्वयन भए पछिल्लो पटक तय भएको मितिमा अधिवेशन हुने निश्चित छ । कांग्रेसले सदस्यताकै विषयमा यति लामो समय खर्चिएको यो पहिलो पटक भने होइन । सदस्यताकै कारण तीनपटकसम्म तोकिएको मितिमा महाधिवेशन हुन सकेको थिएन । अब भने सदस्यताको विवाद टुंगिएपछि कांग्रेसलाई महाधिवेशनका अन्य प्रक्रिया अघि बढाउन बाटो खुलेको छ । नयाँ कार्यातालिका अनुसार, सबभन्दा तल्लो तहका रूपमा रहेको वडा अधिवेशन भदौ १८ गते हुनेछ भने मङ्सिर ९ देखि १३ सम्म पार्टीको १४औँ महाधिवेशन काठमाडौँमा हुनेछ । यही बीचमा गाउँ र नगर अधिवेशन, प्रदेश सभा निर्वाचन क्षेत्र, प्रतिनिधि सभा निर्वाचन क्षेत्र र जिल्ला अधिवेशन हुनेछ । नेताहरूले सदस्यताको टुंगो लाग्नुलाई ६० प्रतिशत महाधिवेशनको प्रक्रिया पूरा भएको रूपमा व्याख्या गर्ने गरेका छन् । महाधिवेशन, अधिवेशनबाटै पार्टी र मुलुकले चाहेको नेतृत्व ल्याउन सकिने भएकाले पनि निर्धारित समयमै नेपाली काँग्रेसले महाधिवेशन गर्न जरुरी छ ।

प्रकाशित मिति: बिहीबार, भदौ १०, २०७८  १०:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update