Shittalpati
नेवारी सँस्कृति र दथुसाया मतया

  लालकाजी शाक्य

परापूर्व कालदेखि नेपाल उपत्यकामा बसोबास गर्दै आएका नेवार समुदायले विभिन्न काल खण्डमा परिमार्जित गर्दै आफ्नो गच्छे अनुसार चाडपर्व र संस्कृति मनाउँदै आइरहेको पाइन्छ । पश्चिमी संस्कृति, आधुनिकता र महंँगीका कारण पछिल्लो समय अधिकांस पर्वहरु लोप हुँदै जान थालेका छन् । नयाँ पुस्ताले यि पर्व र संस्कृति प्रति चासो नदिनु र कही कतैबाट आर्थिक सहयोग नहुँदा पर्व, संस्कृतिहरु लोप हुन थालेका हुन भन्दा फरक पर्दैन ।

पहिले राजाको पालादेखि राणा कालको समयमा केही हदसम्म भए पनि सँस्कृति जोगाउँदै आएका थिए । तत्कालिन समयमा सरकारको तर्फबाट केही आर्थिक सहयोग पाएका कारण पनि पर्व र संस्कृतिहरु केही रुपमा भए पनि संरक्षित भएका थिए । उ बेला सामानहरु पनि सस्तो पाईने र फुसर्दिलो हुने भएकाले पनि पर्व मनाउन मानिसहरु उत्साहित हुने गर्दथे । अहिले मानिसहरुको संख्या बढ्दै गए पनि जात्रा पर्वहरुको रौनकता भने छैन् । पहिला जनसख्या कम भए पनि रौनकता र पर्व प्रतिको चासो आम मानिसमा हुन्थ्यो । राष्ट्रिय चाड दशैं, तिहार बाहेकका चाडहरु मध्य नेवार समुदायले मनाउने चाडमा ‘मतया’ पनि एक हो । यो पर्व श्रावण शूक्ल पक्षको द्घितिया तिथि रोपाँई जात्राको दिनमा पर्दछ ।

असार महिनाको हरिशयनी एकादशीदेखि लिएर कात्तिक एकादशीसम्म देवताहरु सागरमा जाने भएकाले त्यति बेला धर्तिमा देवता नहुने मान्य रहेको छ । त्यो रित्त समयमा विभिन्न भुत, पिचास, दानव जातिले मानिसलाई दुःख दिने भए पनि यो पर्व मनाएर देवताहरुलाई अझै पनि यो धर्तिमा नै छ भन्ने आभास दिलाउन पनि यो पर्व मनाईन्छ । यो पर्व कुनै एक घर परिवारले मनाउने नभई सामुहिक रुपमा मनाइन्छ । यो पर्वमा कुनै जाति धर्मको बन्देज हुँदैन जो कोहिले पनि भाग लिन सक्छन् । यो पर्व काठमाडौंको तीनै शहरमा मनाउने गर्थे । अहिले आएर यो पर्व पाटनमा विशेष रुपले मनाउने गरिन्छ भने काठमाडौं र भक्तपुरमा पनि छिट्टाफुट्टा रुपमा मनाउने गरिन्छ । यो पर्वमा चाहिने सामान अकसर चामलको पिठोबाट तयार गरिन्छ । सामानलाई विशेष रुप दिएर रंग लगाई वास्तविक वस्तुको आकार निकालिन्छ । यि परिकार बनाउन कडा मेहनत लाग्छ । उक्त जात्रामा सामेल हुने सबैले आफूले जानेको वस्तु बनाएर लैजाने चलन रहेको छ । यो पर्र्व देवतालाई भोज खुवाउने पनि भनिन्छ । यसरी भोज खुवाउँदा देवताको उपस्थित भएको आभास भुत प्रेतलाई हुने हुँदा मानिसलाई दुःख दिदैन भन्ने किंवदन्ती पाइन्छ । यो पर्व बिहान नुहाई धुवाई चोखो भई सके सबै मन्दिरमा नसके आफ्नै टोल वरिपरि रहेका मन्दिरमा गई भोज खुवाउने गरिन्छ । सबै बनाएको वस्तु नक्कली नै हो । अर्को थरि नेवार समुदायमा मत्यालाई भगवानलाई बत्ती चढाउनेको रुपमा लिईन्छ । तिनीहरुले साँझ भात नखाई आफन्तजनहरुलाई बोलाएर समय बजी खाएर बत्ती बाल्न जान्छन् । बिच बाटोमा भोक लाग्ने हुँदा, एक जनालाई खर्पनमा बोकाएर खानेकुरा लिएर जाने गरिन्छ । बत्ती बाल्दै जाँदा जहाँ भोक लाग्छ त्यहि बसेर खाने गरिन्छ । यो क्रम रातभर चल्छ, । झिसमिस उज्यालो भएपछि मात्र यो जात्रा समापन भएको मानिन्छ । जीवन यापनको क्रममा कामको खोजी गर्न काठमाडौं छाडेर नेवारहरु विभिन्न जिल्लामा छरिएर, व्यापार व्यवसाय, जागिर, नोकर , खेतीपाती गर्न लागेपछि , यो पर्व विस्तारै लोप हुदैँ गएको हो । विस्थापित नेवार समुदायले पनि चासो दिन छोडेपछि यो पर्व विस्तारै लोप हुने अवस्थामा पुगेको छ । जुन ठाँउमा नेवारवस्ती भए पनि यो काठमाडांैका तीनै शहरमा मात्र सिमित छ । यो पर्व काठमाडौंका तीन शहर बाहेक अन्य ठाउँहरुमा मनाइदैन । पाल्पाको तानसेनमा भने लालकाजी शाक्यको संयोजकतत्वमा २०४२ सालमा यो पर्व मनाइएको थियो । यो पर्व सञ्चालन गर्न कठिन हुँदा हुँदै पनि साहस र धैर्यताका साथ यो पर्व धुमधामका साथ मनाइएको थियो । पहिलो पटक भएर होला, सबैले आफूसक्दो परिकार बनाएर ल्याएका थिए । यस्तो अभूतपूर्व चिज जो सक्कली भन्दा कम थिएन् । हुवहु सक्कली जस्तै देखिने स्याउ, केरा, मुला , अण्डा, काक्रो अचार (भट्ट, अदुवा , लसुन, कर्कलोको अचार, चुकाउनी , आलुकवाफ, केराउ दाना इत्यादी हेर्न लायकका थिए । झट्टा हेर्दा सक्कली जस्तै देखिन्थो । विगत तीन वर्ष अघि नवजनचेतना राष्ट्रिय दैनिक पत्रिकामा यस पर्वको विषयमा विस्तृत रुपमा चर्चा गरिएको थियो । अहिले पनि यस पर्वको थप विषयमा यहाँ उल्लेख गरिएको हो ।

कसरी मनाईन्छ त यो पर्व ?

यो पर्वमा नेवार समुदायले आ–आफूले जिम्मा लिएका वस्तुहरु महाचैत्य विहारमा समयमै ल्याई सकेपछि धिमे बाजा सहित भजन गाउँदै नगर भित्र रहेका मठ मन्दिरहरुमा गएर भोज खुवाउने गर्दछन् । पहिला कलश अनि लपेसा पछि क्रम बद्ध रुपमा दुई तिर लस्कर बसेर अनुशासित ढंगले बजार परिक्रमा गर्दै मन्दिरमा गई भोज खुवाइन्छ । भोज खुवाउने स्थानमा कलशको जल छर्केर, लपेशा राखिन्छ । त्यसपछि चिउरा, भट्ट, अदुवा, लसुन गर्दै एक एक चिज क्रम बद्ध तरिकाले राख्दै जाने गरिन्छ । सबैले राखिसकेपछि अन्तिममा सिन्काको टुक्रा राखेपछि समापन हुन्छ । टक्सारमा रहेको माहाचैत्य विहारबाट सुरु हुँदै वसन्तपुर , कैलाशनगर, भगवतीटोल, नारायण टोल, भिमसेन टोल , बडिज्ञानटोल, मखनटोल हुँदै पुनः माहाचैत्य विहारमा आएर पर्व समापन गर्ने प्रचलन रहेको छ ।

यहाँ सबैको नामलिन सकिन्न । पत्रिकाको पानामा पनि नअटाउने भएकाले छोटकरीमा यो लेख तयार गरिएको छ । यो चाडलाई पञ्चाङ्गपात्रोमा ‘दथुसाया मतया’ भनि उल्लेख गरिएको छ । उतिबेला मोबाइल, भिडियो क्यामेरा थिएनन् । रेकर्ड गरेर राख्न फोटोको भरमा झिनो याद कसै कसैलाई होला । यो लेख तयार पार्दा सम्म कति जानासँग फोटोको बारेमा सोध खोज भयो तर कसैले सहि जानकारी र फोटो उपलब्ध गराउन सकेनन् । जनतन एक दुईटा प्राप्त फोटो नै प्रमाणको रुपमा यहाँ राखिएको छ । पाल्पामा यो पर्व मनाइएको पनि करिब ३६ वर्ष भइसक्यो । उवेला जन्मेका बच्चाहरुको विवाह भएर छोरा छोरी पनि भए होलान् तर मतयाको विषयमा कुनै जानकारी नहुन सक्छ । गत सालमा केहि साथीहरुले यो संस्कृति जोगाउन पर्छ भन्दा मैले सबै जनालाई जानकारी पनि गराइसकेको थिए । के गर्ने आर्थिक अभावले गर्दा गर्न सकिएन । केहि साथीहरुले मुख मोडी दिए । अहिलेको जमानामा यो पर्व मनाउन करिब एक लाखले पुग्दैँन । मुखले सहयोग गर्छु भने पनि पछिल्लो समयमा आएर मुख मोडेपछि यो लेखक पछि हट्नु प¥यो । संस्कृत जोगाउनु पर्छ भन्ने आवाज नआएका हैनन् तर पर्व मनाउनु पर्छ भनेर अघि सर्न कोही पनि तयार हुँदैनन् । यो आफैमा दुखको कुरा हो । गफ गर्ने तर गर्न लागेकाहरुको खुट्टा तान्ने प्रवृत्तिका कारण अहिले यो पर्व मनाउन छाडिएको छ । यो पर्वलाई संस्थागत र जिवन्त दिन कोही तयार भएको खण्डमा यो लेखकले पूर्ण रुपमा सहयोग गर्न तयार छ ।

जय नेवा संस्कृति । जय मा भाय्

(लेखक यस दैनिकका नियमित स्तम्भरकार समेत हुन् ।)

प्रकाशित मिति: आइतबार, भदौ ६, २०७८  ११:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update