Shittalpati
कोरोनाका कारण सुनसान जनैपूर्णिमा

रामचन्द्र रायमाझी

पाल्पा,विगतका वर्षहरुमा रक्षाबन्धन अर्थात् जनैपूर्णिको दुई÷तीन दिन अघि नै तानसेनको बजारमा निकै चहलपहल हुने गथ्र्यो । बजारमा रक्षाबन्धनको लागि जनै, राखी लगायतका सामग्री किन्नेहरुको घुँइचो लाग्ने भए पनि गत वर्षदेखि कोरोना महामारीका कारण बजार सुनसान छन् । विगतमा गाउँ–गाउँबाट आउनेहरुले भरिभराउ हुने तानसेनका पसलहरुमा जनैपूर्णिको पूर्वसन्ध्यामा सुनसान जस्तै देखियो । चाडपर्वको बेला विशेषगरी तानसेनका मखनटोल, शित्तलपाटी, विशालबजार क्षेत्रमा बढी चहलपहल हुनुपर्ने भएपनि त्यस्तो देखिएको छैन । कोरोना महामारीका कारण जिल्लामा निषेधाज्ञा जारी रहेको र स्थानीय प्रशासनले भीडभाड गरी जात्रा,मेला पर्व गर्न रोक लगाएका कारण यस वर्षको जनैपूर्णिमा पनि सुनशान देखिएको छ ।

आफ्नो पसल रंगीबिरंगी जनै, राखी, चुरा, लेहेँगा, साडी र कुर्ता सुरुवालले भरिभराउ बनाएर व्यापारीहरू ग्राहक पर्खिरहेका देखिन्छन् । ग्राहक आकर्षित गर्न व्यापारीहरूले नयाँ–नयाँ डिजाइनका सामान ‘डिस्प्ले’ गरेका छन् । तर, व्यापार भने दुई वर्ष अघिको तुलनामा कम भएको गुनासो उनीहरूको छ । तानसेनको मखनटोलमा चाडपर्वका सामग्री विक्री गर्दै आएका विजय अर्गहरी भन्छन् ‘पहिले–पहिले सामान देखाउन नै भ्याउन गाह्रो पथ्र्यो । यसपाली त ग्राहक आएपनि ठूलो संख्यामा देखिएनन् ।’ विगतका वर्षहरुमा राम्रो व्यापार गरेका उनले गत वर्षदेखि भने व्यापारमा कमी आएको बताउँछन् । विगतमा तानसेन बजार गएर रक्षा बन्धनका लागि आवश्यक सामग्री लिएर दाइभाईलाई राखी बाध्ने गरे पनि यसपाली कोरोना त्रासका कारण बजार जान नपाएको बगनासकाली गाउँपालिकाकी रेनुका बस्यालले बताइन् । उनले भनिन् ‘मनमा कोरोनाको डर छ खै कसरी चाडपर्व मनाउने, यसपालि चाडपर्वको रौनक नै छैन ।’ उनले मात्र होइन यसवर्ष कोरोना महामारीका कारण धेरैले यस्तै महशुस गरेका छन् ।

यस वर्षको जनै पूर्णिमा आज देशैभरका हिन्दू धर्मावलम्बीहरुले मनाइँदैछन् । यो पर्वमा पुरुषहरुले एक दिन अगाडिबाट नै चोखो खाएर भोलिपल्ट बिहान नुहाएर मन्त्रसहित जनै लगाउँछन् । साथै हरेक कुराबाट रक्षा होस् भन्ने उद्देश्यले पुरोहितको हातबाट रक्षा बन्धन बाँधेर यो पर्व मनाइन्छ ।

हिन्दु धार्मिक शास्त्र अनुसार हरेक वर्षको श्रावण महिनाको शुक्लपूर्णिमा तिथिको दिनलाई जनैपूर्णिमा मनाइने चलन रहेको छ । हिन्दुहरुको धार्मिक तथा साँस्कृतिक पर्व जनैपूर्णिमाको दिन पुरानो जनै फेरेर नयाँ जनै धारण गर्ने तथा विधिवत रक्षाबन्धन र ऋषितर्पणी गरी धुमधामका साथ मनाउने हिन्दु समाजमा चलन छ । यस दिन दाइभाईलाई दिदीबहिनीहरुले राखी तथा मन्त्र जपिएको रक्षाशुत्र बाँधी रक्षाको शुभकामना साट्ने पनि गरिन्छ । नेपालमा नेवार समुदायमा यसलाई ‘गुनुपुन्ही’ भनेर मनाइन्छ । सत्ययुगमा दानबद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बलि बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, विचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेको रक्षाबन्धनको परम्परा हालसम्म पनि प्रचलित छ । यो पर्व विगतमा हर्सोउल्लाहसका साथ मनाइए पनि गत वर्षदेखि भने विश्वभर फैलिएको कोभिड–१९ का कारण त्यत्ति रौनक देखिएको छैन । रक्षाबन्धन गर्ने बेलामा गुरु पुरोहितहरूले ‘येन बद्धो बलिराजा, दानवेन्द्रो महाबल तेन प्रतिबन्धामी रक्षेमा चलमाचल’ भनी रक्षासूत्र, रक्षाबन्धन अथवा डोरी बाँध्ने वैदिक परम्परा रहेको छ । मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरी वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राÞमण पुरोहितहरूले यजमानको नाडीमा बाँधी दिने गर्दछन् । तराईक्षेत्रमा पनि आजकै दिन दिदीबहिनीले दाजुभाईलाई राखी बाँधेर यो पर्व मनाउने गरिन्छ । यसबाट दिदीबहिनी र दाजुभाई बीच प्रेम सम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता रहेको छ ।

क्वाँटी खाने दिन जनैपूर्णिमाका दिन एघार थरिका गेडागुडी मिसाई भिजाएर टुसा उमारेर बनाइएको क्वाँटी खाइन्छ । यसरी क्वाँटी बनाई खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने धार्मिक एवं आयुर्वेद शास्त्रीय मान्यता रहेको छ ।

 

प्रकाशित मिति: आइतबार, भदौ ६, २०७८  ११:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update