Shittalpati
जनै पूर्णिमाको महत्व र प्रचलन

जनै पूर्णिमा अर्थात् रक्षाबन्धन हिन्दू धर्मावलम्बीले मनाउने एउटा पवित्र पर्व हो । रक्षाबन्धन शब्दमा दुई वटा शब्द जोडिएको छ ‘रक्षा र बन्धन’ रक्षाको अर्थ दाजु भाइले बहिनीको रक्षा गर्ने वाचा दिन्छ भने बन्धन जसले भाइबहिनीको सम्बन्धमा अझ बढी माया, स्नेह, सामिप्य र प्रेम ल्याउँछ । रक्षाबन्धन पारिवारिक मेलमिलाप बढाउने पर्व पनि हो । यो अवसरमा परिवारका हरेक मानिस एक ठाउँमा जम्मा हुन्छन् । आज देशैभर हिन्दु धर्मावलम्बिहरुले यो पर्व मनाइँदै छन् । श्लोकबाट मन्त्रिएका जनै फेरेर अनि हातमा रक्षाबन्धन बाँधेर यो पर्व मनाउने गरिन्छ । यो पर्वमा भाञ्जा, ज्वाईँ,ब्राह्मणलगायतका मान्यजनहरूले रक्षाबन्धन लगाइदिने प्रचलन पनि छ । नयाँ फेरिएको जनै र रक्षाबन्धनले धेरै कुराबाट सुरक्षित राखेर रक्षा गर्छ भन्ने धार्मिक किंवदन्ती छन् । सत्ययुगमा दानवबाट पीडित देवगणको रक्षा गर्न गुरू बृहस्पतिले रक्षाबन्धन बाँधिदिएको सम्झनामा जनै पूर्णिमा पर्व मनाइने गरिएको हो । तर पछिल्लो समय नेपाली समाजमा नयाँ पुस्ताले भने फुल्दै जान थालेका छन् । उनीहरुले कि त जनै लगाउँदैनन कि त सबै बिधि पूरा गर्दैनन् । यसको सामाजिक महत्व हुँदा हुँदै पनि आजभोलिका युवाले जनैमा विश्वास गर्दैनन् । यो अत्यन्त दुखको कुरा हो । पश्चिमा संस्कृतिले पनि नेपाली संस्कृतिलाई विस्थापित गर्दै लगेको छ । नेपाली परम्पराअनुसार मान्दै आइएका यी परम्परालाई पछिल्लो पुस्ताले ध्यान दिन सकेको छैन । अगाडिका वर्षमा धुमधामका साथ मनाइने जनै पूर्णमा आजकाल भने सामान्य जस्तै बनेको छ ।

सांसारिक बन्धनदेखि छुटकारा लिएर ईश्वरीय बन्धनमा बाँधिने एउटा अवसर हो यो । रक्षाबन्धन यस्तो सांकेतिक बन्धन हो, जसले हामीलाई नराम्रो काम गर्न, नराम्रो विचार राख्न, नराम्रो चिन्तन गर्न, नराम्रो खानपान गर्नबाट नियन्त्रण गर्छ । हरेकजासो पर्वलाई हामी विजयोत्सवको रुपमा पनि मनाउने गछौं । तर पछिल्लो समय भने मानव पथभ्रष्ट भएर गएको छ । कुविचार, कुसंस्कार, कुदृष्टिले मानवलाई दानव बनाइरहेको छ । गलत खानपान, रहन सहनले मानिस आफैंलाई नष्ट गर्दैछ । यसरी आफ्नै खराब प्रवृत्तिमाथि नियन्त्रण राख्नका लागि वा त्यसबाट सुरक्षित रहनका लागि रक्षाबन्धन बाँध्ने चलन चलाइएको हो । त्यसैले यसको अत्यन्त सामाजिक महत्व रहेको छ । आजको यस पर्वले आफन्तसँग भेटघाट, भाईचाराको विकास, संस्कारको विकास तथा उमंगको समयका रूपमा लिने गरिन्छ । कोरोनाको महामारीले गर्दा यस बर्ष भब्यरूपमा मनाउन सकिने छैन तर सामाजिक परम्परा अनुसार सामाजिकदुरी कायम गरी रक्षाबन्धन पर्व मनाउनु पर्ने अवस्था सिर्जना भएको छ । आजको यस महत्वपूर्ण पर्वको सुअवसरमा सकारात्मक सोच र आत्मियताको विकासका लागि शक्तिप्रदान गर्न सकोस् सम्पूर्णमा हार्दिक शुभकामना ।

 

प्रकाशित मिति: आइतबार, भदौ ६, २०७८  ११:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update