
हाम्रा संवाददाता
बुटवल, लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता कुलप्रसाद केसी नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को २ अनुसार उनलाई बिहीबार मुख्यमन्त्री नियुक्त गरेका हुन् । नवनियुक्त मुख्यमन्त्री केसीले बिहीबार नै शपथ लिएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री केसीलाई पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् ।
एमालेका तर्फबाट मुख्यमन्त्री बनेका शंकर पोखरेलको राजीनामासँगै प्रदेश प्रमुख अमिक शेरचनले बिहीबार ३ बजेसम्म सरकार गठनको दाबी पेस गर्न आह्वान गरेका थिए । उक्त समयमा उनको मात्रै दाबी परेको थियो । लुम्बिनी प्रदेशमा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र सूर्य चिन्हबाट चुनाव लडेका एक सदस्यसहितको गठबन्धनको समर्थनमा उनी मुख्यमन्त्री बनेका हुन् ।
केसीको शपथ ग्रहणसँगै सात सदस्यीय मन्त्रीमण्डल समेत विस्तार भएको छ । मुख्यमन्त्री केसीको नेतृत्वमा गठित सरकारमा गठबन्धनका तीन दल र स्वतन्त्र समूहबाट गरी ६ जना मन्त्री बनेका हुन् । ६ जना मन्त्रीले पनि शपथ लिएका छन् । कांग्रेसबाट डिल्ली चौधरी मन्त्री बनेका छन् । उनले शहरी विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् । माओवादीका कृष्णध्वज खड्का आन्तरिक मामिला तथा कानून मन्त्री बनेका छन् । जनता समाजवादी संसदीय दलका नेता सहसराम यादव भौतिक पूर्वाधार विकास मन्त्री बनेका छन् । स्वतन्त्र समूहका अजय शाही, जसपाका सुमन शर्मा रायमाझी र पुर्मती ढेगाले विनाविभागीय मन्त्रीको हैसियतमा शपथ लिएका छन् । यी मन्त्रीको मन्त्रालय तोकिएको छैन । आर्थिक मामिला, सामाजिक, स्वास्थ्य तथा जनसंख्या, भूमि व्यवस्था मन्त्रालय अझै खाली रहेका छन् । गठबन्धनमा सहभागि जनमोर्चा भने सरकारमा गएको छैन् । लुम्बिनीमा माओवादी र कांग्रेसबीच ८/८ महिना सरकार चलाउने सहमति भएको छ । रायमाझी यसअघि भौतिक पूर्वाधार राज्यमन्त्री बनेर राजिनामा दिएकी थिइन् । सरकारमा जाने मन्त्रीको आकांक्षी धेरै भएकाले नेताहरुलाई हम्मेहम्मे छ ।
को हुन् नवनियुक्त मुख्यमन्त्री ?
लुम्बिनीका नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसी २०२७ सालमा जन्मिएका हुन् । उनी २०४६ सालमा नेकपा मसालको विद्यार्थी संगठनबाट राजनीतिमा प्रवेश गरेका थिए । प्राथमिक तहको स्थायी शिक्षक केसीले २०५० सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई कालो झण्डा देखाएको भन्दै शिक्षकबाट अवकाश लिनुपर्यो । त्यसपछि उनी तत्कालीन जनमोर्चामा सक्रिय भई भूमिगत राजनीति शुरु गरे । त्यसपछि उनले औपचारिक शिक्षालाई अघि बढाएनन् । उनले दाङको महेन्द्र बहुमुखी क्याम्पसबाट प्रवीणता प्रमाणपत्र तहमात्रै उत्तीर्ण गरेका छन् । पढाइ छाडेर उनी राजनीतिमै लागे । २०५० देखि २०५२ सम्म नेकपा एकता केन्द्रको रोल्पा इलाका सेक्रेटरी भए । २०६९ सालमा माओवादी विभाजन भएपछि उनी मोहन वैद्यको पक्षमा लागे । पार्टी अध्यक्ष पुष्पकमल दाहालले क्रान्तिलाई धोका दिएको भन्दै उनले प्रचण्डको साथ छाडेका थिए । वैद्य पक्षको माओवादीको स्थायी कमिटि सदस्य भएका उनी दोश्रो संविधानसभा निर्वाचन बहिष्कार अभियानमा लागे । वैद्यसँग ४ वर्षजति बिताएर उनी फेरि रामबहादुर थापा बादलसित नजिक हुँदै प्रचण्ड नेतृत्वको माओवादीमै फर्किए । माओवादीमा फर्किएपछि उनी २०७४ मा भएको प्रदेश सभा निर्वाचनमा रोल्पा–१ ’क’बाट माओवादी–एमाले गठबन्धनको तर्फबाट चुनाव जितेका थिए । रोल्पाको १ क बाट प्रदेशसभामा निर्वाचित तिनै केसी अहिले लुम्बिनी प्रदेशको मुख्यमन्त्री भएका छन् ।