Shittalpati
पाल्पामै पहिलो साझा सुविधा केन्द्र स्थापना हुने

तानसेन,पाल्पाका नागरिकले स्थानीयस्तरमा उत्पादन गरेका सामग्रीको बिक्री वितरणमा सहज सुविधा पुर्‍याउन साझा सुविधा केन्द्र स्थापना हुने भएको छ । तानसेन नगरपालिका ८ मदनपोखराको चाउरीपोखरामा करीब ३० लाखको लागतमा केन्द्र स्थापना गर्न लागिएको वडाध्यक्ष रामप्रसाद घिमिरेले जानकारी दिए । नगरपालिका र घरेलु तथा साना उद्योग समितिको साझेदारीमा केन्द्र स्थापना गर्न लागिएको हो ।

भवन निर्माणका लागि घरेलु तथा साना उद्योग कार्यालय पाल्पाले १० लाख विनियोजन गरेको छ भने नपुग नगरपालिकाले व्यवस्थापन गर्ने छ । भवन निर्माण तथा व्यवस्थापनका लागि दुर्गाबहादुर सारु अध्यक्ष रहेको ११ सदस्यीय समिति गठन गरिएको छ । गङ्गा सुनार संयोजक रहेको लेखा, लक्ष्मी विक संयोजक रहेको व्यवस्थापन तथा भण्डार र सारु संयोजक रहेको खरीद समिति गठन गरिएको छ । वडाध्यक्ष घिमिरेका अनुसार पाल्पामै एक मात्र साझा सुविधा केन्द्रमा कोसेली घरमा जस्तै स्थानीयस्तरमा उत्पादित पाल्पाली ढाका, चुरापोते लगायत बेतबाँसबाट निर्मित सामग्री बिक्रीका लागि राखिने व्यवस्थापन समितिका अध्यक्ष सारुको भनाई छ ।

ढाका संघ पाल्पाका सदस्य समेत रहेका सारुले आफूले करीब ३०/३५ वर्षदेखि ढाकाको व्यवसाय गरे पनि अब बल्ल बिक्रीका लागि सहज हुने बताए । तरकारी खेतीका लागि मुख्य क्षेत्रका रुपमा परिचित माडी मदनपोखरा क्षेत्र नजिकै साझा सुविधा केन्द्र स्थापना गरेर स्थानीयस्तरको सीपको प्रचार–प्रसार गर्नसमेत सजिलो हुने वडाध्यक्ष घिमिरेको भनाइ छ ।

उनका अनुसार स्थानीय कुखुरा, बेतबाँसका कुर्सी, टेबल लगायत सामान, ढाका, चुरापोते, साडीमा बुट्टा भर्ने सीप भएका नागरिकको सीपको विकास गर्दै बिक्री कक्ष राखेर बिक्री गर्ने र धेरै उत्पादन भए अन्यन्त्र बजारमा लैजाने व्यवस्था मिलाइने छ । स्थानीय स्तरका विभिन्न सामग्री नागरिकले उत्पादन गरे पनि बिक्रीका निम्ति सहज सुविधा नभएपछि निरुत्साहित भएका परिवेशमा सुविधा केन्द्र स्थापना हुने भएपछि उद्योगी व्यवसायी खुशी भएका छन् । –रासस

प्रकाशित मिति: शुक्रबार, फागुन १६, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update