Shittalpati
निस्दीका विपन्न परिवारलाई राहत सामग्री

पाल्पा, जिल्लाको निस्दी गाउँपालिका भित्र रहेका विपन्न परिवारका लागि राहत सामग्री वितरण गरिएको छ । रुम टु रिड नेपालको आर्थिक सहयोग र पछौटेपन उन्मुलन समाज (बेस) नेपालको समन्वयमा यहाँका विपन्न ३४ घरपरिवारलाई विभिन्न राहत सामग्री वितरण गरिएको हो ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको सक्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी निषेधाज्ञाका कारण समस्यामा परेका विपन्न परिवारका लागि खाद्यन्न सामग्री वितरण गरिएको रुम टु रिडका भूपाल आलेले जानकारी दिए ।

पछौटेपन उन्मूलन समाज (बेस) नेपालका कार्यकारी निर्देशक शालिकराम पाण्डेले गाउँपालिका अध्यक्ष मुक्तबहादुर सारुलाई उक्त राहत सामग्री हस्तान्तरण गरेका हुन् । सामग्री हस्तान्तरण गर्दै निर्देशक पाण्डेले निषेधाज्ञाका कारण प्रभावित विपन्न परिवारहरुका लागि केही भए पनि राहत पुगोस् भन्ने उद्देश्यले खाद्यन्न सहयोग गरिएको बताए । उनले राहत सामग्रीले विपन्न परिवारका लागि अति थोरै भएपनि राहतप्रदान गर्ने विश्वास व्यक्त गरे । कार्यकारी निर्देशक पाण्डेले अझै पनि कोरोना भाइरसको जोखिम कायमै रहेकाले आगामी दिनमा पनि कारोना भाइरसबाट बच्नका लागि सरकारले तय गरेका स्वास्थ्य मापदण्ड पालन गर्ने र व्यक्तिगत सरसफाइलाई ध्यान दिन पालिकाबवासीलाई आग्रह समेत गरेका छन् ।

राहत सामग्री ग्रहण गर्दै गाउँपालिका अध्यक्ष मुक्तबहादुर सारुले विपत्का बेला बेस र रुमटु रिडले देखाएको सद्भाव र सहयोग प्रशंसनिय रहेको बताए । ३४ घर परिवारका लागि ८ सय ५० किलो चामल, ३४ किलो दाल, ३४ प्याकेट आयोडिन नुन, ३४ लिटर खाने तेल, ३४ वटा साबुन, ६८ किलो च्युरा, ६ सय ८० वटा माक्स हस्तान्तरण गरिएको थियो । सामग्री हस्तान्तरण कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष रिताकुमारी अर्याल, पालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा कर्मचारीहरुको सहभागीता रहेको थियो । रुम टु रिड नेपाल र बेस नेपालले यस अघि तिनाउँ गाउँपालिकामा समेत विपन्न ३४ घर परिवारलाई राहतखाद्य सामग्री वितरण गरिसकेको छ ।

 

 

प्रकाशित मिति: बुधबार, असार २३, २०७८  १८:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update