
रामचन्द्र रायमाझी
बुटवल,लुम्बिनी प्रदेशका सांसदहरुले कोभिड केन्द्रित बजेट ल्याउनुपर्ने बताएका छन् । प्रदेश सभाको आठौं अधिवेशनको दोस्रो दिन विहीबार विनियोजन विधेयक २०७८/०७९ को सिद्धान्त र प्राथमिकताका विषयमा भएको छलफलमा अधिंकास सांसदहरुले वर्तमान परिस्थतीलाई मध्यनजर गर्दै कोभिड केन्द्रित बजेट ल्याउनुपर्नेमा जोड दिएका हुन् ।
उनीहरुले अहिलेको बजेट मानवीय हिसावले कोरोना नियन्त्रण र उपचारमा केन्द्रित हुनुपर्ने सुझाव दिए । कोरोनाको तेस्रो भेरियन्ट पनि आउने कुरा बाहिर चलिरहेकाले सरकार त्यसका लागि तयार भएर बस्नुपर्ने र मानवीय क्षति कम हुनेतर्फ सचेत बनेर बजेट बनाउन उनीहरुले प्रदेश सरकारलाई आग्रह गरे । कोरोना महामारीले तहसनहस भएको अर्थतन्त्रलाई चलायमान बनाउन सक्ने क्षेत्रलाई प्राथमिकतामा राखेर प्रदेश सरकारले बजेट ल्याउनुपर्ने उनीहरुले जोड दिए । छलफलमा प्रदेश सरकारले अनुत्पादक क्षेत्रको बजेट कटौती गरी खर्चमा पूर्ण मितव्ययिता अपनाउन पनि सांसद्हरुले सुझाव दिए । उनीहरुले भनेका छन्, ‘तत्काल स्थानीय स्तरमा रोजगारी सिर्जना गर्न सकिने कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व बढाएर आयात प्रतिस्थापन गर्न सक्ने सानो आकारको चुस्त बजेट ल्याउनु आवश्यक छ ।’ महामारीले बढी मारमा परेका विपन्न, गरिब वर्ग, समुदायलाई प्रत्यक्ष लाभ प्राप्त हुने र जीवनस्तर परिवर्तन गर्ने बजेट अहिलेको आवश्यकता रहेको सांसदहरुको भनाई छ ।
छलफलमा बोल्दै प्रदेश सभा सदस्य अष्टभुजा पाठकले कोरोना विरुद्ध मानवीय क्षति रोक्ने र कृषिबाट आर्थिक हैसियत बदल्ने बजेट ल्याउन सुझाव दिए । प्रदेश सभा सदस्य विष्णु पन्थीले कोरोना, रोकथाम, नियन्त्रण र रोजगारीलाई संगसंगै जोडेर बजेटको सिद्धान्त र प्राथमिकता तोक्न आग्रह गरे । छलफलमा प्रदेश सभा सदस्य कमला विक, तारा जिसी, दिपा विक, रमा अर्याल, पुमति ढेंगा, दामा शर्मा, तुलसी चौधरी, विष्णु पन्थी, तुलाराम घर्ती, शंकर गिरी, रेवतिरमण शर्मा, दिपेश थारु, लगायतले कोरोना महामारीको दोस्रो र तेस्रो लहरसँग जुध्न बजेट कोभिड केन्द्रित गर्नु पर्ने बताए । उनीहरुले आमनागरिकको जीवन रक्षाका साथै कोरोनाबाट थलिएको अर्थतन्त्र उकास्न कोरोना केन्द्रित बजेट ल्याउनु अहिले अपरिहार्य रहेकोमा जोड दिए । छलफलपछि बोल्दै आर्थिक योजना मन्त्री बैजनाथ चौधरीले बजेटलाई कोभिडको नियन्त्रणसँगै कोभिडले थला परेको अर्थतन्त्रलाई चलायमान गराउने र स्वास्थ्य सुविधालाई जनताको पहुँचमा पु¥याउने गरी विनियोजन गरिने उल्लेख गरे । मन्त्री चौधरीले कोभिडका कारण रोजगारी गुमाएकालाई रोजगारिको अवसर सिर्जना गर्ने, सरकारको सेवाप्रवाहलाई वृद्धि गर्ने तथा प्रतिफल प्राप्त गर्ने खालका आयोजनामा लगानी गर्नेलगायतका ११ वटा प्राथमिकतालाई बजेटमा समेटिएको बताए । प्रदेश सभाका १४ जना सदस्यहरुले छलफलमा भाग लिएका थिए ।