Shittalpati
चिनले दिएको नौं लाख डोज कोरोना खोप नेपाल आइपुग्यो

हाम्रा संवादाता
काठमाडौं,नेपाललाई अनुदानस्वरुप चीन सरकारले प्रदान गरेको कोभिड–१९ विरुद्धको थप खोप नेपाल आइपुगेको छ । दश लाख खोपको मात्रामध्ये मंगलबार नौ लाख मात्रा नेपाल ल्याइएको हो ।

हिमालय एयरलाइन्सबाट एक लाख र नेपाल वायुसेवा निगमको जहाजमार्फत आठ लाख मात्रा खोप ल्याइएको छ । निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले निगमको एयरबस–३३० (वाइडबडी) ले आठ लाख मात्रा खोप ल्याएको जानकारी दिए । उनका अनुसार उक्त खोप लिन सोमबार राति वाइडबडी जहाज चीनको राजधानी बेइजिङ उडेको थियो । बाँकी एक लाख डोज खोप लिन बुधबार हिमालय एयरलाइन्सको जहाज कुनमिङ जाने बताइएको छ । एयरलाइन्सले आÞफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत ती दुई लाख मात्रा खोप निः शुल्क ल्याइने जनाएको छ ।
गत हप्ता राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ समकक्षी सी जिन्पिङबीच भएको कुराकानीका क्रममा उत्तरी छिमेकीले नेपाललाई थप खोप उपलब्ध गराउने घोषणा गरेको थियो । यसअघि पनि चीनले नेपाललाई आठ लाख खोपका मात्रा उपलब्ध गराएको थियो । पछिल्लो सहयोगसँगै चीनले नेपाललाई उपलब्ध गराएको कुल खोपको मात्रा १८ लाख पुगेको छ । यस पटक पनि चीनले पहिला दिएकै जस्तो भेरो सेल खोप नेपाललाई दिएको जनाइएको छ ।


सो खोप करिब २८ दिनको अन्तरालमा दुई मात्रा लगाउनुपर्छ । मंगलबार आएको नौ लाख मात्रा खोप जेठ २५ गतेदेखि जेष्ठ नागरिकलाई दिइने भएको छ । देशभरका ६०–६४ वर्ष उमेर समूहका नागरिकलाई भेरोसेल खोप दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले जानकारी दिए । उनले भने, ‘चीनबाट प्राप्त हुने १० डोज खोपले यो उमेर समूहका नागरिकलाई लगभग पुग्ने विश्वास गरेका छौं ।’ मन्त्रालयका अनुसार ६० देखि ६४ वर्षका नागरिकको संख्या ८ लाख ५४ हजार छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. पौडेलकाअनुसार भेरोसेल खोप लगाउन जाँदा नागरिकता वा उमेर खुल्ने कुनै पनि सरकारी कागजात वा वडा कार्यालयले दिएको सिफारिस अनिवार्य गरिएको छ । मन्त्रालयको तथ्यांकअनुसार ४ लाख ३५ हजार ११२ जनाले कोभिसिल्ड र २ लाख ७९ हजार जनाले भेरोसेल खोपको दोस्रो मात्रा लगाइसकेका छन् । कोभिसिल्ड खोप लगाएका १३ लाख भन्दा बढी नागरिक दोस्रो डोजको पर्खाइमा छन् ।

यसअघि चीनबाट ल्याइएको ८ लाख डोज खोप १८ वर्ष उमेर समूहका मानिसलाई लगाइएको थियो । त्यसमा पनि बढी काठमाडौं र आसपासका ठाउँहरूमा केन्द्रित गरिएको थियो । त्यो बेला खोप थोरै रहेको र काठमाडौंमा बढी जोखिम रहेको ठहर गर्दै सरकारले खोपलाई काठमाडौंमा केन्द्रित गरेको हो । यसअघि नेपाललाई भारत सरकारले सिरम इन्स्टिच्युट अफ इन्डियाद्वारा उत्पादित कोभिसिल्डको १० लाख डोज अनुदानमा उपलब्ध गराएको थियो ।

प्रकाशित मिति: मंगलबार, जेठ १८, २०७८  २१:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update