Shittalpati
राष्ट्रिय दलित पत्रकार संघ गुल्मीले मजदुरका लागि राहत अभियान सञ्चालन गर्ने

गुल्मी संवाददाता
गुल्मी, राष्ट्रिय दलित पत्रकार संघ नेपाल, गुल्मीले कोभिड–१९ पीडित मजदुर राहत अभियान सञ्चालन गर्ने भएको छ । संघका केन्द्रीय सदस्य प्रेम सुनारको प्रमुख आतिथ्यता एवं संघका जिल्ला अध्यक्ष रमेश विश्वकर्माको अध्यक्षतामा बसेको बैठकले गरेका निर्णयहरु सार्वजनिक गर्दै जिल्ला सचिव मनु सुनार मनसुनले संघको केन्द्रीय निर्णय अनुसार जिल्ला शाखा गुल्मीले पनि सो अभियान सञ्चालन गर्न लागेको जानकारी दिए ।
अभियान सञ्चालनका लागि बैठकले संघका केन्द्रीय सदस्य सुनारको संयोजकत्वमा ७ सदस्यीय ‘कोभिड–१९ पीडित मजदुर राहत अभियान’ समिति गठन गरेको छ । जसको सदस्यहरुमा संघका जिल्ला अध्यक्ष रमेश विश्वकर्मा, उपाध्यक्ष प्रतिक्षा सुनार, सचिव मनु सुनार मनसुन, कोषाध्यक्ष सूर्य सुनार, सदस्यहरु संगीता चुँदारा, सुनिल विश्वकर्मा रहेका छन् ।

नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष टोपलाल अर्यालको संयोजकत्वमा सहयोग समन्वय समिति गठन गर्ने निर्णय गरेको मनसुनले जानकारी दिए । जसमा नेपाल पत्रकार महासंघ गुल्मी शाखाका निवर्तमान अध्यक्ष नवराज भुसाल, संस्थापक अध्यक्ष हरिकुमार श्रेष्ठ, पूर्व अध्यक्ष जनार्दन घिमिरे, पूर्व उपाध्यक्ष अनिल खत्री, पूर्व सचिव ताराप्रसाद भुसाल, नेपाल प्रेस युनियन गुल्मीका अध्यक्ष तथा महासंघका उपाध्यक्ष रेशम कुँवर, पे्रस चौतारी, नेपाल गुल्मीका अध्यक्ष शिवलाल सुवेदी, प्रेस संगठन, नेपाल गुल्मीका संयोजक तथा महासंघका सह–सचिव तिलाचन पाण्डे रहेका छन् ।
जिल्लास्थित सरकारी तथा गैरसरकारी संघसंस्था र नागरिक समाजसंग समन्वय गरि उनीरुलाई नै अभियान्ताका रुपमा अगाडि सारेर कोभिड–१९ पीडित अति विपन्न मजदुर र सञ्चारकर्मीहरुलाई थोरै भएपनि राहत उपलब्ध गराउने उद्देश्य राखिएको बताइएको छ ।
कोभिड–१९ को माहामारी र लकडाउनका कारण मजदुरी गर्न नपाई छाक टार्न नसक्ने अवस्थामा पुगेका अति विपन्न वेसाहरा, असहाय मजदुरहरुलाई स्वास्थ्य सामग्री र खाद्यान्न राहत उपलब्ध गराउनका लागि सम्बन्धित पालिकाहरुलाई उत्तरदायी बनाउन पहल गर्ने निर्णय गरिएको सचिव मनसुनले पेस विज्ञप्ती जारी गर्दै जानकारी गराएका छन् । अभियान सञ्चालन गर्नेबारे नेपाल पत्रकार महासंघका सचिव समेत रहेका अभियानका संयोजक सुनारले अघिल्लो दिन (शुक्रबार) गुल्मीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मासँग परामर्श गरेका थिए । कोभिड–१९ व्यवस्थापन समितिको बैठकमा पनि सुनारले न सरकारले राहत दिन्छ, न गाउँ समाजमा एकले अर्कोलाई बाँडी चुँडी खाने मिलिजुली बस्ने नेपाली परम्परालाई रोक्ने प्रयास गर्नुहुँदैन् भन्ने सुझाव दिएको बताए ।
प्रजिअ शर्मा मजदुरहरुलाई राहत वितरण गर्नुपर्छ भन्ने विषयमा सकरात्मक रहनुभएको र सबैपक्षसंग सहकार्य गरेर आफु सुरुमै फुड बैङ्क स्थापना गरौँ भन्ने पक्षमा रहेको समेत उनले जानकारी दिए । राष्ट्रिय दलित पत्रकार संघ, नेपाल गुल्मी शाखाले कोभिड–१९ सँग जोडिएका जिन्सी र खाद्यान्न बाहेक नगद संकलन नगर्ने संघका जिल्ला अध्यक्ष रमेश विश्वकर्माले जानकारी दिए ।

प्रकाशित मिति: शनिबार, जेठ १५, २०७८  २०:००
प्रतिक्रिया दिनुहोस्
Weather Update