Shittalpati
कोरोना रोकथाममा पाल्पाका स्थानीय सरकारको सक्रियता

रामचन्द्र रायमाझी/कृष्ण पोखरेल
पाल्पा, कोभिड–१९को दोस्रो लहरको संक्रमण फैलिएसँगै पाल्पाका स्थानीय सरकारले यसको रोकथाम र उपचारका उपाय अवलम्वनमा सक्रियता देखाएका छन् । पहिलोको तुलनामा दोश्रो लहर भयावह बन्दै गएपछि स्थानीय सरकारलाई तातो लागेको देखिएको छ । स्थानीय श्रोत साधन जुटाई उनीहरुले महामारी रोकथामका लागि आइसोलेसन केन्द्र निर्माणदेखि संक्रमितको उपचारका अरु उपाय अपनाएका हुन् ।
पाल्पाका १० बटै स्थानीय सरकारले कोरोना अस्पताल र अक्सिजनसहितको आइसोलेसन निर्माण गरेका छन् । उनीहरुले चिकित्सक, सिनियर अहेव तथा स्टाप नर्ससहित सुविधासम्पन्न कोरोना अस्पताल सञ्चालनमा ल्याई संक्रमितको उपचार समेत गर्दै आएका छन् । जिल्लाका प्रत्येक स्थानीय सरकारले १० देखि ५० वटासम्म अक्सिजन सिलिण्डर खरिद गरी कोरोना अस्पताल तथा आइसोलेसन वार्डमा राखेका छन् । देशका विभिन्न स्थानका अस्पतालमा वेड र अक्सिजन सुविधा नपाउँदा दिनहुँ कोरोना संक्रमित बिरामीको मृत्यु हुनथालेपछि अक्सिजनसहितको कोरोना अस्पताल निर्माण गरेको माथागढी गाउँपालिकाका अध्यक्ष सन्तोष कुमार थापा मगरले बताए । माथागढी गाउँपालिकाले ४ मा चिकित्सक तथा अक्सिजनसहितको १५ वेडको कोरोना अस्पताल सञ्चालनमा ल्याएको अध्यक्ष थापाले बताए । त्यहाँ अहिले २ जना संक्रमितको उपचार भइरहेको छ । जिल्लाभित्र कुल संक्रमितमध्ये ५० प्रतिशत बिरामी तानसेन नगरपालिकाभित्र रहेकाले नगर सरकारले जिल्ला अस्पताल र मिसन अस्पतालको समन्वयमा ५० वेडको चिकित्सकीय सुविधासहितको कोरोना अस्पताल सञ्चालन गरेको नगर प्रमुख अशोक कुमार शाहीले बताए । बगनासकाली गाउँपालिकाले पनि १५ बेडको कोरोना अस्पताल सञ्चालन गरेको र ५० वटा अक्सिजनका सिलिण्डर खरिद गरी तयारी अवस्थामा राखिएको पालिकाका अध्यक्ष कृष्ण प्रसाद बस्यालले बताए । कोरोना संक्रमितको घर–घरमा पुगी, औषधि, पौष्टिक आहार, ज्वरो तथा अक्सिजन नाप्ने मेसिन निशुल्क रुपमा वितरण गर्दै आएको अध्यक्ष बस्यालले बताए ।

रिब्दीकोट गाउँपालिकाले ५ वेडको कोभिड अस्पताल र ५० वेडको अक्सिजनसहितको आइसोलेसन सञ्चालनमा ल्याएको जनाएको छ । प्रत्येक कोभिड संक्रमितको घर–घरमा हप्ताको दुई पटक दुरीः कायम गरी स्वास्थ्यकर्मीको टोली पुग्ने, आवश्यकता अनुसार जनप्रतिनिधिहरु पुगी बिरामीको हौसला बढाउने गरी काम गर्दै आएको पालिकाका अध्यक्ष नारायण बहादुर जिसीले बताए । पालिकाभित्र अहिले १८ जना संक्रमित रहेको १ जना कोभिड अस्पतालमा भर्ना भएको अध्यक्ष जिसीले बताए । तिनाउ गाउँपालिकाले १० बेडको कोभिड अस्पताल सञ्चालन गरेको छ । दोभान माविमा २० वेडको आइसोलेसन सञ्चालन गरेको छ । कोभिडका बिरामीलाई कुनै पनि समस्या नहोस् भनी चिकित्सक, औषधि, अक्सिजन तथा खानपानको व्यवस्थासहित कोभिड अस्पताल सञ्चालनमा ल्याएको पालिकाका अध्यक्ष ओमबहादुर घर्तिमगरले बताए । घर–घरमा होम आइसोलेसनमा बसेका बिरामीलाई असुविधा भएमा कोभिड अस्पतालमा भर्ना हुन अध्यक्ष घर्तिले अनुरोध गरेका छन् । पूर्वखोला गाउँपालिकाले १० वेडको कोभिड अस्पताल र निस्दी गाउँपालिकाले ७ ढु·ानावेशीमा अक्सिजनसहितको ५ वेडको आइसोलेसन सञ्चालनमा ल्याएको अध्यक्ष मुक्त बहादुर सारुले बताए । रामपुर नगरपालिकाले पनि ३५ वेडको कोभिड अस्पताल सञ्चालन गरेको छ । बिरामीलाई अक्सिजनको असुविधा नहोस् भनी पर्याप्त मात्रामा अक्सिजनको सिलिण्डर नगरभित्र ल्याएको नगर प्रमुख रमण बहादुर थापाले बताए । जिल्लाकै दोस्रो बढी संक्रमित रैनादेवी छहरा गाउँपालिकाभित्र रहेकाले पालिकाले पनि १० बेडको कोभिड अस्पताल सञ्चालन गरेको छ । गाउँपालिकामा जोखिम बढ्दै गएकाले अक्सिजन चिकित्सकसहितको तयारीमा कोभिड अस्पताल सञ्चालनमा रहेको प्रमुख प्रशासकीय अधिकृत इन्द्रबहादुर क्षेत्रीले बताए । रम्भा गाउँपालिकाले १० वेडको कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ । अहिले दिनहुँ संक्रमणको दर बढ्दै गएकाले सबै वडामा कम्तिमा २० वेडको अक्सिजनसहित आइसोलेसन वेडका लागि काम भइरहेको रम्भा गाउँपालिकाका अध्यक्ष विष्णु प्रसाद भण्डारीले बताए ।

प्रकाशित मिति: आइतबार, जेठ २, २०७८  १०:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update