Shittalpati
रामपुरमा अपाङ्गता भएकालाई सहायता सामग्री

पाल्पा, जिल्लाको रामपुर नगरपालिकामा अपाङ्गता भएकाहरुलाई सहायता सामग्री प्रदान गरिएको छ । रामपुर नगरपालिकाले अपाङ्गता क्षेत्र संरक्षण समितिको समन्वयमा यहाँका १० वटै वडाका ५९ जना अपाङ्गता (फरक क्षमता) भएकाहरुलाई सहायता सामग्री प्रदान गरेको हो ।

सहायता सामग्री नगर प्रमुख रमण बहादुर थापाले सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरेका हुन् । सामग्री हस्तान्तरण गर्दै उनले अपाङ्गता भएका नागरिकहरुको संरक्षण र जीवनयापनलाई थप सहज बनाउन नगरपालिकाले कार्यक्रम सञ्चालनसँगै आवश्यक सामग्री सहयोग गर्दै आएको बताए । उनले सहायता सामग्रीले फरक क्षमता भएका व्यक्तिहरुलाई थप आत्मबल प्रदान गर्ने विश्वास व्यक्त गरे । फरक क्षमता भएका नागरिकहरुमा पनि विशिष्ट किसिमको सिप एवं प्रतिभा रहेको बताउँदै नगर प्रमुख थापाले क्षमता अनुसारको सिपमुलक तालिम समेत सञ्चालन गरिने बताए । उनले अपा·ता भएका व्यक्तिहरुलाई भने “आफैले आफैलाई कहिल्यै कमजोर नसोचौं, दैनिकीलाई आफ्नो क्षमता अनुसार कार्यमा व्यस्त बनाउनुहोस् ।” फरक क्षमता भएका व्यक्तिको माग र आवश्यकता बमोजिम यस वर्ष वलचियर पाँच वटा, ईएर फोन तीन वटा, बैसाखी १० सेट, लौरी ३४ वटा र चस्मा सात वटा उपलब्ध गराइएको अपा·ता क्षेत्र संरक्षण समितिका संयोजक जगन्नाथ कंडेलले जानकारी दिए ।

नगरपालिकाबाट सहायता सामग्री वितरणको लागि विनियोजन भएको दुई लाख रकमबाट सामग्री प्रदान गरिएको उनको भनाई छ । धेरै फरक क्षमताका नागरिकहरु अझै पनि छुट्न पुगेको बताउँदै आवश्यकता अनुसार प्राथमिकता निर्धारण गरेर आगामी वर्षहरुमा थप काम गर्ने संयोजक कंडेलले बताए । फरक क्षमताका नागरिक तथा आफन्तजनहरुलाई नगर प्रमुख थापा, उपप्रमुख बालकुमारी थापा, प्रवक्ता कपिल बहादुर खाँण, वडा नं. ५ का अध्यक्ष दुर्गा प्रसाद पोखरेल, वडा नं. १० का वडा अध्यक्ष तोयानाथ सारु, वडा नं. ३ का वडा अध्यक्ष दामोदर पाठक लगायतको उपस्थितिमा सहायता सामग्री हस्तान्तरण गरिएको थियो । संयोजक कंडेलको अध्यक्षता, अपा·ता क्षेत्र संरक्षण समिति वडा नं. ३ का संयोजक गंगाबहादुर रानाको स्वागत र वडा नं. ७ का संयोजक मनोज भुजेलको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: आइतबार, असार २२, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update