Shittalpati
गुल्मीमा जेठ ४ गतेसम्म निषेधाज्ञा लम्बियो

रमेश विश्वकर्मा
गुल्मी, गुल्मीमा जेठ ४ गतेसम्म निषेधाज्ञा लम्बिएको छ । जिल्लामा संक्रमणको अवस्था कायमै रहेकोले कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको शुक्रबार बसेको बैठकले जेठ ४ गतेसम्म निषेधाज्ञाको समय थप गर्ने निर्णय गरेको हो । यस अघि जारी गरिएको निषेधाज्ञा शनिवार (भोली) राती १२ बजे सकिदै छ । थप गरिएको निषेधाज्ञा शनिवार राती १२ बजेदेखि जेठ ४ गतेसम्म रहने प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिइन् ।

निषेधाज्ञा जारी गरिएको समय अबधिमा अति–आवश्यक बाहेक अन्य सेवाहरु सबै बन्द रहने छन् । जिल्लाका खाद्य सामग्री, दुध, फलफूल, तरकारी माछा मासु, पानी, ग्यास बिहान ७ बजेदेखि ९ बजे सम्म स्वास्थ्यका मापदण्डहरु पुरा गरी सञ्चालनमा रहने बताइएको छ । विवाह प्रयोजनका लागि शुभ बिवाह लेखिएको ब्यानर सहित बढीमा दुईवटा गाडीमा १५ जना सम्मलाई नजिकैको प्रहरी चौकीबाट सहजीकरण गर्ने प्रशासनले जनाएको छ । थप गरिएको निषेधाज्ञालाई अघिको भन्दा कडाइका साथ लागु गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । त्यस्तै निषेधाज्ञा अवधिभर औषधी उपचार तथा अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्ति घर बाहिर ननिस्कन प्रशासनले आग्रह गरेको छ ।
सवै प्रकारका गोष्ठी, तालिम, सभा, सम्मेलन, सेमिनार गर्न मानिसहरु जम्मा हुन, भिडभाड गर्न, सभा जुलुस गर्न, जात्रा महोत्सव गर्न तथा कुनै पनि प्रकारको खेलकुद सञ्चालन गर्न निषेध गर्ने निर्णय गरिएको छ । विद्यालय, शिक्षालय, तालिमकेन्द्र, सिनेमा हल, पार्टी प्यालेस, होटल, रेष्टुरेन्ट, नांचघर, क्लव, फुटसल, जिमखाना, व्युटी पार्लर, शैलुन, सुनचांदी पसल, टेलरिङ्ग, फुटपाथ पसलहरु लगायतका सेवा एवं स्थलहरु नखोल्न पनि आग्रह गरिको छ ।

मठ मन्दिरहरु तथा विभिन्न धार्मिक स्थलहरुमा परम्परागत रुपमा गरिने नित्य पुजा वाहेक अन्य सम्पूर्ण धार्मिक सांस्कृतिक गतिविधीहरु बन्द गर्ने । एम्बुलेन्स, दमकल, शववाहन, अत्यावश्यक खाद्य सामग्री तथा पशुपंक्षीका दाना, दूध, फलफूल, तरकारी, माछा, मासु, पानी, ग्यांस, पेट्रोलियम पदार्थ, निर्माण सामग्री बोकेका सवारी साधनहरु, औद्योगिक कच्चा पदार्थ बोकेका सवारी साधनहरु, चिकित्सक तथा स्वास्थकर्मीहरुले ड्युटी जान आउन प्रयोग गर्ने सवारी साधनहरु, औषधी तथा स्वास्थ सामग्री बोकेका सवारी साधनहरु, क्वारेन्टिन तथा आइसोलेसनमा बिरामीको उपचारमा खटिएका सवारीसाधन, अत्यावश्यक सेवाका सवारी साधन, प्रेस पास तथा परिचयपत्र वाहक संचारकर्मीहरुले प्रयोग गरेका सवारी साधनहरु बाहेक गुल्मी जिल्लाभर यात्रुवाहक सार्वजनिक तथा निजी सवारी साधनहरुको संचालनमा रोक लगाउने निर्णय गरिएको छ ।

गुल्मी जिल्ला भएर अन्य निषेधाज्ञा जारी नभएका जिल्ला जाने सवारी साधनहरु गुल्मी जिल्लामा यात्रु ओराल्न र चढाउन नपाउने गरी संचालन गर्न दिने । निर्माण तथा खाद्यसामाग्रीका सवारी साधनमा चालक तथा सहचालक मात्र रहन पाउनेछन् । विवाह, व्रतवन्ध एवम् अन्य संस्कारजन्य कार्यक्रमहरु घरमै संचालन गर्नुपर्ने र त्यस्ता कार्यक्रममा स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्य रुपमा अपनाई १५ जना भन्दा बढी सहभागि हुन नपाइने बताईएको छ । औषधी एवम् स्वास्थ सामग्रीका पसलहरु २४ सै घण्टा खुल्ला रहने बताईएको छ ।
स्वास्थ सुरक्षा, संचार, विद्युत, खानेपानी, दमकल बाहेक अन्य सरकारी तथा गैरसरकारी कार्यालय बाट प्रदान गरिने सवै प्रकारका सेवाहरु बन्द गर्ने । अत्यावश्यक बाहेकका कार्यालयमा न्यूनतम कर्मचारीबाट कामहरु गर्ने । अत्यावश्यकीय तथा मानवीय कार्यका लागि बाहेक बैंक तथा वित्तिय संस्था (बिमा कम्पनी, सहकारी समेत) को सेवा बन्द गर्ने निर्णय गरिएको छ । अत्यावश्यक उपभोग्य तथा खाद्यवस्तुको आपूर्तीको व्यवस्था गुल्मी उद्योग वाणिज्य संघ तथा च्याम्बर्स अफ कमर्सले मिलाउने छन् । आयोजनामा काम गर्ने कामदारलाई कार्यस्थलमै रहने व्यवस्था मिलाई विकास निर्माणका आयोजना सुचारु गर्ने । जिल्लामा हाल उपलब्ध रहेका एम्बुलेन्सहरु सञ्चालनका लागि सम्बन्धीत स्थानीय तह तथा निकायहरुले तयारी अवस्थामा राखी कुनै पनि अवरोध नहुने गरी संचालनको व्यवस्था मिलाउने । निषेधाज्ञा अवधिभर अत्यावश्यक सेवा बाहेक अन्य प्रयोजनको लागि सवारी पास जारी नहुने प्रशाासनले जनाएको छ ।

औषधी तथा अत्यावश्यक उपभोग्य वस्तु तथा सेवाको आपूर्तीमा कृत्रिम अभाव सिर्जना गर्ने, मूल्यवृद्धि गर्ने, लुकाउने, सहज आपूर्तीमा अवरोध गर्नेलाई कारवाही गरिने बताईएको छ । त्यस्तै जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञा अबज्ञा गरे संक्रामक रोग ऐन २०२० तथा स्थानीय प्रशासन ऐन २०२८ बमोजिम कारबाही गर्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिल्लामा शुक्रबारसम्म ४ सय ७६ जना सक्रिय संक्रमित छन् । २३ जना निको भएर घर फकिएका छन् । संक्रमणका कारण हालसम्म १५ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।

 

प्रकाशित मिति: शुक्रबार, वैशाख २४, २०७८  १५:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update