Shittalpati
संक्रमितको उपचारमा ध्यान देऊ

नेपालमा कोरोना भाइरसको दोस्रो लहरको अवस्था भयावह बन्दै गएको छ । संक्रमितको संख्या अत्याधिक छ भने मृतकको संख्या पनि धेरै नै छ । अस्पतालका शैयाहरू जटिल खालका संक्रमितले भरिभराउ छन् । नयाँ संक्रमितले अस्पतालमा शैया पाउने अवस्था छैन । हरेक दिन स्वाब परीक्षण गराएकामध्ये ८० देखि ९० प्रतिशतभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भइरहेको छ । अब करिब–करिब घर–घरमा संक्रमण पुगेको छ । कतिपय घरमा त पूरै परिवार संक्रमित छन् ।

यति धेरै संक्रमितहरुको संख्या देखिदा पनि फितलो तयारी र कमजोर व्यवस्थापनले समस्या बढाइरहेको छ । कोरोनाको संक्रमण पुगि सकेको अवस्थामा संक्रमितलाई अस्पतालमा पुर्‍याएर उपचार गराउन नसक्ने अवस्था देखिनुले महामारीको जटिलता बढिरहेको देखाएको छ । यो अवस्थामा स्थानीय सरकार बढी चनाखो हुनुपर्ने र महामारीलाई व्यवस्थापन गर्नेतर्फ लाग्नुपर्छ । अहिले जताततै अस्पतालहरुका बेड भरिभराउ भएका छन् । पछिल्लो समय सबैजसो कोरोना संक्रमितको उपचारमा अक्सिजन दिनुपरेको चिकित्सकहरुले जनाएका छन् । अस्पतालका बेडहरु बिरामीले भरिएपछि संक्रमितहरुको अस्पतालका पेटी र सडकमा समेत उपचार गर्नुपरेको छ । कोरोना महाव्याधि भयावह बन्दै गएपछि स्वास्थ्य मन्त्रालयले नेपालको स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने अवस्था आएको जनाएको छ । कोरोना महाव्याधि नियन्त्रणका लागि सरकारले जे–जसरी प्रतिकार्यमा जुट्नु पर्दथ्यो त्यसमा नराम्ररी चुक्यो । अहिले जनतालाई सरकार भएको अनुभूति हुन सकेको छैन । सरकारको उपस्थिति हुनु भनेको विज्ञप्ति निकाल्नु मात्रै होइन, आफ्ना जनता जोगाउन अग्रसर बन्नु पनि हो । तर त्यसो हुन सकिरहेको छैन । अहिले संक्रमितहरु अस्पतालको पेटीमा अलपत्र अवस्थामा उपचार गर्न विवश भइरहेका छन् । अझ संक्रमितको संख्या अहिलेकै अनुपातमा बढ्दै जाने हो भने अवस्था झन विकराल बन्दै जाने देखिन्छ । त्यसैले सरकारले समयमै संक्रमितहरुको उचित किसिमको उचारमा ध्यान दिदै थप वैकल्पिक प्रवन्ध मिलाउन जरुरी छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २४, २०७८  १२:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update