Shittalpati
श्रमिकको न्यूनतम पारिश्रमिक निर्धारण

पाल्पा, सरकारले साउन १ गतेदेखि कार्यान्वयन हुने गरी श्रमिकको न्यूनतम पारिश्रमिक निर्धारण गरेको छ । पारिश्रमिक निर्धारणसँगै अब श्रमिकले १५ हजार पाउने छन् ।


श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले राजपत्रमा सूचना प्रकाशन गर्दै श्रमिकको तलब वृद्धि गरेको हो । यससँगै अब श्रमिकले दैनिक ५ सय ७७ रुपैयाँ र प्रतिघण्टा ७७ रुपैयाँ न्यूनतम पारिश्रमिक पाउने भएका हुन् । सरकारले श्रमिकको तलब मासिक १५ सय ५० रुपैयाँ, दैनिक ६० रुपैयाँ र प्रतिघण्टा ८ रुपैयाँले बढाएको हो । ‘श्रम ऐन, २०७४ को दफा १०६ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गरी आगामी साउन १ गतेदेखि लागू हुने गरी चिया बगानबाहेकका श्रमिकका लागि तलब निर्धारण गरिएको छ,’ सरकारले जारी गरेको सूचनामा उल्लेख छ । अब श्रमिकले ९ हजार ३ सय ८५ रुपैयाँ आधारभूत र ५ हजार ५ सय १५ रुपैयाँ महंगी भत्ता गरी १५ हजार रुपैयाँ न्यूनतम पारिश्रमिक पाउनेछन् । त्यस्तै दैनिक ज्यालादारीको हकमा ३ सय ६१ रुपैयाँ आधारभूत र २ सय १६ रुपैयाँ महंगी भत्ता गरी ५ सय ७७ रुपैयाँ पारिश्रमिक निर्धारण गरिएको छ ।


श्रमिकले पारिश्रमिकका अतिरिक्त योगदानमा आधारित सामाजिक सुरक्षा भत्ता, सञ्चय कोष र उपदानलगायतका अन्य सुविधा पनि पाउनेछन् । सरकारले तोकेको न्यूनतम पारिश्रमिकभन्दा कम तलब दिने गरी कुनै पनि रोजगारदाताले श्रमिकलाई काममा लगाउन पाउने छैनन् । उल्लिखित न्यूनतम पारिश्रमिक भन्दा कम पारिश्रमिक लिने दिने गरी कुनै रोजगार सम्झौता गर्न नपाइने सूचनामा उल्लेख छ ।

प्रकाशित मिति: बुधबार, वैशाख २२, २०७८  १२:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update