Shittalpati
स्वास्थ्यकर्मीलाई जोखिम भत्ता ५० प्रतिशत दिइने

पाल्पा, कोरोना महामारीको अग्रहभागमा रहेर काम गर्ने स्वास्थ्यकर्मीहरुलाई ५० प्रतिशत भत्ता दिइने भएको छ । सोमबार देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मीलाई मासिक तलबको ५० प्रतिशत भत्ताको व्यवस्था गरिने घोषणा गरेका छन् । प्रधामन्त्री ओलीले स्वास्थ्य जनशक्तिको अभाव हुन नदिन संघ, प्रदेश र स्थानीय तहमा अवकाश प्राप्त चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीलाई एक वर्षका लागि करारमा भर्ना गरिने पनि बताए । महामारीविरुद्ध अग्रपंक्तिमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, चालक र सफाइकर्मी सहित राष्ट्रसेवक कर्मचारीहरुको भूमिकाको प्रधानमन्त्रीले प्रशंशा समेत गरे । उनले भने, ‘कोभिड–१९ को पहिचान, निदान, उपचार, बिरामीको ओसारप्रसार र शव व्यवस्थापनमा प्रत्यक्ष रूपमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी, चालक तथा सहचालक र सफाइकर्मीका साथै कर्मचारीहरूलाई तलब स्केलको ५० प्रतिशत जोखिम भत्ता, परिवारको उपचार र बिमाको व्यवस्था गरिनेछ ।’ उनले स्वास्थ्यकर्मी सबैलाई विचलित नभई आ–आफ्नो कर्तव्य निर्वाह गर्न आग्रह समेत गरेका छन् ।


कोरोना महामारीबाट जनताको जीवन जोगाउनका लागि सरकारले आफ्ना सबै संयन्त्र परिचालन गरेको पनि प्रधानमन्त्री ओलीले जानकारी दिए । हालसम्म कोरोनाबाट अनाहकमा यस महामारीबाट ३ हजारभन्दा बढीले ज्यान गुमाएको प्रधानमन्त्रीको भनाइ थियो । उनले सबै नागरिकलाई खोप लगाउनका लागि सरकार लागिरहेको बताए । हाल संक्रमण फैलिन नदिनका लागि विज्ञहरूको सुझावअनुसार नै निषेधाज्ञा लगाउनेदेखि अन्तर्राष्ट्रिय र आन्तरिक उडान रोकिएको, भारतसँगका नाका बन्द गरिएको प्रधानमन्त्री ओलीको भनाई थियो ।

प्रकाशित मिति: मंगलबार, वैशाख २१, २०७८  ११:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update