Shittalpati
राष्ट्रिय जनगणना कार्यक्रम स्थगित

पाल्पा,  राष्ट्रिय जनगणना कार्यक्रम स्थगित भएको छ । सरकारले कोरोना महामारीका कारण भएको लकडाउनले १२ औं राष्ट्रिय जनगणना २०७८ को सम्पूर्ण गतिविधि तत्कालका निम्ति स्थगित गरेको हो । राष्ट्रिय योजना आयोगको सिफारिसमा मन्त्रिपरिषद्को बैंठकले उक्त निर्णय गरेको हो । जेठ २५ गतेदेखि असार ७ गतेसम्म हुने तय भएको जनगणना स्थगित गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिए छन् । कोरोना भाइरस महामारीको समयमा घरघरमा पुगेर जनगणना गर्न सम्भव नभएको भन्दै सरकारले स्थगित गरेको जनाइएको छ । कोरोना संक्रमण बढेपछि यही वैशाख १६ गतेदेखि सुरु गरिएको गणक र सुपरिवेक्षकहरुको तालिम पनि सरकारले स्थगित गरेको थियो ।

केन्द्रीय तथ्यांक विभागले हरेक दस वर्षमा जगणना गर्दै आएको छ । विभागको निर्धारित तालिकाअनुसार गत चैतमा ८ हजार सुपरिवेक्षक छनोट गरी देशव्यापी तालिम दिएको छ । ती सुपरिवेक्षक तथा कर्मचारीले वैशाख १६ गतेबाट घरपरिवार लगत लिने कार्य थाल्ने पूर्वनिर्धारित कार्यक्रम थियो । सोही दिनबाट आंशिक लकडाउन भएपछि योजना आयोगले स्थगित गर्नका निम्ति मन्त्रिपरिषदमा सिफारिस गरेको थियो । सरकारले वैशाख १ गतेभित्र स्थानीय जनगणना कार्यालय स्थापना गर्ने, वैशाख १६ देखि २२ सुपरिवेक्षक तालिम दिने, २६ देखि जेठ १४ सम्म घरपरिवार सूचीकरण कार्य गर्ने तालिका सार्वजनिक गरेको थियो ।

प्रकाशित मिति: सोमबार, वैशाख २०, २०७८  १६:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update