Shittalpati
कृषि विकास बैंकको नाफा बढ्यो

पाल्पा, कृषि विकास बैंकको नाफा वृद्धि भएको छ । बैंकको चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा १.३९ प्रतिशतले मूनाफा वृद्धि भएको हो । बैंकले २ अर्ब ७ करोड ३० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको ९ महिनाको तुलनामा १.३९ प्रतिशत धेरै हो । बैंकको खुद ब्याज आम्दानी १.५३ प्रतिशत बढेको भने वितरण योग्य मुनाफा १ अर्ब ४३ करोड १९ लाख रुपैयाँ पुगेको छ । खुद नाफा बढेपनि बैंकको प्रतिसेयर आम्दानी भने घटेको छ । प्रति सेयर आम्दानी ३ रुपैयाँ ३७ पैसा घटेर २५ रुपैयाँ १५ पैसा पुगेको छ । बैंकको निष्क्रिय कर्जा ०.५७ प्रतिशतविन्दु घटेर ३.०८ प्रतिशतमा झरेको छ ।

बैंकले गत आवको यसै अवधिमा २ अर्ब ४ करोड ४६ लाख खुद नाफा आर्जन गरेको थियो । गत वर्षको तुलनामा बैंकको नाफा १.३९ प्रतिशतले वृद्धि भएको हो । बैंकको वितरणयोग्य नाफा गत आवको यसै अवधिको तुलनामा १८ करोडले बढेको छ । गत आवको यसै अवधिमा १ अर्ब २५ करोड ८८ लाख रुपैयाँ रहेकोमा बढेर १ अर्ब ४३ करोड १९ लाख रुपैयाँ कायम भएको छ । चैत मसान्तसम्मको वित्तीय विवरण अनुसार बैंकले १ खर्ब ४५ अर्ब ३६ करोड ९ लाख रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ४५ अर्ब ९४ करोड ९ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । यसबाट बैंकले ४ अर्ब ४२ करोड ८६ लाख रुपैयाँ खुद ब्याज आम्दानी र २ अर्ब ९३ करोड ४२ लाख रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको छ ।

 

प्रकाशित मिति: आइतबार, वैशाख १९, २०७८  ११:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update