Shittalpati
लकडाउनका सय दिन, (दैनकीमा एकान्तबासका अनुभूतिहरु ‘भाग–४’)

शालिकराम पाण्डे ‘शिला’
१५ चैत्र २०७६ (शनिबार)
आज पनि ६.०० बजे उठियो । बिहान कोठामा घामको किरण पसिसकेको थियो । आज त घामले नै मलाई उठाएको हो । घामले बोलाएकोले म घामसँगै गए । बाहिर बसेर करिव पन्ध्र मिनेट घामसँग बसें  । काममा ब्यस्त हुँदा घाम ताप्न छुटेको धेरै भएको थियो । लकडाउनले घाम तपाइलाई पनि कार्यसूचिमा राख्न सिकाएको छ । पाल्पाली साहित्यकार मन गहिरेको मनका कथा सँग्रहबाट नयाँ बिहानी कथा पढें । समाजमा विद्यमान दाइजो प्रथाको चित्र खिच्ने प्रयास गरिएको रहेछ । अरु पनि हेर्नुपर्ला । संभवभए सानो समिक्षा पनि लेख्दा राम्रो हुने थियो । बिहान आमालाई फोन गरें । दाईभाउजुहरुसँग कुरा भयो । भदाहरु र नातिसँग पनि गफगाफ भयो । सारदा भाञ्जी पनि छोरोसँग गिरबारीमै रहिछन् । सानी भाञ्जीको फोन लागेको छैन । आफन्त, घरपरिवाहरु सम्झने यही बेला त हो । अघिपछि त कामले फुर्सद नै हुन्न ।

गाउँघरतिर फोन भईरहेको छ । बाकामलाङमा वडा अध्यक्ष पूर्ण खांण, बेस नेपालका उपाध्यक्ष हरिमायां राम्जाली र फिल्डसुपरभाइजर दानबहादुर रजालीसँग सम्पर्क र छलफल भईरहेको छ । हाललाई बेस नेपालबाट पाँच सय वटा मास्क र विदेशबाट आएका ब्यक्तिका परिवारलाई साबुन वितरण गर्ने विषय बेस नेपालको आपत्कालीन उद्दार समितिबाट मौखिकरुपमा सहमति भएको छ । साथीहरुले भोलिबाट यसको वितरण गर्ने योजना बनेको छ । एक घरमा एक साबुनले त कति काम गर्ला तर हात धुने चासो बढाउन भने सहयोग गर्ने छ । घर, परदेशमा रहेका परिवारका सदस्यहरुसँग अनलाइनमा कुराकानी गरे । यो काम पनि कार्यसूचिको नियमित कार्ययोजना भित्र परेको छ । सबै परिवार टाढा भए पनि कुरा गर्न पाउंदा आनन्द लाग्ने । लकडाउनले सिर्जना गर्ने मानसिक समस्यालाई समाधान गर्ने यो एउटा अर्काे उपाय हो ।

आज पनि फेसबुक र इमेल अपडेट गर्ने कामहरु पुरा भयो । बालबालिकालाई यो बेला काम लाग्ने खालका केही सामग्रीहरु खोजी गर्ने, वालमा पोष्ट गर्ने र डाउनलोड गर्ने कामहरु गरें । यसमा अझ बढी काम गर्नु पर्छ । युट्युबबाट महेशविक्रम शाहको छापामारको छोरो कथा सँग्रहभित्रका केही कथाहरु सुनें । आज मुख्यत ः यात्रा निवन्धहरुको प्रारम्भिक सम्पादनमा समय गयो । लकडाउनका विषयमा विश्व स्वास्थ्य सँगठनका निर्देशकको सानो क्लिप्स सुन्ने मौका मिल्यो । यो अवस्थामा मान्छेहरुलाई उत्साह भर्ने र सक्रिय राख्ने खालको त्यो मन्तव्य निकै उपयोगी लागेकाले सबैलाई शेयर गरे । सबै घटनाहरुका नकारात्मक मात्र नभएर सकारात्मक पक्ष पनि हुन्छ । सकारात्मक पक्ष लुकेको हुन्छ, त्यसैले त्यसको खोजी गर्नुपर्छ । यो माहामारीमा गरिएको लकडाउनको सकारात्मक पक्ष परिवारसँग बस्ने, छलफल गर्ने र सिर्जनात्मक कामहरुलाई समय दिने अवसर हो । विभिन्न कार्यक्रममा जाँदा लगाईदिएका तर कोठामा बाँकी रहेका केही ब्याच तथा खादाहरुलाई मिलाएर राखें । यसले कोठा आकर्षक हुने र सम्झना पनि कायम रहने छ । आजको दिन यसै बित्यो । अब रातको पालो आएकोले सुतें ।

प्रकाशित मिति: शनिबार, वैशाख १८, २०७८  १२:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update