Shittalpati
एनसेलले खेल मैदान निर्माण गर्दै

काठमाडौं(एजेन्सी), एनसेल आजियाटा लिमिटेडले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत काठमाडौंको मुटुमा रहेको लैनचौर मैदानको निर्माण तथा संरक्षण गर्दैछ । यस आयोजना अन्तर्गत निर्माण हुने खेल मैदानसहितको हरित उद्यानले स्वच्छ, सफा, हराभरा सहर निर्माणमा योगदान पुर्‍याउने उद्देश्य लिएको एनसेलले जनाएको छ । यो हरित उद्यान काठमाडौं महानगरपालिका वडा नं. २६ मा रहेको लैनचौर मैदानमा बनिरहेको छ । उद्यानमा मिनी फुटबल मैदान, बास्केटबल कोर्ट, खुला जिमखाना र बालबालिकाका लागि खेल्ने स्थान लगायतका विषेशताहरु रहने छन् । यो उद्यान ५४,९२१ वर्ग फिट क्षेत्रफल रहेको हालको लैनचौर मैदानमा बन्ने छ ।


एनसेल र काठमाडौं महानगरपालिका वडा नं.२६ ले एनसेलको व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत यो हरित उद्यान निर्माण तथा संरक्षणका लागि समझदारी पत्रमा हस्ताक्षर गरिसकेको छ । समझदारी अनुसार, एनसेलले काठमाडौं महानगरपालिकाले तयार तथा स्वीकृत गरेको डिजाइन अनुसार लैनचौर हरित उद्यान निर्माणको कार्य गरिरेहको छ । एनसेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘ग्राउण्ड क्लियरेन्सको कार्य सम्पन्न गरी हाल उद्यान निर्माणका लागि मैदान उत्खननको कार्य भइरहेको छ । परम्परागत ढुङ्गेधारा, उद्यानमा आउने मानिसहरुका लागि पार्किङ, शौचालय सुविधा र सोलार बत्तीको व्यवस्था यस उद्यानका केही थप विषेशताहरु हुनेछन् ।’ ‘सामाजिक आर्थिक विकासमा योगदान पुर्‍याउँदै तथा वातावरण क्षेत्रलाई प्राथमिकतामा राख्दै हामीले हाम्रो व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत विभिन्न कार्यक्रमहरु गर्दै आएका छौं,’ एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले भने,‘यो पहलले समुदायमा स्वस्थ वातावरण निमार्ण गर्दै वातावरण र पर्यावरण सम्बन्धी लक्ष्यप्राप्तिमा योगदान पुर्‍याउने छ । एक जिम्मेवार कर्पोरेट नागरिकको रुपमा एनसेलले दीगो विकासका लक्ष्य (एसडीजी) अन्तर्गतका शिक्षा र स्वास्थ्यका साथसाथै वातावरण संरक्षण तथा जलवायु (क्लाइमेट एक्सन) लाई प्राथमिकतामा राख्दै सामाजिक कार्यहरु गर्दै आएकोे छ । औद्योगिक व्यवसाय नियमावली २०७६ ले पनि व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत वातावरण संरक्षणलाई एक प्रमुख क्षेत्रको रुपमा राखेको छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १७, २०७८  १२:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update