Shittalpati
तानसेनका युवालाई उद्यमशील बनाउन कम्प्यूटर मर्मत तालिम

पाल्पा, तानसेनका युवाहरुलाई उद्यमशील बनाउन कम्प्यूटर मर्मत सम्बन्धित तालिम दिइन थालिएको छ । तानसेन नगरपालिकाको आयोजनामा मुख्यमन्त्री ग्रामिण विकास तथा रोजगार कार्यक्रम अन्तर्गत युवाहरुलाई उद्यमसील सीप विकास गर्ने उद्देश्यले कम्प्यूटर मर्मत सम्बन्धी तालिम दिइन लागिएको हो । तालिमको शुक्रबार एक औपचारिक कार्यक्रमका बीच शुभारम्भ गरिएको छ । तालिम तानसेनको डायनामिक कम्प्यूटर एकाडेमीमा सञ्चालन हुने छ । कोभिड महामारीको बीचमा भए पनि विभिन्न स्वास्थ्य मापदण्डहरुको पालना गर्दै तालिम सञ्चालन गर्न लागिएको हो । तालिम शुभारम्भ कार्यक्रममा मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रमका सदस्य गुराँस आत्रेयले तालिम व्यवहारिक ज्ञानसँगै सीप विकास र रोजगारीमा तानसेन नगरपालिकाले सहयोग गर्ने बताए । यस्तै निमित्त प्रशासकीय अधिकृत दुर्गा थापाले कप्यूटर मर्मत तालिम लिएर दक्षतासँगै सिपको सहि रुपमा उपयोग गर्न सहभागिलाई आग्रह गरे । तानसेन नगरपालिकाका सामाजिक विकास अधिकृत भरत प्रसाद आचार्यले दुई महिनासम्म तालिममा नियमित सिप हाँसिल गरेर सहभागिलाई स्वरोजगारीका अवसरमा लाग्न शुभकामना दिए । तालिम शुभारम्भ कार्यक्रममा नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष रेखीराम रानाले अहिलेको अवस्थामा कम्प्यूटर सीप अपरिहार्य रहेकाले सबैले सिक्नुपर्ने बताए ।

नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष गोविन्द भट्टराईले तालिमबाट अहिलेको अवस्थामा दक्ष कम्प्यूटर मर्मत गर्ने प्राविधिक उत्पादन हुने भएकाले त्यसलाई आफूले व्यवसायमा जोड्न सहभागिलाई आग्रह गरे । डाइनामिक एकाडेमीका म्यानेजिङ्ग डाइरेक्टर अमृत अधिकारीले विगत १३ वर्षदेखि संस्थाले विभिन्न संघ संस्थाहरुको समन्वयमा तालिमहरुमार्फत हजारौं विद्यार्थीलाई प्राविधिक ज्ञान सिकाएको बताउँदै विश्वका १ सय ६० देशमा समेत मान्यता प्राप्त कम्प्यूटरका शिक्षाहरु प्रदान गरिएको बताए । उनले प्रशिक्षार्थीलाई सिक्नुपर्ने कुरा र आचारसंहिताको बारेमा जानकारी गराए । तालिममा सिटिइभिटिकै पाठ्यक्रम अनुसार सिप सिकाइने उनले बताए । यस्तै प्रशिक्षक अमित रास्कोटीले तालिमलाई तालिमको रुपमा मात्र नलिई सिप र व्यवहारमा लागु गर्नुपर्ने बताए । मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रमका संयोजक कमल कुमालको सञ्चालनमा कार्यक्रम भएको थियो । तालिम दुई महिनासम्म सञ्चालन हुने छ । तालिममा तानसेनका विभिन्न वडाबाट छनौट भएर आएका २० जना युवाहरु सहभागीहरु रहेका छन् ।

प्रकाशित मिति: आइतबार, वैशाख १२, २०७८  ११:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update