Shittalpati
महिलालाई आत्मनिर्भर बनाउन सिलाई कटाई तालिम

पाल्पा, महिलाहरुलाई आत्मनिर्भर बनाउन रामपुरमा सिलाई कटाई तालिम दिइएको छ । रामपुुर नगरपालिकाको आयोजना र कालीगण्डकी मल्टी टेक्निकल इन्स्टिच्युट रामपुरको सहकार्यमा महिलाहरुलाई तीन महिने तालिम दिन लागिएको हो ।
तालिमको एक औपचारिक कार्यक्रमका बीच शुभारम्भ गरिएको छ । लघु उद्यम विकास कार्यक्रम अन्तर्गत रामपुर नगरपालिका ३ का महिलाहरुलाई सिलाइ कटाई तालिम दिन लागिएको रामपुर नगरपालिकाका लघु उद्यम विकास कार्यक्रम संयोजक निरज पोखरेलले बताए । सिलाई कटाई तालिमले घरको चुलो चौकोमा सिमित रहेका महिलाहरुलाई व्यवसाय नै सञ्चालन गरी आर्थिक रुपमा सबल र सक्षम बनाउन महत्वपूर्ण टेवा पुग्ने विश्वास नगरपालिकाले लिएको छ ।
३ महिने आधारभूत तालिमको रामपुर नगरपालिकाका उपप्रमुख बिष्णुदेवी आचार्य घिमिरेले उद्घाटन गरेकी हुन् । तालिमको उद्घाटन गर्दै उप–प्रमुख घिमिरेले सहज जीवनयापनका लागि सीप महत्वपूर्ण रहेको भन्दै सीप सिकेर व्यवसायिक बन्न महिलाहरुलाई आग्रह गरिन् । महिलाहरुलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन सीप तथा तालिम प्रदान गर्नुका साथै यस्ता सीप तथा तालिमले उनीहरुलाई स्वरोजगार बन्ने बाटो खुल्ने समेत उनले बताइन् । उपप्रमुख घिमिरेले कृषि, पर्यटन, धार्मिक तथा सांस्कृतिक क्षेत्रको विकास गरी रोजगारीको सिर्जना गर्ने दिशामा नगर सरकार अगाडि बढेको धारणा व्यक्त गरिन् ।
महिलालाई आत्मनिर्भर तथा महिला शसक्तिकरण गर्न चेतनाको विकास गराउँदै व्यापक रुपमा तालिमको आवश्यकता रहेको उनले औल्याइन् । कार्यक्रममा व्यवसायिक रुपमा लाग्ने गरी तालिम लिन वडा अध्यक्ष दिनेशकुमार खनालले सहभागीहरुलाई आग्रह गरे । कालीगण्डकी मल्टी टेक्निकल इन्स्टिच्युट प्रालिका सञ्चालक समितिका सदस्य निलकण्ठ भण्डारीले तालिममा सिकेका कुराहरुलाई व्यवहारमा लागु गर्नु पर्ने धारणा व्यक्त गरे । तालिममा ११ जना महिलाहरुको सहभागिता रहेको छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १०, २०७८  १०:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update