Shittalpati
बगनासकाली गाउँपालिकाले बालमैत्रीको ८५ प्रतिशत काम सक्यो

पाल्पा, बालमैत्री गाउँपालिका घोषणाको अन्तिम चरणमा रहेको जिल्लाको बगनासकाली गाउँपालिकाले ८५ प्रतिशत काम सकेको जनाएको छ । बुधबार पत्रकारसँग अन्तक्र्रिया कार्यक्रम गरी गाउँपालिकाले संस्थागत सूचक, कार्यालय र वडा कार्यालयहरुले गर्नुपर्ने काम बाहेक ८५ प्रतिशत काम सकिएको जनाएको हो । बालमैत्री विद्यालयका निश्चित मापदण्ड पूरा गरेको गाउँपालिकाले पालिका भित्रका ३७ वटा सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई निर्धारण गरिएका सूचकहरुको उपलब्धिको आधारमा बालमैत्री घोषणा गरी गाउँपालिका घोषणाको अन्तिम चरणमा रहेको छ ।

कार्यक्रममा बालमैत्री स्थानीय शासन समितिका संयोजक एवं गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले गाउँपालिकालाई बालबालिका मैत्री बनाउन, विभिन्न क्रियाकलापमा बालबालिकाको सहभागिता सुनिश्चित गर्न र उनीहरुको हक अधिकार प्रदान गरी नमूना गाउँपालिका बनाउने अभियानमा पत्रकारहरुको महत्वपूर्ण भूमिका रहने भएकाले अभियानमा सहयोग गर्न आग्रह गरे । उनले भने ‘घोषण गर्नु मात्र ठूलो कुरा होइन, त्यसलाई कार्यान्वयन गर्नु महत्वपूर्ण रहन्छ, त्यसका लागि शिक्षक, अभिभावक, सरोकारवाला निकाय, जनप्रतिनिधि, पत्रकारको भूमिका महत्वपूर्ण रहने छ ।’

बालमैत्री कार्यक्रमका लागि विनियोजन गरिएको एक करोड रकम शिक्षा, स्वास्थ्यकै लागि खर्चिने अध्यक्ष बस्यालले बताए । बालमैत्री स्थानीय शासन समितिका उप–संयोजक तथा उपाध्यक्ष सरस्वती चिदीले चैत्र महिना भित्र बालमैत्री घोषणा गर्ने गरी अन्तिम तयारीमा जुटिएको बताइन् । उनले सुरुको वर्ष भौतिक पूर्वाधारमै बजेट विनियोजन गरी काम गरिएकाले त्यसबाट मात्र आर्थिक समृद्धि हासिल हुन नसक्ने भएकाले अन्य क्षेत्रको विकासमा समेत ध्यान दिइएको बताइन् । पत्रकारले सोधेका प्रश्नको जवाफ दिर्दै प्रमुख प्रशासकीय अधिकृत सुन्दरप्रसाद श्रेष्ठले कार्यक्रमबाट आएका सुझावहरुलाई आत्मसाथ गर्दै अगाडि बढ्ने बताए ।

उनले बालबालिका सम्बन्धी ३ वटा नीतिहरु पास गर्दै गाउँपालिका भित्रका सम्पूर्ण विद्यालयहरुलाई बालमैत्री घोषणा गरी ८५ प्रतिशत काम सकिएको जानकारी गराए । प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले बेस नेपाल र इन्द्रेणी समाजको सहकार्यमा अभियान अगाडि बढेकाले पत्रकारहरुले पनि अभियानलाई साथ दिन आग्रह गरे । पत्रकार महासंघका अध्यक्ष राजेशकुमार अर्यालले गाउँपालिकाले सञ्चालन गरेको बालमैत्री अभियानका हरेक गतिविधिहरु प्रशंसनिय रहेको बताए । कानुन र संविधानको कार्यान्वयन नै बालमैत्री शासनको अवधारणा रहेको स्थानीय बालमैत्री शासनका फोकलपर्सन मनोज आचार्यले बताए । उनले समाजलाई कस्तो बनाउने भन्ने विषय हामी सबैको चिन्ताको विषय बन्नुपर्ने बताए । आचार्यले भने ‘सबैले साेंच र चिन्तनमा परिवर्तन ल्याउन सके मात्र सक्षम र सवल बालबालिका उत्पादन गर्न सकिने र समाजलाई सोही दिशामा अगाडि बढाउन सकिन्छ ।’

प्रकाशित मिति: बिहीबार, फागुन ८, २०७६  १०:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update