Shittalpati
इन्धनको मूल्य फेरि बढ्यो

पाल्पा,  नेपाल आयल निगमले पेट्रोलियम पद्धार्थको मूल्य पुनः बढाएको छ । शनिबार राति १२ बजेदेखि लागू हुने गरि मूल्य बढाइएको हो । निगमले पेट्रोल, डिजेल र मटीतेलको मूल्यमा प्रतिलिटर एक रुपैयाँ तथा हवाई इन्धनमा दुई रुपैयाँ वृद्धि गरेको छ । भारतबाट भाउ बढेर आएपछि स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधि अनुसार इन्धनको मूल्य समायोजन गरिएको निगमले जनाएको छ । मूल्य समायोजनपछि पेट्रोलको १२१ तथा डिजेल र मट्टीतेलको १०४ रुपैयाँ तथा हवाई इन्धनको ७६ रुपैयाँ प्रतिलिटर कायम भएको छ । मूल्य समायोजनापछि पनि निगमलाई अर्धमासिक रुपमा ७० करोड ६६ लाख रुपैयाँ घाटा रहेको आयल निगमले जनाएको छ । निगमका अनुसार मूल्य वृद्धिपछि पनि निगमलाई पेट्रोलमा ६ रुपैयाँ ७२ पैसा, डिजलमा ४४ पैसा तथा खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिण्डर ४१७ रुपैयाँ ४७ पैसा घाटा रहेको छ ।

आन्तरिक उडानतर्फको हवाइ इन्धनको साविकको बिक्री मूल्यमा दुई रुपैयाँ वृद्धि हुँदा प्रतिलिटर ७६ रुपैयाँ पुगेको छ । खाना पकाउने ग्यास र अन्तर्राष्ट्रिय उडानका लागि प्रयोग हुने हवाई इन्धनको भने मूल्यवृद्धि गरिएको छैन । नेपाल भारत सीमाको रक्सोलको तुलनामा वीरगञ्ज क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर २९ रुपैयाँ २३ पैसा र डिजल प्रतिलिटर ३५ रुपैयाँ ४१ पैसा नेपालतर्फ सस्तो रहेको जनाइएको छ । निगमले पटक–पटक इन्धनमा मूल्य बढाएपछि त्यसको असर बजारमा देखिन थालेको छ । भाउसँगै बजारका सबै उपभोग्य वस्तुको भाउ बढ्नाले नागरिकका लागि सरकार गम्भीर नरहेको स्पष्ट देखिन्छ । यसो हुनु दुखद् हो । इन्धनको मूल्यवृद्धि यातायातका साधनहरुमा समेत भाडा वृद्धि भएको छ । पेट्रोलियम पदार्थमा भाउ बढे पनि स्वाभाविक रूपमा यससँग सम्बन्धित सबैमा प्रत्यक्ष नकारात्मक असर पर्छ नै । कोरोनाका कारण बजार चलायमान नभएको, आयात पनि घटेको तथा नागरिकको क्रयशक्ति घटेका कारण घटेको बजारभाउ नेपाल आयल निगमले लगातार पेट्रोलियम पदार्थको भाउ बढाएपछि अब उकालो लाग्ने देखिन्छ । उता यातायात व्यवसायी तथा ढुवानी व्यवसायी पनि इन्धनको भाउ बढेका कारण आफ्नो लागत बढेको भन्दै भाउ बढाउन लागी परेका छन् । यसरी इन्धनको भाउ बढ्नासाथ हवाई तथा स्थल यातायात एवंं ढुवानीको पनि भाउ बढ्छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख ७, २०७८  ११:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update