Shittalpati
कृषकलाई आत्मनिर्भर बनाउन बाख्रा

पाल्पा ,जिल्लाको निस्दी गाउँपालिकाका कृषकहरुलाई आत्मनिर्भर गराउने उद्देश्यले बाख्रा वितरण गरिएको छ । नेपाल सरकार कृषि मन्त्रालय पशु सेवा विभागको लागत साझेदारी कार्यक्रम तथा निस्दी गाउँपालिका पाल्पा र गल्धा महिला सामाजिक उद्यमी सहकारी संस्थाको संयुक्त लगानीमा बाख्रा हस्तान्तरण गरिएको हो । निस्दी ५ गल्धाका १ सय घर परिवारले प्रतिघर १ वटा उत्पादनशील बाख्रा र १० समुहले एक/एक वटा उन्नत जातका बोका पाएका छन् । बाख्रा पाएपछि कृषक अत्यन्तै हर्षित भएका छन् । गाउँपालिकाभित्रका किसानलाई व्यावसायिक पशुपालन तथा कृषिमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ त्यहाँका १ सय घर परिवारलाई उत्पादनशील बोका र बाख्रा वितरण गरिएको हो । गाउँपालिका अध्यक्ष मुक्तबहादुर सारुले एक कार्यक्रमका बीच कृषकहरुलाई बाख्रा हस्तान्तरण गरेका हुन् ।

बाख्रा हस्तान्तरण गर्दै सारुले अबको ५ वर्षभित्र गाउँपालिकालाई कृषि र पशुपालनमा आत्मनिर्भर बनाउने बताए । उनले आमनागरिक आत्मनिर्भर भए मात्र गाउँपालिकाको आर्थिक समृद्वि संभव रहेको भन्दै पहिला नागरिक आर्थिक रुपमा सक्षम बन्नुपर्नेमा जोड दिए । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष रिता कुमारी अर्याल, नेकपा एमालेका जिल्ला सदस्य देवीलाल लामिछाने, हेफर इन्टरनेशनलका कार्यक्रम अधिकृत शोभाखर न्यौपाने, निस्दी गाउँपालिका पशु सेवा शाखाका संयोजक ओम मश्राङ्गी, सहकारी संस्थाकी अध्यक्ष तिरण कुमारी श्रेष्ठ, उपाध्यक्ष सीता अर्याल लगायतले बाखा्र पालन व्यवसायिक बनाउन कृषकहरुलाई आग्रह गरे ।

प्रकाशित मिति: आइतबार, वैशाख ५, २०७८  १२:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update