Shittalpati
पाल्पामा भजन संरक्षणका नाममा उठेको रकम हिनामिना

रामचन्द्र रायमाझी
पाल्पा, पाल्पामा भजन संरक्षणका लागि भन्दै संकलन गरिएको रकम हिनामिना भएको खुलेको छ । जिल्लामा भजन संरक्षण गर्ने उद्देश्यले स्थापना भएको आरती भजन किर्तन संरक्षण समितिको रकम हिनामिना भएको खुल्न आएको हो ।

समितिमा आवद्ध व्यक्तिहरुले नै व्यक्तिगत प्रयोजनका लागि समितिमा संकलन भएको १ लाख ४४ हजार रकम हिनामिना गरेको पाइएको छ । विभिन्न समयमा भजन गाउँदा मादलमा चटाउने गरेको रकम, आजीवन सदस्यहरुबाट उठाइएको रकम र भजन गाउँदा प्राप्त भएको रकम समितिका १२ जना व्यक्तिहरुले बाँडेको पाइएको हो ।

भजन संरक्षणका लागि २२ जना सदस्य सक्रिय हुँदै आए पनि समितिका विशेष १२ जना व्यक्तिहरुले १२/१२ हजारका दरले विना उद्देश्यले रकम बाँडिएको समितिका वरिष्ठ उपाध्यक्ष दीलबहादुर भण्डारीले बताए । उनले भने‘ आफु समितिको उपाध्यक्ष भए पनि जानकारी नगराई श्रीमतिमार्फत मेरो हिस्सामा परेको उक्त १२ हजार रकम समितिले पठाइदिएको छ ।’ यसरी समितिको रकम विना उद्देश्य बाँडिएको विषयमा आफु अचम्ममा परेको भण्डारीको भनाई छ । समितिमा जम्मा भएको पैसा प्रक्रिया विना बाँडिनु गलत भएको उनले बताए । ‘पाल्पाको भजनलाई जीवन्त राख्नको लागि समिति गठन गरिएको र भजन गाएरै थोरै धेरै रकम संकलन गरिएको थियो । तर त्यो रकम कोषमा जम्मा गरी थप वृद्धि गर्दै जानुपर्नेमा समितिकै व्यक्तिहरुले आफ्नो खल्तीमा राख्नुले सरासर रकम हिनामिना भएको हो उपाध्यक्ष भण्डारीले भने ।’ समितिका अध्यक्ष जयप्रकाश उप्रेतीले भने आफुहरुले रकम हिनामिना नगरेको दावी गरे । उनले भने ‘हो १२ जना संस्थापकहरुले १२÷१२ हजार बाँडेका हौं, हामी सुरुवातका दिनदेखि नै दुःख गर्दै आएकाले भ्रमण, वनभोज गर्ने भनि रकम बाँडेको कुरा सत्य हो ,तर यसलाई हिनामिना गरिएको भन्न मिल्दैन ।’ उनले एनजेडी सँगको कुराकानीमा यति मात्र भनेन् की ‘उक्त रकम प्रयोग नभएपछि १२ जनाले बराबर ऋण स्वरुप लिएका हौैं ।’ उनको यस्तो संकास्पद भनाईले पनि प्रष्ट हुन्छ की समितिमा भएको रकम विना प्रक्रिया व्यक्तिगत रुपमा रकम बाँड्नु सरासर रकमको हिनामिना गर्नु नै हो ।

कुनै पनि व्यक्तिलाई आवश्यकता नपरेसम्म ऋण नै लिदैन तर ऋण लिए पनि थोरै धेरै हुन सक्छ तर यहाँ त ऋण आवश्यक नपरेकाहरुलाई पनि नसोधी रकम बराबर गरेर पठाइदिएको पाइएको छ । समितिका उपाध्यक्ष दीलबहादुर भण्डारी भन्छन् ‘यति ऋण नै हो भने पनि आफुले माग नै गरेको छैन , माग नगरी कसरी रकम पठाइयो ?’ समितिमा भएका अन्य सदस्यहरुलाई समेत जानकारी नगराई केही प्रमुख व्यक्तिहरु मिलेर समितिको रकम बाँड्नु गलत भएको समितिका सांस्कृतिक संयोजक कमल पौड्यालले बताए । उनले भने‘आफुहरु समितिमा भए पनि कुनै पनि जानकारी नगराई अध्यक्ष, सचिव र अन्य पदाधिकारीहरुको मिलेमतोमा रकम बाँडिएको छ, यस्तो हुनु गलत हो, सिंगो समितिको नै बदनाम भएको छ ।’

 

प्रकाशित मिति: शनिबार, वैशाख ४, २०७८  २०:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update