Shittalpati
सामाजिक संघसंस्थाहरु पुगे सहयोग गर्न आश्रममा

रमेश विश्वकर्मा
गुल्मी, जिल्लाको सत्यवती गाउँपालिका रूद्रवेणीमा रहेको राम मन्दिर तारकेश्वर परमानन्द सन्यास आश्रममा रहेका कल्पवासीहरूलाई सहयोग विभिन्न संघसंस्थाहरू पुगेका छन् । गाउँपालिकाको अस्लेवा, रूद्रवेणीधाममा अवस्थित आश्रममा जिल्लामा क्रियाशिल नेपाल नेत्र ज्योति संघ, नेपाल हृदयरोग निवारण प्रतिष्ठान र नेपाल औषधी व्यवसायी संघ जस्ता सामाजिक संस्थाहरु सहयोग लिएर आश्रममा पुगेका हुन् ।
नेपाल नेत्र ज्योति संघले मन्दिरमै पुगि कल्पवासीहरूको आँखा जाँच गरेको छ । ४३ औं नेत्र ज्योति दिवसको अवसरमा आश्रममा रहेका कल्पवासीहरूको निःशुल्क आँखा तथा सुगर जाँच गरिदिएको संघका सभापति शेरबहादुर थापाले बताए । आश्रममा रहेका ४४ जनाको निःशुल्क आँखा जाँच गरिएकोमा ४ जनाको शल्यक्रिया गर्नुपर्ने देखिएको छ । उनीहरूको निःशुल्क मोति विन्दुको शल्यक्रिया गरिने सभापति थापाले उल्लेख गरे । उनले सामाजिक संघ–संस्थाहरूले करौतीको रूपमा काम गर्नुपर्ने बताए । थापाले नेत्र ज्योति संघद्वारा जिल्लाका विभिन्न स्थानमा गएर शिविर सञ्चालन गर्दै आएको समेत बताए । यस्तै नेपाल हृदयरोग निवारण प्रतिष्ठान गुल्मी शाखाले आश्रममा रहेका कल्पवासीहरूको निःशुल्क सुगर, रक्तचाँप परीक्षणसंगै उनीहरूलाई सम्मान गरिएको सभापति अखिलेश्वर प्रसाद पाण्डेले बताए । पेशागत विभिन्न संघसंस्थाहरू स्थापित भएपनि समाजिक कार्य राज्यलाई सहयोग गर्नु सबैको साझा उद्देश्य रहेको उनको भनाई छ ।
यस्तै नेपाल औषधी व्यवसायी संघ गुल्मीले आश्रममा रहेका कल्पवासीहरूका लागि भोजन गराएको अध्यक्ष महेशकुमार श्रेष्ठले बताए । कल्पवासीहरूका लागि आवश्यक पर्ने औषधी आवश्यकता अनुसार उपलब्ध गराउने श्रेष्ठले बताए । बविता फर्मा तम्घास गुल्मीका व्यवस्थापक पार्वता थापाले आश्रममा रहेका कल्पवासीहरूका लागि दराज हस्तान्तरण गरेका थिए । त्यहाँ रहेका कल्पवासीहरूले प्रयोग गर्ने औषधी व्यवस्थापनका लागि सहयोग पुर्‍याउने उद्देश्यले दराज हस्तान्तरण गरेको थापाले बताए । नेपाल औषधी व्यवसायी संघ पाल्पाका अध्यक्ष रामलाल श्रेष्ठ, लुम्बिनी प्रदेशका अध्यक्ष शिव ज्ञवाली लगायतले आश्रमका लागि आवश्यक सहयोगका लागि आफुहरू सधै तयार रहेको प्रतिवद्ध जनाएका छन् । गाउँपालिका अध्यक्ष पारिश्वर ढकालले आश्रममै आएर गरेको सहयोग तथा सेवाप्रति तीनवटै संघसंस्थाहरूलाई धन्यवाद दिए । आश्रममा अहिले ४५ जना कल्पवासीहरू बस्दै आएका छन् । औषधी व्यवसायी संघ गुल्मीका महासचिव गणेश श्रेष्ठको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: मंगलबार, चैत १७, २०७७  ११:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update