Shittalpati
परनिर्भरता उन्मुख ग्रामीण क्षेत्र

ए बाबु त्यो झोलामा दुःधको पोका छ है फुट्ला । ए दाई (सवारी चालक) फर्कदा एउटा ग्यासको सिलिण्डर ल्याईदिनुस है आज विहान खाना पकाउदा पकाउदै सकियो । यी उल्लेखीत दुई वटा घटनाहरु शहरबाट ग्रामीण क्षेत्रमा चल्ने यातायातका साधनहरुमा यात्रा गर्ने यात्रुले भनेको भनाई हो । यहाँ यी दुई भनाईलाई प्रतिनिधि घटनाको रुपमा उठाउन खोजिएको छ । यी घटनाहरुले आजभोली हाम्रा ग्रामीण क्षेत्रहरुमा तिब्ररुपमा बढदै गइरहेको आर्थिक परनिर्भरताको अवस्थालाई देखाउन खोजिएको छ । यही ग्रामीण क्षेत्रमा बढ्दै गहिरहेको आर्थिक तथा गैर आर्थिक परनिर्भरताको यहाँ चर्चा परिचर्चा गर्न खोजिएको छ ।
के ग्रामीण क्षेत्रमा मात्रै परनिर्भता बढेको छ ? शहरी क्षेत्रमा बढेको छैन ? यो प्रश्न पनि उठ्नु स्वभाविक नै हो, तर सामान्यतया शहरी क्षेत्रमा बस्ने मानिसहरु केही न केही पेशा÷व्यवसायमा संलग्न भई आफूलाई आत्मनिर्भतामा उभ्याएको पाईन्छ । यसको विपरीत ग्रामीण क्षेत्रका मानिसले केही पनि गर्दैन त भन्न खोजिएको पनि होइन तर वर्तमान अवस्थामा ग्रामीण क्षेत्र तिर हिजो मिहिनेत गर्ने मानिसहरु आज मिहिनेत गर्न छोड्दै गएको देखिन्छ । सामान विक्रीमा भन्दा किन्नमा रमाउने प्रवृत्ति बढ्दै गएको पाईन्छ । अधिकाश भू–भाग ग्रामीण क्षेत्रले भरिएको नेपाल र नेपालको अर्थतन्त्रको विकास तथा वृद्धिमा यस क्षेत्रको उलेख्य भूमिका रहने गर्दछ । गाँउ नै गाउँले भरिएको नेपालमा ग्रामीण क्षेत्रको विकास र आत्मनिर्भरता विना पूरा नेपालको विकास र आत्मनिर्भरताको कल्पना पनि गर्न सकिदैन । ग्रामीण क्षेत्रमा दिनप्रतीदिन बढ्दै गइरहेको आधुनिकिकरण र परनिर्भतालाई दुई पक्षबाट चर्चा गर्न सकिन्छ । एउटा समूह विदेशबाट आउने रेमिटान्सको आडमा राम्रो उब्जाउ हुने खेतबारी बाझै राखी शहरको साँघुरो कोठामा बसाई सरी परनिर्भता बढाउँदै गएको देखिन्छ भने अर्को समुह गाउँमानै बस्ने तर राम्रो उब्जाउ हुने खेतबारी बाझै राखी बजारबाट किनेर खानमा रमाई परनिर्भरता बढाई रहेको पाईन्छ । अन्य खाद्य पदार्थको खरीदको कुरा नै नगरौं शहरी क्षेत्रबाट ग्रामीण क्षेत्रतर्फ सवारी साधनहरुमा भरिभराउ हरियो तरकारी भित्री रहेको पाईन्छ । यो आर्थिक दृष्टीकोणले दुर्भाग्यपूर्ण अवस्था हो । हिजो गाई, भैसी पालेर शहरमा दुःध बेच्ने मानिसहरुले पोकाका पोका शहरबाट दुध किनी रहेको पाईन्छ । प्रसस्त वैकल्पिक उर्जाको स्रोत हुँदा हँुदै पनि बजारबाट खाना पकाउने ग्यासका सिलिन्डरहरु ग्रामीण क्षेत्रहरुमा भित्री रहेको पाईन्छ । यी सबै घटनाहरुले हाम्रा गाउँ घरहरु आत्मनिर्भरतर्फ हैन परनिर्भता बढाउनेतर्फ उन्मुख भै रहेको देखाउँदछ ।

कृषि क्षेत्रमा दिनप्रती दिन नयाँ–नया प्रविधिहरु, विउविजन र खेती गर्ने तरीकाहरु भित्रि रहेका छन्,सरकारले विभिन्न अनुदानका कार्यक्रम ल्याइरहेको छ । यसको विपरीत साना तीना कारण देखाउँदै खेतबारीहरु बाझो राख्ने प्रवृत्तीलाई बढाउँदै गईरहेका छौं । हिजो किनेर खाने (वेसाहा) अवस्था आयो भने ठूलै घटना सम्झने हाम्रो सोचाई आज शहरतर्फबाट सामान घरमा भित्र्याउँदा गर्व र इज्जत महशुश गर्ने भइ सकेका छौं ।आम्दानी र खर्चको हिसाब किताब नै नगरी हिजो हिडेर पुग्ने ठाँउमा आज यातायातका साधनहरुमा हुँइकी रहेका छौं । यातायातका साधनहरुमा शहरतर्फबाट भरीभराउ सामानहरु ल्याई रहेका छौं तर तिनै यातायात साधन र्फिता पठाउँदा रित्तै पठाई रहेका छांै । हाम्रा ग्रामीण क्षेत्रमा रहेका अथाहा स्रोत र साधनको महत्व बुझ्न नसकी अधिकाश समय गाँस,बाँस र कपासको व्यवस्थापनमा नै खर्च गरी रहेका छौं । हामीले कृषि कार्य त गरिरहेका छौं तर तरीका भने हिजो हजुरबुबा, बाले गरेको विधिनै अपनाई रहेका छौं । त्यसबाट आम्दानी लिन सकेका छैनौं । राज्यको पूर्नःसंरचना गरी तीन तहको सरकार स्थापना गरी राज्य सञ्चालन गरेको पनि करीब करीब १० वर्ष हुन लागि सक्यो तर यस संरचनाले हामीलाई सकरात्मक सन्देश दिन भनेको सकेको छैन । आखिरीमा जुन व्यवस्था आए पनि उही त रहेछ नि भन्न हामीलाई बाध्य पारी रहेको छ । विकास निमार्ण भनेको हामीले सडकको विस्तारलाई मात्र देख्यौ यहि कारण हाम्रा खेती योग्य जमिन र हरीयाली डाँडा काडालाई राताम्मे बनाई रह्यौ र यसैमा रमाई रहेका छौं, यसैलाई विकास भनिरहेका छौं । पहराहरु चिरेर गाउँमा सडक त पुर्‍यौं तर ती साधनमा गाउँबाट के पठाउने योजना नै बनाउन सकेनौं । कतै यी सडकले हामीलाई परनिर्भता तिर उम्मुख गराउन सहयोग गरेको त होइन ? प्रश्न खडा गरी रहेको छ यसको उत्तर दिन हामीले सकिरहेका छैनौं । गाउँ–गाउँमा सिहदरबारको परिकल्पना गरेर स्थानीय तहको संरचना तयार पारियो तर ती तहले बनाउने योजना तथा कार्यक्रममा विज्ञको सहभागिता गराउन सकेनौं परम्परागत तरिकाले बनाइएका योजना र कार्यक्रमबाट गरिएका खर्चहरु एकातिर कार्यकर्ता पोस्ने माध्यम बनेको छ भने अर्को तिर बालुवामा पानी हाले सरह भै रहेको छ । यसले पनि ग्रामीण क्षेत्रको परनिर्भता बढाउनमा एउटा कारण बनी रहेको छ ।

ग्रामीण क्षेत्रलाई आत्मनिर्भर बनाउन ग्रामीण क्षेत्रमा नै बस्ने मानिसहरु नै सक्रिय भएर लाग्नु पर्दछ । स्थानीय तहले योजना बनाउँदा विज्ञको प्रयोग गरी कागजी हैन व्यवहारिक ग्रामीण आवश्यकता सम्वोधन गर्ने पक्षलाई जोडदिनु पर्दछ । दैनिक आम्दानी र खर्चको हिसाब राखी बचतबाट पूँजी निमार्णको परिकल्पना गर्नुपर्दछ । सर्वप्रथम हामीले पछिल्लो समयमा विकास भएको हाम्रो देखासिकीमा रमाउने र किनेर खाँदा गर्व गर्ने बानीलाई छोड्ने र हामीसँग जे छ त्यसैको व्यवस्थापन र आधुनिकिकरणतर्फ लाग्नु जरुरी देखिन्छ । यति मात्रै गर्न सकियो भने मात्र सुविधा सम्पन्न हाम्रा गाउँ घरमा हरियाली बनाउन सकिन्छ । भत्किएका हाम्रा घरहरुलाई मर्मत गर्न सकिन्छ । बुढा बुढी मात्र भेटिने हाम्रा गाउँमा नयाँ चहलपहल ल्याउन सकिन्छ । आज भोली हामी आटो र ढिडो खानमा रमाउन थालेका छौं । होमस्टे र रिसोर्टमा समय बिताउँन चाहि रहेका छौं । रातो माटोले पोतेका खरले छाएका झुपडीमा बसेको अनुभव गर्न,फोटो खिच्न हामी लालायित हुन थाली सकेका छौं । यी सबै ग्रामीण परिवेशबाट आजभोली विकसित भएका पक्षहरु हुन् । यी कुराहरुले विस्तारै हामी कतै ग्रामीण क्षेत्रको बसाईमा आर्कषित हुन थालेको हो की भन्ने आभाषा हुन थालेको छ । हाम्रा ग्रामीण क्षेत्रमा देखिएका समस्याबाट नभागौं समस्यालाई स्थानीय सरकारको सहयोगमा समाधानतर्फ लागौं । आफ्नो वास्तविकता के हो ? विश्लेषण गरेर मात्र देखासिकी र बसाईसराईको निर्णय गरौं । एकातिर राजनिति गर्ने राजनितिकर्मीले चुनावको बेलामा मात्र गाउँ जाने सोच त्यागनु जरुरी देखिन्छ भने अर्कोतर्फ आफ्ना राजनिति कार्यकर्ताको भनसुनमा हैन गाउँको आवश्यकताको आधारमा योजना ल्याउनु जरुरी देखिन्छ । गाउँको विकास विना सिगो नेपालको विकास सम्भव छैन भन्ने कुरा तीन तहकै सरकारले बुझि सोही अनुसारको निति तथा कार्यक्रम ल्याउने वित्तिकै ग्रामीण क्षेत्रमा बढ्दै गएको परनिर्भताको अन्त्य गर्न सकिन्छ की ?
(लेखक अर्थशास्त्रका प्राध्यापक समेत हुन् ।)

प्रकाशित मिति: सोमबार, चैत २, २०७७  १६:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update