लोकतन्त्र स्थिर प्रणाली होइन, निरन्तर सुधारको प्रक्रिया हो । बेलायतलाई हेरौँ । आजको आधुनिक संसदीय प्रणालीको जननी मानिने बेलायतमा पनि राजनीतिक दलहरू कठोर संरचनाबाट लचिलो संरचनामा पुग्न दशकौँ लाग्यो । सन् १९९० को दशकमा लेबर पार्टी पुरानो ट्रेड युनियन केन्द्रित पार्टीबाट व्यापक मध्यमवर्गीय मतदातालाई समेट्ने दलमा रूपान्तरण भयो । टोनी ब्लेयरको “न्यू लेबर” अभियान केवल नीतिगत परिवर्तन थिएन त्यो पार्टीभित्र बहसलाई वैध बनाउने, नेतृत्व चयनलाई खुला बनाउने र मतदाताको अपेक्षा अनुसार आफूलाई परिमार्जन गर्ने अभ्यास थियो ।
परम्परागत समर्थकबाट आलोचना खेप्दा पनि पार्टीले लोकतान्त्रिक प्रतिस्पर्धालाई स्वीकार ग¥यो, र त्यसले दीर्घकालीन रूपमा संस्थागत विश्वसनीयता बढायो । त्यस कारण विकासको चरण चुली चुमेको अमेरिकामा पनि राजनीतिक दलहरू स्थिर छैनन् । त्यहाँको डेमोक्रेटिक र रिपब्लिकन पार्टी दुवैमा समय–समयमा गम्भीर वैचारिक पुनर्संरचना भएको छ । सन् १९६० को दशकमा नागरिक अधिकार आन्दोलनपछि डेमोक्रेटिक पार्टी दक्षिणी गोरा मतदाताबाट टाढा हुँदै अल्पसंख्यक र उदारवादी समूहको पार्टीमा रूपान्तरण भयो । पछिल्ला वर्षहरूमा रिपब्लिकन पार्टीभित्र पनि पुरानो “स्थापना पक्ष” र नयाँ जनवादी राष्ट्रवादी धारबीच प्रतिस्पर्धा खुला रूपमा देखियो । महत्वपूर्ण कुरा के हो भने—ती बहसहरूले कहिलेकाहीँ दललाई कमजोर बनाएजस्तो देखिए पनि लोकतन्त्रलाई बलियो बनायो, किनकि मतदाता बिच विकल्प, बहस र आलोचना सबै सार्वजनिक भए ।
अहिले नेपालको राजनीतिमा पनि पछिल्ला वर्षहरूमा बारम्बार उठ्ने शब्द हो—“रूपान्तरण”। विशेषगरी नेपाली कांग्रेसभित्र नेतृत्व पुस्तान्तरण, आन्तरिक प्रतिस्पर्धाको वैधता, सार्वजनिक बहसको स्वीकार्यता र पार्टीभित्रै फरक मतलाई ठाउँ दिनुपर्ने मागले नयाँ राजनीतिक संस्कारको खोजी भइरहेको संकेत दिन्छ । यो केवल एउटा पार्टीको आन्तरिक प्रक्रिया मात्र होइन, लोकतन्त्रमा विश्वास जोगाइराख्ने प्रयास पनि हो । विश्वका विकसित लोकतान्त्रिक मुलुकहरूमा यस्ता रूपान्तरणका अभ्यास कसरी विकसित भए र किन आवश्यक बने—त्यसको अध्ययन गर्नुपर्ने बेला भएको छ । अरु देशका अनुभवले नेपालका राजनीतिक दलहरूका लागि पनि महत्वपूर्ण सन्देश दिन्छ । जर्मनीको उदाहरण अझ रोचक छ । दोस्रो विश्वयुद्धपछि त्यहाँका दलहरूले एउटा पाठ सिके—बन्द संरचना र व्यक्तिपूजा लोकतन्त्रका लागि खतरनाक हुन्छन् । त्यसैले क्रिश्चियन डेमोक्रेटिक युनियन (सिडियु) र सोसल डेमोक्रेटिक पार्टी (एसपिडी) दुवैले पार्टीभित्र नीति सम्मेलन, सदस्य मतदान र नेतृत्व प्रतिस्पर्धालाई संस्थागत गरे। एन्जेला मर्केल जस्तो नेता पार्टीभित्रै प्रतिस्पर्धाबाट माथि आयो, केवल परम्परागत गुटको समर्थनबाट होइन। यसले नेतृत्वलाई “अधिकार” होइन “विश्वास” बाट आउने संस्कार विकास गर्यो । लोकतन्त्रप्रति आस्था भनेको चुनाव जित्नु मात्र होइन, हार स्वीकार्ने क्षमता पनि हो भन्ने जर्मन राजनीतिक संस्कृतिले देखायो ।
जापानमा लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) दशकौँ सत्तामा रहे पनि आन्तरिक प्रतिस्पर्धाले उसलाई स्थिर बनायो । एउटै पार्टीभित्र फरक–फरक गुटले प्रधानमन्त्री चयनमा प्रतिस्पर्धा गर्ने अभ्यासले सत्ता परिवर्तनलाई हिंस्रक वा अस्थिर हुनबाट जोगायो । जनताले सरकार परिवर्तन गर्न नसकेको अवस्थामा पनि पार्टीभित्रै परिवर्तन सम्भव भयो—जुन लोकतन्त्रको अर्को रूप हो । यी माथिका सबै उदाहरणहरूबाट एउटा साझा सन्देश निस्कन्छ—लोकतन्त्र टिकाउने शक्ति संविधान मात्र होइन, दलहरूको आन्तरिक लोकतन्त्र हो । जब दलहरू आफैँ परिवर्तन हुन तयार हुन्छन्, तब प्रणालीप्रति जनविश्वास बढ्छ । जब दलहरू स्थिर संरचनामा जकडिन्छन्, तब जनताले विकल्प बाहिर खोज्न थाल्छन्—त्यतिबेला कहिलेकाहीँ असंवैधानिक शक्तिसमेत सलबलाउन थाल्छन् ।
नेपालमा पनि यही मनोविज्ञान देखिन्छ । राजनीतिक दलहरू केवल चुनाव जित्ने संयन्त्र बने भने जनविश्वास घट्छ । तर जब नेतृत्व चयनमा प्रतिस्पर्धा हुन्छ, सार्वजनिक आलोचना स्वीकारिन्छ, र नीतिमा बहस खुला हुन्छ — तब लोकतन्त्र जीवित भएको अनुभव हुन्छ । नेपाली कांग्रेसभित्र देखिएका पुस्तान्तरणका आवाज, नीतिगत बहस, र नेतृत्वको वैधतामाथि उठेका प्रश्नहरूलाई कमजोरीका रूपमा होइन, परिपक्वताको संकेतका रूपमा बुझ्नुपर्छ । विकसित लोकतन्त्रहरूमा पनि यस्तै प्रक्रियाबाट दलहरू बलिया बनेका हुन् ।
लोकतन्त्रप्रति आस्था केवल नारामा हुँदैनन्, त्यो व्यवहारमा देखिन्छ। बेलायतमा प्रधानमन्त्री संसदबाट हट्नुपर्छ भने हट्छन्, अमेरिकामा राष्ट्रपतिले अदालतको आदेश मान्नुपर्छ, जर्मनीमा गठबन्धन भत्किए पुनः जनादेशमा जानुपर्छ । संस्थाप्रति यस्तो स्वीकृतिले नै राजनीतिक संस्कार बनाउँछ । नेपालमा पनि दलहरू नियमभन्दा व्यक्ति ठूलो हुने संस्कारबाट बाहिर निस्कँदै संकेत दिने रुपान्तरित काँग्रेसको हालैको पहल सकारात्मक संकेत हो । आजको युगमा मतदाता अधिक सचेत छ । सूचना प्रविधिले सबै कुरा पारदर्शी बनाएको छ । बन्द कोठामा निर्णय गरेर जनतालाई पछि जानकारी दिने राजनीति टिकाउ हुँदैन । विकसित मुलुकका लोकतन्त्र प्रति आस्था राख्ने दलहरूले यही कारणले पार्टी सदस्यलाई निर्णय प्रक्रियामा समेटे, प्राथमिक निर्वाचन गराए, सार्वजनिक बहसलाई खुला गरे । नेपालका सबै दलहरूले पनि यही बाटो रोजे भने मात्र लोकतन्त्रप्रति जनविश्वास बढ्नेछ ।
(लेखक भट्टराई अग्रज पत्रकार तथा राजनैतिक विश्लेषक हुन् )

