आज कतै तपाईहरुलाई कसैले झुक्काउँदै छ होला वा झुठो बोलेर दुःख दिर्दै छ होला । ख्याल गर्नुहोस् आज अप्रिल फूल हो । अप्रिल महिनाको पहिलो दिन अर्थात अप्रिल फस्टमा मानिसहरुलाई झुटो बोल्ने र मुर्ख बनाउने चलन छ । नेपालमा मात्र नभइ संसारभरका मानिसहरूले अरुलाई फूल अर्थात् ‘मूर्ख’ बनाउँछन् । पहिले यो दिवस फ्रान्स र अन्य युरोपेली देशहरूमा मनाइने गरिए पनि बिस्तारै अन्य देशहरूले पनि यो दिवस मनाउन थाले । यो दिन एकअर्कासँग रमाइलो गरेर मनाइन्छ । सबैले एक अर्कालाई मूर्ख बनाउन बहाना खोज्छन् । यस दिन केही व्यक्तिहरूले फोनमा म्यासेज र ठट्टाहरू मार्फत वेबकूफ बनाउँछन् ।
हरेक देशमा आ–आफ्नो ढंगले यो दिवस मनाइए पनि हरेक व्यक्तिको उद्देश्य चाहिँ रमाइलो गर्नु नै हो । मानिस एक सामाजिक प्राणी हो । उसलाई विभिन्न मनोरञ्जनका कार्य आवश्यक पर्छ । यस्ता किसिमका दिवस या पर्वहरूले मानिसलाई आमोदप्रमोद प्राप्त गर्न मद्दत मिल्छ । यस्तै थुप्रै संसारभरिका विभिन्न जातजाति, धर्म, भेषभूषा, चलनचल्ती र भाषाभाषीहरूको आ–आफ्नो मौलिक संस्कृति पनि हो । यस्ता किसिमका परम्पराहरूलाई सम्बद्र्धन तथा जगेर्ना गर्नु सम्पूर्ण मानवहरूको परम कर्तव्य पनि हो । तर रमाइलोका नाममा कसैले दुख र सास्ती पाउनु राम्रो हैन । यस दिन नेपालसहित विश्वभरका मान्छेहरु एक अर्कालाई मुर्ख बनाउने र झुट बोल्ने, ठट्टा गर्ने गर्दछन् । यसबाट होसियार चाही रहनुपर्छ । यहाँ आजको दिन एकाबिहानैदेखि दिनभर नै कयौंलाई मुर्ख बनाएर हाँसोे मज्जा गरी मनाइन्छ । यस दिवसको सन्दर्भमा साधारण हाँसो र ढाँट्ने क्रममा धेरैले असाधारण घटनाको सामना समेत गर्नुपरेका समाचार पनि सुन्नमा नआएको होइन । मज्जा गर्ने नाममा अरुलाई दुःख दिनु चाही राम्रो होइनन् । कुनै पनि संकृति पर्व र दिवस मनाउँदा त्यसको मौलिकताको अनुसरण गर्नुपर्छ । तर क्षणिक मनोरञ्जनका लागि कसैलाई आघात पर्ने गरी गर्नु किमार्थ उचित हुँदैन । कहिलेकाहीँ संवेदनशीलता ख्याल नगरी मजाक गर्दा कुनै अप्रिय घटनाहरु पनि घट्न सक्छन् । त्यसतर्फ भने ध्यान दिन जरुरी छ ।

