हिन्दू संस्कृतिमा महाशिवरात्रि केवल धार्मिक पर्व मात्र होइन, आत्मचिन्तन र आत्मसंयमको अभ्यास गर्ने विशेष अवसर हो। फागुन कृष्ण चतुर्दशीको रातमा मनाइने यो पर्व भगवान शिवको तप, धैर्य र सन्तुलित जीवनदर्शनसँग जोडिएको छ । शिवलाई विनासका देवता भनिए पनि विनासको अर्थ सृष्टि समाप्त गर्नु होइन, विकृति हटाएर शुद्धता स्थापना गर्नु हो । त्यसैले महाशिवरात्रि मानव जीवनका गलत प्रवृत्तिहरू त्याग्ने र सकारात्मक व्यवहार अंगाल्ने सन्देश बोकेको पर्व पनि हो । यो दिन व्रत बस्ने, रातभर जाग्राँम गर्ने र शिवलिङ्गमा जल चढाउँने परम्परा छ । यसको गहिरो अर्थ शारीरिक भन्दा बढी मानसिक अनुशासनसँग सम्बन्धित छ । उपवासले इच्छामाथि नियन्त्रण सिकाउँछ भने जाग्राँमले सचेतता र सजगता बढाउँछ । अहिले आधुनिक समाजमा बढ्दो भौतिकता, तनाव र प्रतिस्पर्धाबीच मानिस आफ्नो आन्तरिक शान्तिबाट टाढा हुँदै गएको देखिन्छ । यस्तो अवस्थामा महाशिवरात्रिले संयम, धैर्य र सन्तुलनको जीवनशैली अपनाउन प्रेरित गर्छ ।
समाजशास्त्रीय र मानव सभ्यतासँग गासिएको हाम्रो मौलिक परम्परागत, सनातनिय दृष्टिले पनि यो पर्व महत्वपूर्ण छ । मन्दिरहरूमा हुने सामूहिक पूजा, भजन र दर्शनले सामाजिक एकता बलियो बनाउँछ । मानिसहरू वर्ग, जात र पेशाभन्दा माथि उठेर एउटै आस्थामा जोडिन्छन् । यसले सामाजिक सद्भाव र सहअस्तित्वलाई बल दिन्छ । आज विभाजन र अविश्वास बढिरहेको समयमा यस्ता पर्वहरुले समुदायबीच विश्वास पुनस्र्थापित गर्ने अवसर दिन्छन् । यद्यपि पछिल्ला वर्षहरूमा महाशिवरात्रि केही स्थानमा प्रदर्शनमुखी हुँदै गएको छ। ध्वनि प्रदूषण, फोहोर र अनावश्यक भीडले यसको आध्यात्मिक महत्व ओझेलमा पार्ने खतरा बढेको छ। शिवको सादगी र प्रकृतिप्रेमी जीवनदर्शन सम्झिने हो भने वातावरण संरक्षण र संयमित उत्सव नै साँचो पूजा हुन सक्छ । अन्ततः महाशिवरात्रि अन्धविश्वास होइन, आत्मशुद्धि र व्यवहार सुधारको प्रतीक पर्व हो । यदि हामीले शिवको अर्थ “कल्याण” भन्ने भावनालाई जीवनमा उतार्न सक्यौँ भने यो पर्व केवल मन्दिरमा सीमित रहने छैन, समाज रूपान्तरणको आधार बन्नेछ। आस्था व्यवहारमा झल्किँदा मात्र पर्वको वास्तविक सार्थकता प्राप्त हुन्छ भन्ने बुझाई आजको आवश्यकता हो ।

