Shittalpati
सेनाको योगदान

नेपाली सेनाले बिहीबार सेना दिवस मनाएको छ । सेनाले आ–आफ्ना गणहरुमा शिवरात्री परेड तथा तोप, बढाइँ, कवाज, आतसबाजी लगायत कार्यक्रम गरी दिवस मनाएका छन् । नेपाली सेनाले हरेक वर्ष यही समयमा यो दिवस मनाउँदै आएको पाइन्छ । नेपालको स्वतन्त्रता, भौगोलिक अखण्डता तथा सार्वभौमसत्ताको रक्षाका लागि इतिहासका विभिन्न कालखण्डमा नेपाली सेनाले उदाहरणीय र कीर्तिमानी काम गर्दै आएको छ ।

नेपाली सेनाकै वीरताका कारण अंग्रेजको दबदबा रहेको अवस्थामा समेत दक्षिण एसियामा नेपालमात्र उपनिवेश हुनबाट जोगिएको थियो । सरकारबाट प्रकृति संरक्षण, विकास निर्माण, विपद् व्यवस्थापन लगायतका विभिन्न कार्यमा खटाइएका बेला सेनाले आफ्नो क्षमताले भ्याएसम्म पूर्ण बफादारीका साथ काम गरेको इतिहास छ । देशका विभिन्न भागमा भएका सडक निर्माणदेखि लिएर अनेकौ भौतिक संरचनाको निर्माणमा सेनाले पु¥याएको योगदान सबैका सामु खुला किताबझैं स्पष्ट देखिन्छ । यस्तै विश्वशान्ति स्थापनाका लागि विभिन्न द्वन्द्वग्रस्त देशहरु पुगेर ज्यान हत्केलामा राख्दै नेपाली सेनाले गरेको योगदानबारे संयुक्त राष्ट्र संघका अधिकारीहरुले समेत मुक्तकण्ठले प्रशंसा गरेका छन् ।

पछिल्ला समयमा नेपाली सेनाले मुलुकभित्र विपद् व्यवस्थापन र सडक लगायत पूर्वाधार निर्माणमा भरपर्दो छवि स्थापित गर्न सफल भएको छ । राष्ट्रिय सुरक्षा, महत्वपूर्ण संरचना र भौतिक पूर्वाधार र प्राकृतिक सम्पदाको सुरक्षा, विकास निर्माणको जिम्मेवारीसँगै नागरिकसँगको सम्बन्धलाई बलियो बनाउने तथा मानवाधिकारको विश्वव्यापी मान्यतालाई आत्मसात् गर्ने कार्यलाई नेपाली सेनाले प्राथमिकतामा राखेर काम गर्दै आएको छ । सेनाले कसैलाई पनि जात, धर्म, भूगोल र सम्प्रदायका आधारमा भेदभाव गर्ने गरेको पाइँदैन । सेना स्वभावैले समावेशी छ भने प्राचीनकालदेखि अहिलेसम्म सेनाले सबैलाई समेट्ने प्रयास गर्दै आएको छ । सैनिक संगठन आमनेपाली जनताकै भएकाले यसमा विभिन्न जातजातिको सहभागिता रहेको सबैले स्पष्ट देख्न सक्छन् । सेना स्वेच्छाले राष्ट्र सेवामा आउन चाहने सबै नेपालीहरुको लागि सदैव खुल्ला संगठन हो, तसर्थ यो नेपालीहरुको साझा शक्ति पनि हो । त्यसैले सेनाको योगदान सबैले सम्मान गर्न जरुरी छ ।

प्रकाशित मिति: शनिबार, फागुन २९, २०७७  १२:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update