
रमेश विश्वकर्मा
गुल्मी, नेपाली काँग्रेसका जिल्ला सभापति भुवनप्रसाद श्रेष्ठले विद्यार्थीमा आलोचनात्मक ज्ञानको विकास गराउन जरुरी भएको बताएका छन् । उनले ‘कोरा किताबी ज्ञानले मात्र व्यक्ति पूर्ण हुन नसक्ने भन्दै अबको शिक्षा जीवनोपयोगी र व्यवहारिक हुनुपर्ने बताएका हुन् । जिल्लाको मुसिकोट नगरपालिका ६ कुर्घामा नेपाल शिक्षक संघ मुसिकोट नगर कार्य समितिको दोस्रो प्रतिनिधि सभा एवं बृहत बनभोज कार्यक्रममा बोल्दै सभापति श्रेष्ठले शिक्षकले शिक्षणको क्रममा विद्यार्थीहरुमा आलोचनात्मक ज्ञानको विकास गराउन सकेमा मात्र विद्यार्थीहरुको सिर्जनशिलता बढ्ने दाबी गरेका छन् ।
विद्यार्थीमा आलोचनात्मक ज्ञानको विकास गराउनु जरुरी छ, सभापति श्रेष्ठले भने,‘यसले विद्यार्थीमा रचनात्मकता र सिर्जनशिलता बढ्छ ।’ उनले पछिल्लो समय सामुदायिक विद्यालयमा स्थायी रुपमा अध्यापन गराउनका लागि अर्थात शिक्षण पेशामा स्थायी रुपमा प्रवेश गर्नका लागि शिक्षक सेवा आयोगबाट नाम निकाली शिक्षकहरु सामुदायिक विद्यालयमा शिक्षण पेशामा संलग्न हुने गरेको बताएका छन् । तर आफु सामुदायिक विद्यालयमा कार्यरत हुने । आफ्ना सन्तानहरुलाई नीजि विद्यालयमा पढाउने गरेको पाईएकोले त्यसो नगरी सम्पूर्ण शिक्षकहरुले आफ्ना सन्तानहरुलाई सामुदायिक विद्यालयमा पढाउन आग्रह गरे ।
सामुदायिक बिद्यालयमा कार्यरत शिक्षकहरुले सामुदायिक बिद्यालयमा नै आफ्ना सन्तानलाई पढाउन सके मात्रै पनि सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा वृद्धि हुनेमा उनले जोड दिए । त्यस्तै उनले गुणस्तरिय शिक्षाको माध्यमबाट देश समृद्धिमा जान सक्ने दाबी गरे । शिक्षकहरु विद्यार्थीको भावनालाई बुझेर मात्र अध्यापन कार्यमा लाग्न आग्रह गर्दै उनले भने,‘शिक्षकहरु आफ्नो पेशाप्रति सधै इमानदार, मेहनत, कर्मठ र उर्जाशिल भएर लाग्नुपर्छ ।’
शिक्षकहरुलाई सम्मान
नेपाल शिक्षक संघ मुसिकोट नगर कार्य समितिले दोस्रो प्रतिनिधि सभा एवं बृहत बनभोज कार्यक्रमको आयोजना गरि शिक्षकहरुलाई सम्मान गरेको छ । नेपाल शिक्षक संघमा आबद्ध शिक्षकहरुलाई सम्मान गरेको नेपाल शिक्षक संघ मुसिकोट नगर कार्य समितिका अध्यक्ष डिल्लीराज खरेलले जानकारी दिए । उनका अनुसार शिक्षण पेशाबाट अवकाश लिएका र मुसिकोट नगरपालिका भन्दा बाहिर कार्य क्षेत्र बनाएर जाने शिक्षकहरुलाई सम्मान सहित विदाई गरिएको । त्यस्तै शिक्षक सेवा आयोगले लिएको परिक्षामा नाम निकाली स्थायी रुपमा शिक्षण पेशामा लागेका शिक्षकहरुलाई पनि सम्मान गरिएको हो ।
कार्यक्रममा गोपाल प्रसाद खराल, पोमराज तिवारी, भीमलाल सापकोटा, झविलाल भण्डारी, टंकनाथ भण्डारी, विष्णुराज भण्डारी, गुप्त बहादुर कार्की, जगुलाल खरेल, गजाधर सापकोटा, कमला भण्डारी लगायतलाई विदाई सहित सम्मान गरिएको थियो । त्यस्तै विष्णु प्रसाद आचार्य, कृष्ण शाह, नानुमाया शर्मा, गणेशमान चालिशे, संगिता पौडेल, लक्ष्मी प्रसाद शर्मा, पार्वती भण्डारी, निर्मला श्रेष्ठ, कमला भण्डारी, सर्विन्दा श्रेष्ठ, ज्ञानीश्वर आचार्य, जीवलाल लोहनी, मोहलाल अर्याल, विष्णुमाया अर्याल लगायतलाई सम्मान गरिएको हो । महिला उपाध्यक्ष तिलका घिमिरेले शिक्षक संघले अहिलेसम्म गरेका सम्पूर्ण कार्यक्रमको बारेमा जनाकारी र आगामी दिनमा शिक्षक संघले गर्ने कार्यक्रमको बारेमा जानकारी गराएकी थिईन ।
त्यस्तै अर्थ सचिव बाबुराम शर्माले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यस्तै कार्यक्रममा नेपाल शिक्षक संघ मुसिकोट नगर कार्य समितिको उपाध्यक्षमा रामप्रसाद आर्चाय र अर्थ उप सचिव लक्ष्मी पुनलाई मनोनित गरिएको सचिव भिमसेन केसीले जानकारी दिए । नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि ज्ञानहरी सापकोटा, नेपाली काँग्रेस गुल्मीका पूर्व सचिव हरिनारायण सापकोटा, नेपाली काँग्रेस मुसिकोट नगरपालिका छाँया सरकार प्रमुख झविलाल भण्डारी, शिक्षक यूनियन गुल्मीका पूर्व अध्यक्ष भिमलाल सापकोटा, नेपाल शिक्षक संघ गुल्मीका उपाध्यक्ष मृगेन्द्र प्रसाद रिजाल, नेपाल शिक्षक संघ गुल्मीका पूर्व कार्यबहाक अध्यक्ष बुद्धि प्रसाद शर्मा लगायतले कार्यक्रमको सम्बोधन गरेका थिए । कार्यक्रममा नेपाली काँग्रेसका विभिन्न भातृ तथा शुभेच्छुक संस्थाका प्रमुख तथा प्रतिनिधि, नेपाल शिक्षक संघमा आबद्ध शिक्षकहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।