Shittalpati
प्रहरीको प्रशंसनीय काम

नेपालका पछिल्ला केही घटना क्रमहरुबाट प्रहरी संगठनले आलोचना खेपिरहेका बेला बैतडी घटनाको अनुसन्धानबाट भने प्रशंसा कमाएको छ । बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको हत्यारा पक्राउ गर्ने क्रममा प्रहरीले देखाएको सक्रियताकै कारण अपराधी पक्राउ हुन सफल भएको छ । जसरी केही वर्ष पहिले कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भयो र त्यसको अपराधी हालसम्म पनि पत्ता लागेको छैन यो घटनाको अवस्था त्यस्तै होला कि भन्ने त्रास सबैमा थियो । यी दुवै घटनाको प्रकृति एकै खालको छ तर नेपाल प्रहरीले यस घटनाको अभियुक्तलाई घटनाको दुई हप्ताभित्रै पक्राउ गर्न सफल भएपछि प्रहरी संगठनको छविमाथि विश्वास जागेर आएको छ । नेपाल प्रहरी यस अर्थमा पनि धन्यवादको पात्र बन्न पुगेको छ । केही घटनामा वर्षौदेखि अपराधीको खोजी मात्र गरिरहे पनि दोषी पक्राउ गर्न नसकेपछि प्रहरी संगठनमाथि चर्को आलोचना हुँदै आएको थियो । तर बैतडीको यो घटना भने सम्झनालायक केही सफलताको सूचीमा समावेश भएको छ ।

हुन त नेपाल प्रहरीले यसभन्दा पहिलाका धेरैजसो यस्ता अपराधका अपराधीहरू पत्ता लगाई पक्राउ गर्न सफल भएको छ । जुन घटनामा संलग्न अपराधी फेला परेका छैनन् तिनमा ठूला अपराधीहरूको संलग्नता हुन्छ भन्ने कुरा यथार्थ हो । कञ्चनपुर घटना पनि यस्तै हुनसक्छ । नत्र नेपाल प्रहरीको अनुसन्धान यति कमजोर हुनै सक्दैन । बैतडी घटनाको अनुसन्धानमा संलग्न प्रहरीले निर्मला काण्डका अभियुक्त छिटै पक्राउ पर्ने बताएका कारण आशावादी बन्न सकिन्छ । बैतडीकी भागरथी भट्टको बलात्कार गरी हत्या उनकै छिमेकी तथा भाइ नाता पर्ने दिनेश भट्टबाट भएको खुल्न आएको छ । यसर्थ गम्भीर अनुसन्धान भयो भने जस्तोसुकै अपराध पनि समाजमा लुक्न सक्दैन भन्ने पुष्टि हुने गरी प्रहरी प्रशासनले यस्ता प्रशंसनीय कार्यलाई जारी राख्नुपर्छ ।

प्रकाशित मिति: शनिबार, फागुन ८, २०७७  १२:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update