Shittalpati
प्रजातन्त्र दिवसको सार्थकता

हरेक वर्षको फागुन ७ मा प्रजातन्त्र दिवस मनाइन्छ । आज पनि यो दिवस देशभर मनाइदै छ । प्रजातन्त्र ल्याउन योगदान दिएका योद्धा, उनीहरूको सपनाका साथै समग्रमा सरकार प्रमुख हुन् वा विभिन्न राजनीतिक दलका नेता सबैले फागुन ७ का दिन २००७ सालको जनक्रान्तिको स्मरण गर्छन्, प्रजातन्त्र दिवसको महत्वबारे व्याख्या गर्छन् । तर, उतिबेलाको परिवर्तनले देखाएको बाटोमा हिँड्न भने तयार देखिँदैनन् । त्यसैले त उतिबेला प्रजातन्त्रले निर्दिष्ट गरेको लक्ष्य हासिल हुन सकेको छैन् । बरु दलका नेताहरूको अदूरदर्शिता, दीर्घकालीन सोचको अभाव र आपसी खिचातानीले प्राप्त उपलब्धि नै बेलाबखत गुम्दै आएको छ ।

प्रजातन्त्रको मर्म र भावना कसैले आत्मसात् गर्न सकेका छैनन् । परिवर्तनका लागि बलिदानी दिने महान् सहिदहरुले देखाएको बाटोमा न त सरकार नै हिँडेको पाइन्छ, न त कुनै दलले नै यसको मार्ग पहिल्याउनै सकेका छन् । प्रजातन्त्र प्राप्तिपश्चात् मुलुकले विकास र स्थायित्वको गति पहिल्याउन नसक्दा प्रजातन्त्र नै अभिसाप बन्न पुग्यो । आजका दिनसम्म पनि प्रजातन्त्र कहिले गुम्दै र कहिले पुनःस्थापित हुने श्रृंखला चलिरह्यो । अहिले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापित भएको छ । शब्दमा प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र जे भनिए पनि आजको राजनीतिक परिवर्तनको जग भनेको २००७ सालमा स्थापित प्रजातन्त्र नै हो । राणा र शाही शासनकालको अन्त्यपश्चात् पनि दलहरुले मुलुकलाई सही गन्तव्य र विकासको मार्गमा अघि बढाउन सकेका छैनन् यो हामी सबैका लागि ठूलो दुर्भाग्य हो । दल विभाजनसम्बन्धी अध्यादेश, पार्टी एकतापछिको अन्तर–संघर्ष, संसद् विघटन र नेकपा विभाजन लगायतका घटनाले प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा भएका यस्ता राजनीतिक उथलपुथललाई नेपाली जनता र अन्तर्राष्ट्रिय जगतले समेत चासोका साथ हेर्दै आएका छन् । लामो संघर्षपश्चात् ०४६ सालको जनआन्दोलनले प्रजातन्त्रको पुनःस्थापना भए पनि आन्दोलनका सहयात्रीमा सत्ता स्वार्थको खिचातानी र दूरदर्शीताको अभावले प्रजातन्त्रकै उपहास हुन पुगेको छ । सत्तापक्षमा बहुमतको दम्भ र प्रतिपक्षको अधैर्य व्यवहारले अस्थिर राजनीतिक अवस्था उत्पन्न भएको छ । संयुक्त संघर्षबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्नभन्दा दलहरुबीच तिक्ततापूर्ण सम्बन्धले जनतालाई निराश बनाएको छ । बहुमतको सरकार विघटन गर्नेदेखि आफ्नै पार्टीको सरकार गिराउनेसम्मका निकृष्ट खेलहरु भएका छन् । संसदीय राजनीतिको विकृत रुपले अन्ततः प्रजातन्त्रकै घाँटी निमोठिएको छ । जसले गर्दा जनता नै निराशा भएका छन् । यस्तो अवस्थामा जनतामा आशा र निराशा दुवै देखिनु अस्वाभाविक होइन । यसर्थ अब वर्तमान सरकारले आन्तरिक द्वन्दबाट आफुलाई पर राखी स्थायित्व र विकासका कार्यक्रमलाई दु्रतगतिले अगाडि बढाउन सकेमा प्रजातन्त्र दिवस सार्थक र उपलब्धिमूलक हुने छ ।

प्रकाशित मिति: शुक्रबार, फागुन ७, २०७७  १२:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update