Shittalpati
सरस्वती पूजाको शुभकामना

माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना गरिदै छ । विशेष गरेर विद्यालयमा विद्यार्थीले सरस्वती पूजा धुमधामसँग मनाउने गर्छन् । यो चाड नेपालमा मात्रै नभएर भारत, बर्मा बङ्गलादेश जस्ता हिन्दू बाहुल्य रहेको ठाउँमा मनाउने चलन छ । केही वर्षयता अन्य धर्म मान्ने समुदाय जस्तै बुद्धिष्ट, जैनजस्ता धर्म सम्प्रदायले पनि यो पर्व मनाउने गरेको देखिन्छ । यस चाडलाई हिन्दु र बौद्ध धर्मावलम्बीको संयुक्त चाड भन्ने गरिन्छ । बौद्ध धर्मावलम्बीले सरस्वतीलाई ज्ञानको प्रतीक मानेर बोधिसत्व मञ्जुश्रीका रूपमा पूजाआजा गर्छन् । नेपाल चीनलगायतका देशमा सरस्वतीलाई मञ्जुश्रीको नामले पूजा गर्ने परम्परा छ ।

सन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या, बुद्धि बढ्ने विश्वास रहेको छ । विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने चलन छ । आजका दिन लेखपढ गर्न सिकाए राम्रो विद्या आउने जनविश्वास छ । विद्या र सिर्जनाकी देवी भएकाले विशेषगरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ–आफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुर्ची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन् । आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलबिवाह (इही) जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नु पर्दैन भन्ने मान्यता छ । यस दिन बालबालिकालाई शिक्षारम्भ गराउने र नाक–कान छेड्न पनि शुभ मानिन्छ । सरस्वतीलाई चढाइएको सात गेडा अक्षता निलेमा विद्या र बुद्धि स्फुरण भई विद्यादेवीबाट चेतनाको ज्योति पाइन्छ भन्ने धार्मिक विश्वास रहेको छ । यसर्थ विधा हामी सबैलाई आवश्यक छ, सिर्जना र सर्जकको कदर हामी सबैले गर्न जरुरी छ । लेख्नेको मसी नसकियोस्, बोल्नेको आवाज दुरुस्त रहोस् अनि हेर्नेको नजर खुल्ला रहोस्, श्रृगांर रसले जीवन भरिपूर्ण होस्, सरस्वती माताको सबैमा शुभकामना ।

प्रकाशित मिति: मंगलबार, फागुन ४, २०७७  १२:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update