Shittalpati
प्रणय दिवसको महत्व

प्रणय दिवस वा प्रेम दिवस हरेक वर्षको १४ फेब्रुअरीमा विश्वभर मनाइने दिवस हो । यो पर्व पादरी सेन्ट भ्यालेन्टाइनको बलिदानसँग सम्बन्धित छ । प्रेमका लागि प्राण उत्सर्ग गर्ने पादरीको सम्झनामा भ्यालेन्टाइन डे मनाउन थालिएको हो । विश्वभरि नै यस दिनलाई उत्सवको रूपमा मनाउने गरिन्छ । यो पर्व वा दिवसमा गुलाफको फूल आफ्नो प्रेमी प्रेमिकालाई दियो भने प्रेम सम्बन्ध राम्रो हुन्छ भन्ने जनविश्वास रहँदै आएको छ । विशेष गरी युवा युवतीहरूमा यसको बढी लगाव हुने गर्दछ । प्रेम दिवस आफैमा एक महत्वपूर्ण दिन हो । युवा युवतीले एक आपसमा प्रेम प्रकट गर्ने दिनका रुपमा यो दिवसलाई लिइन्छ । आफूले मन पराएको केटा वा केटीलाई प्रेम प्रस्ताव राख्न, प्रेम सम्बन्ध स्थापित भएका प्रेमी प्रेमिकाको प्रेम अझ दरिलो र सुदृढ पार्न यस दिनले ठूलो भूमिका खेल्ने विश्वास पछिल्लो युवा पुस्तामा रहेको छ । पछिल्लो समय नेपालमा यो दिवस मनाउनेको संख्या बढ्दो छ । यस दिन मन परेको मान्छेलाई प्रेम प्रस्ताव राख्ने, प्रेममा रहेकाले एकअर्कामा प्रेमभाव साटासाट गर्ने, विभिन्न उपहार दिई मनाउने चलन छ ।
हरेकको मनमा प्रेमभाव अंकुराएको हुन्छ । मनले मन पराएको मान्छेलाई प्रेम प्रस्ताव राख्नु, एकले अर्कोलाई प्रेम गर्नु नराम्रो कदापी होइन । प्रेम मनसँग जोडिएको, भावनासँग जोडिएको विषय हो । तर पछिल्लो समय प्रेम गर्ने र प्रेम दिवस मनाउने नाममा विभिन्न विकृति न भित्रिएका पनि हैनन् । प्रेम दिवस भन्दैमा बाटोमा हिँडेको जोकोहीलाई हातमा गुलाब थमाएर प्रेम हुन सक्दैन । प्रेम हुन मनसँग मन मिल्नु जरुरी छ । प्रेमबिना संसार चल्दैन । सच्चाप्रेमीले सदैव भलो चाहन्छ । प्रेमले जीवन जिउन सजिलो बनाउँछ । यो निस्वार्थी हुनुपर्छ । प्रणय दिवस विभिन्न रूपमा परम्परादेखि नै मनाइँदै आए तापनि समय र परिस्थितिअनुसार यो परिमार्जित हुँदै आएको देखिन्छ । यो राम्रो हो । दिवस युवायुवतीका लागि मात्रै हुनुपर्छ भन्ने होइन, जुनसुकै उमेरसमूहका व्यक्तिले पनि नेपाली संस्कृति अनुसार व्यवस्थित तरिकाले मनाए यसको महत्व अझ बढेर जाने छ । वास्तवमा भन्ने हो भने प्रेम अद्भूत छ , यसमा स्वर्गीय आनन्द लुकेको छ । जीवनको सम्पूर्ण सुख भनेकै यही प्रेममा टिकेको छ । प्रेम दिवसमा युवा युवतीले मन खोलेर प्रेम प्रस्ताव राख्ने गर्दछन् । तसर्थ पनि प्रेम दिवसको महत्व आजको विश्वमा दिन प्रतिदिन बढ्दै गइरहेको छ ।

प्रकाशित मिति: आइतबार, फागुन २, २०७७  १२:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update