Shittalpati
पाउने बालुवाटारको दले, पठाउने बालुवाटारमा ढले

सागर घिमिरे

प्रिय बा,

अहिले रातिको दुई बजेको छ र म ब्युझिएको छु । निन्द्रा नै अलि ढिलो परेको थियो तैपनि झ्याप्पै ब्युझिएछु । केहि दिनदेखि यस्तो भईरहेको छ । दिनभरीका बार्हसत्ताईस कुराले न निद आएको छ न भोक ! मान्छेले समयलाई दोष दिन्छन, कतिले भाग्यलाई पनि दोष दिन्छन तर म यस्तो कुरा मान्दिन । म द्वन्दात्मक भौतिकबादमा विश्वास गर्दछु त्यसैले म कतिबेला मान्छेहरुलाई दोष दिन्छु, कतिबेला बा लाई दोष दिन्छु । प्रिय बा ! दुखका साथ भन्छु म हजुरलाई पनि दोष दिन्छु ।

म हिजो गुमनाम थिएँ आज बद्नाम भएको छु । म काम गरेर खान सक्ने खुबी भएको मान्छे हो भन्ने कुरामा हजुरलाई भर नभएपनि आफु भने विश्वस्त छु । तैपनि हजुरले जनताको गास काटेर मेरो लागि केके गरिरहनु भएको छ म  आफैले थाहा पाउन सकेको छैन । हजुरले चप्पल लगाएर हिंडेको मैले देखिन तर सडकका मान्छेले यसो भनिरहँदा मलाई तपाइको स्केच तयार गरेर भित्तामा राख्न मन लागेको छ । र, त्यो स्केच्मा यस्तो क्याप्सन लेख्न मन छ -मेरा पिता जी चप्पल लगाएर जनताको सेवामा ! तर अफसोच मान्छे गल्ति हुन् की मेरा पिता ? चप्पल लगाएर पाल्पाको क्षेत्र नम्बर ३ मा भोट मागेर हिड्ने मेरा श्रमिकका नेता मेरा बा हजुरको हजुरले पढेको किताबमा जनता भगवान हुन् धर्ति र आकास सिंगो हाम्रो भन्ने चेत थियो तर अहिले त बाहिरबाट घरभित्र पस्नेबित्तिकै भन्ने गर्नुहुन्छ “जनता भेंडा हुन्” । धर्ति र आकाश हाम्रो भन्ने चेत खुईलिएर यहाँका चार आना र आठ आना जग्गामा हजुर र्याल काढ्दै हिड्नु भएको देख्दा पनि उदेक लागेर आउछ ।

संसारका धेरैले मलाई मेरो नामले चिन्न छाडिसके । सबैले पौडेलको छोरो भन्छन र मैले पनि त्यही भनेर परिचय दिनु पर्छ । के मेरो नामै पौडेलको छोरो होर बा ? कि त बालुवाटार कि त बिष्नेको छोरो यहि हो मेरो हैसियत । बिदेश जान्छुभन्दा हजुरले नै पर्दैन जान तेरो पुस्तालाई पुग्ने सम्पती मै दिलाउछु भनेको अझै याद छ । दिलाउन पनी दिलाउनु भयो मन्त्रालय हुदाॅ पुग्यो बा अब पर्दैन भन्दा पनी एक पटक बालुवाटारमा ट्राई हानौ भन्नुभयो । मैले त प्रधानमन्त्री बन्न खोज्नुभयो होला भनेर हुन्छ भनेको थिएँ । तपाईले त प्रधानमन्त्री छेउ को आठ आना जग्गा मेरो नाममा बनाईदिनु भएछ ।

बा दोष मेरो हो की तपाईको अकुत जम्मा गर्ने तपाई, दोष मेरो ! आफ्नो नामको डरले सम्पती पास गर्न नाम मात्र प्रयोग गर्छु भन्नुभाथ्यो नामै उडाईदिनु भयो हजुरले मेरो ।

बुटवलको सुकुम्बासी बस्तीमा सुकुम्बासी बनेर एउटा सरकारी घडेरी लिएको मेरो बाको कुनै जागिर छैन तर जनताको सेवा गर्दागर्दै राणा भारदारहरुको जग्गा किन्ने हैसियत बनाउनु भयो । गजब छ बा ! हजुरको सेवारुपी बोटमा फ़ल्ने मेवा रुपी धन दौलत अनि त्यसैको महिमा गाउने भक्तहरु देख्दा ।

हुनत तपाईले ढाका टोपी र गाडी चढ्न थालेपछी तपाईकै नामको पछाडी जोडने गर्थे अहिले फरक यत्ति छ पहिले ईज्जेतका साथ जोड्थे अहिले बेईज्जेत गरेको भान हुन्छ । यस्तो कमाई केका लागी बा ? अब जिन्दगी भर मेरो परिचय नै त्यहि हो, कमाउनु आफ्नो लागि पुग्ने गरि कमाउनु जन्मदै नजन्मेको पुस्तालाई पनी पुर्याउछु भनेर कमाउन किन पर्यो म आफ्नोलागी कमाउन सक्थे र सक्छु बा जे गर्छु भनेर जनतालाई आस्वासन दिएर चुनाव जित्नुभएको थियो त्यो पुरा गर्नु बा सम्पतीको पछी लागेर आफ्नै परिवार बिचल्लिमा नपार्नुस । अब यो कुरा याद गर्नु बा म मात्रै होईन मेरा छोरा छोरीले पनी आफ्नो परिचय गुमाई सके र गुमाउने छन । उनीहरुलाई पनि नेपालीले त्यही भन्नेछन बिस्ने पौडेलको नाती ! बिस्ने पौडेलको पनाति !

बा हजुरका कारणले पौडेलहरु कै बेईज्जत भएको छ रे । दाजुभाईहरु त्यही भन्छन । अझ ठुलो बेईज्जत त नेकपाको भएको छ भनेर भनेको सुनेको छु । हजुरलाई भोट हाल्ने र भोट दिनेको त के कुरा गर्नु ? ती नादानहरु त अभागी नै थिए, छन् र हुनेछन । तर हजुरलाई राजनीतिमा ल्याउनेहरु, हजुरलाई राजनीति सिकाउनेहरू र हजुरबाट राजनीति सिकेकाहरु जिल्लातिर नाजवाफ छन् रे । आफू माथि चढ्दै जाँदा पार्टी र साथीका टाउकामा आची गर्दै नगएको भए हुन्थ्यो भन्ने मेरो पनि राय हो । शक्तिशाली हजुरमाथि आजै फरक मत राख्ने हिम्मत देशभित्र भएकाहरुबाट सम्भव छैन । तर कम्जोर भयौं भने हाम्रो सेकेन्ड मै बिल्लिबांठ हुनेछ बा ! हेक्का राख्नु है !

बा हजुरलाई मान्छेहरुले बालुवाटारको दले भन्नेहरुले मलाई बालुवाटारमा ढले भन्दा रहेछन । हजुरको बानि सुध्रने भएन हाम्रो जीवन सुध्रने भएन । लज्जाशरणं !!!

उहि तपाईकै छोरो

(नेपालको वर्तमान जल्दोबल्दो परिस्थितिका सन्दर्भमा अमेरिकामा रहेका नेपाली युवा पत्रकार सागर घिमिरेले लेखेको व्यंग्यात्मक लेख । यसमा लेखकले पौडेलको छोराको मनोदशालाई उजागर गर्ने प्रयास गरेका छन् । यो लेख नितान्त कल्पनामा आधारित छ ।-सम्पादक) साभार

प्रकाशित मिति: शुक्रबार, फागुन २, २०७६  १५:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update