Shittalpati
पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धि

नेपाल आयल निगमले पेट्रोल, डिजेल र ग्यासको मूल्य बढाएको छ । भारतीय आयल कर्पोरेसनबाट सबै पेट्रोलियम पदार्थहरुको मूल्य बढेर आएको हुँदा निगमले मूल्य वृद्धि गरेको जनाएको छ । तर अन्तर्राष्ट्रिय रुपमा मूल्य घट्दासमेत नघट्ने परम्परालाई दृष्टिगत गर्दा हाल बढाइएको मूल्य वृद्धि अस्वभाविक रहेको ठहर छ । निगमले ग्यासको मूल्य प्रतिसिलिण्डर २५ रुपैयाँ बढाइएको छ । बुधबारको निर्णयअनुसार आयल निगमले ग्याँसमा हाल कायम १ हजार ३ सय ७५ रुपैयाँलाई बढाएर १४ सय रुपैयाँ पुर्‍याएको हो । यसैगरी निगमले पेट्रोल÷डिजेल÷मटीतेलको मूल्यमा प्रतिलिटर दुई रुपैयाँले वृद्धि गरेको छ । बिहीबारदेखि लागू भएको सो नयाँ मूल्य अनुसार अब पेट्रोलको मूल्य १ सय १२ रुपैयाँ तथा डिजेल र मटीतेलको मूल्य ९५ रुपैयाँ पुगेको छ । हवाई इन्धनको मूल्य भने यथावत रहेको छ ।

उपभोक्ता भन्दा पनि नाफा प्यारो भएको छ, सरकारलाई । यसो हुनु ठिक होइन । अन्तर्राष्ट्रिय स्तरमा दैनिक तेलको भाउ ओरालो लागेको छ । नेपालमा भने मूल्य समायोजन हुनसकेको छैन । तेलको भाउ बढ्दा बढाउन हतार गर्ने आयल निगमका कर्मचारी घट्दाचाहिँ घटाउन किन अग्रसर देखिँदैनन् ? आयल निगमलाई घाटा छ भन्दैमा उपभोक्ताको ढाड सेक्न त पाइएन नि । आयल निगमलाई घाटा उपभोक्ताले पैसा नतिरेर लगाइदिएका हुन् र ? उसको भरथेग उपभोक्ताले गरिदिनुपर्ने ? सरकारी कर्मचारी उच्चपदस्थ व्यक्तिलाई हजारौं लिटर तेल सरकारले बाँडेको छ । सर्वसाधारण उपभोक्ताले भने घटेको मूल्यमा तेल किन्न पनि पाउनु छैन । सर्वसाधारणलाई सरकारले तेल सित्तैमा बाँडेको छैन । आयल निगमका कर्मचारी इमानदार बन्नुपर्‍यो । करिब डेढ महिनामै तेस्रोपटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ । यसभन्दाअघि गत माघ ५ गते र पुस १६ गते पेट्रोलियम पदार्थमा मूल्य बढाइएको थियो । त्यतिबेला पेट्रोल, डिजल र मट्टीतेलमा प्रतिलिटर २/२ रुपैयाँका दरले मूल्य बढाएको आयल निगमले पछिल्लोपटक माघ २८ गते अस्वाभाविक रुपमा मूल्य बढाएको हो । एक वर्षदेखि ग्यासको मूल्य बढेको थिएन, तर यसपल्ट ग्याँसको मूल्यसमेत बढाइएको छ । भारतीय आयल कर्पोरेसनबाट सबै पेट्रोलियम पदार्थहरुको मूल्य बढेर आएको हुँदा निगमले मूल्य वृद्धि गर्न बाध्य भएको हो भन्ने तर्क निगमको छ, तर यो तर्कले उपभोक्ता सन्तुष्टि हुने अवस्था भने छैन ।

प्रकाशित मिति: शनिबार, फागुन १, २०७७  १२:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update