Shittalpati
कोरोनाले गरिबीमा पारेको प्रभाव

कोभिड –१९ का कारण विश्वको अर्थतन्त्र नै तहस नहस भएको छ । नेपाल पनि त्यसबाट अछुतो रहन सकेन । नेपालको अर्थतन्त्रमा कोरोना महामारीले ठूलो क्षति पुर्‍याएको छ । कोरोना महामारीका कारण आर्थिक गतिविधि ठप्प हुँदा आर्थिक वृद्धिदर खुम्चिएको हो । कोभिड संक्रमणले मानवीय क्षति हुनुका साथै अर्थतन्त्रमा समेत असर परेको छ । महामारीबाट बच्नका लागि मानिसहरूको आपसी भौतिक भेटघाट र अन्तरक्रिया कम गर्न लकडाउनका विभिन्न उपायहरू अपनाउन थालियो, जसले गर्दा आर्थिक क्रियाकलापहरूमा संकुचन हुन पुग्यो । यसको असर अर्थतन्त्रमा देखिनु भनेको गरिबीको अवस्थामा प्रभाव पार्नु नै हो ।

महामारीले गर्दा आर्थिक क्रियाकलापहरूमा आएको संकुचनले विकसित देशहरूमा मात्र होइन, सामाजिक सुरक्षाको व्यवस्था नभएका र विकासोन्मुख देशहरूमा धेरै मानिस पुनः निरपेक्ष गरिबीको चपेटामा धकेलिएका छन् । निरपेक्ष गरिबीको रेखामुनिको जनसंख्या कोभिड संक्रमणका कारणले बढ्ने अनुमान गरिएको छ । सन् २०२० मा मात्र करिब १४ करोड मानिस गरिबीको चपेटामा पर्ने अनुमान गरिएको छ । देशको अर्थव्यवस्था वस्तुहरूको निर्यात, वैदेशिक रोजगारमा रहेका श्रमिकहरूले पठाउने रेमिट्यान्स र पर्यटन उद्योगमा आधारित हुन्छ । तर कोभिड–१९ ले यी सबै क्षेत्रहरूलाई नराम्रोसँग प्रभाव पारेकाले पनि गरिबी बढ्ने अनुमान गर्न सकिन्छ । कोभिडले कृषि, उद्योग, यातायात, पर्यटन, होटल तथा रेस्टुरेन्ट, निर्माण, थोक तथा खुद्रा व्यापार लगायतका क्षेत्रमा ठूलो असर पुगेको छ । आर्थिक गतिविधि खुम्चिँदा आर्थिक वृद्धिदर न्यून भई गरिबी र बेरोजगारीमा चाप बढेको छ ।

सरकारले आर्थिक वर्ष ०७६/७७ मा ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखेको थियो । सन् २०१९ मा मुलुकको आर्थिक वृद्धिदर ७.१ प्रतिशत थियो । कोभिडले २०२० मा अर्थतन्त्रको विस्तार रोकिएर ०.२ प्रतिशतमा सीमित हुने विश्व बैंकको प्रक्षेपण छ । कोभिडले निजी क्षेत्र सबैभन्दा ठूलो मारमा परेका छन् । यसले पनि अर्थतन्त्रमा ठूलो धक्का पुग्न गएको हो । जसको प्रभाव गरिबीमा देखिएको हो । गरिबीसँग सरकारले लड्ने भनेकै निरपेक्ष गरिबीको रेखामुनि रहेका मानिसहरूको क्षमता वृद्धि, पहुँच वृद्धि र सशक्तीकरणका लागि शिक्षा, स्वास्थ्य सेवा उपलब्ध गराउनु, बालबिवाह रोक्नु, बालिकाहरूलाई शिक्षाको अवसर उपलब्ध गराउनु, बालश्रमलाई निर्मूल गर्नु हो । तर, कोभिडका कारणले भएको लकडाउनले सरकारहरूको यो प्रयासमा तुसारापात भएको छ । अब सरकारले कोभिडबाट पाठ सिकेर अर्थतन्त्र उकासेर गरिबी निवारण गर्न तर्फ ध्यान दिन जरुरी छ ।

प्रकाशित मिति: सोमबार, माघ २६, २०७७  ११:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update