Shittalpati
कृषि उद्यमशीलता जरुरी

निर्वाहमुखी कृषि प्रणालीबाट बजारमुखी कृषि प्रणालीमा विकास गर्नका लागि अपनाइने रणनीति नै कृषि उद्यमशीलता हो । नेपालमा अझै पनि निर्वाहमुखी कृषि प्रणाली अपनाइएको छ । यो प्राणलीलाई सुधार गर्दै नलैजाने हो भने देशको आर्थिक विकास सम्भव छैन् । कोभिड–१९ को महामारीपछि भिसा अवधि सकिएका, अवैध रूपमा विदेश बसिरहेका, जागिर गुमाएका र अन्य विभिन्न कारणले स्वदेश फर्कने नेपालीहरूको संख्या दिन–प्रतिदिन बढिरहेको छ । त्यसैले एकातिर विदेशबाट भित्रिने विपे्रषण घट्ने क्रममा छ भने अर्कातिर यहाँ बेरोजगारी समस्या बढ्ने निश्चित छ । यस्तो अवस्थामा युवा केन्द्रित कृषिमा उद्यमशीलताका अवसरहरूको विकास गर्न नसक्ने हो भने बेरोजगारीको समस्या विकराल बन्दै जाने छ । बेरोजगारी समस्या समधानका लागि भए पनि कृषिलाई उद्यमशीलतासँग जोड्न आवश्यक छ ।

कृषि क्षेत्रमा उद्यमी बन्नका लागि पहिलो त शुरुवातकर्तामा आँट, जोखिम मोल्न सक्ने क्षमता र नयाँ प्रविधि अँगाल्न सक्ने साहसको आवश्यकता पर्दछ । व्यवस्थापकीय एवं उद्यमशीलताको क्षमता भएका मानिस वा समूहबाट नै सफल कृषि उद्यमीको जन्म हुने गर्दछ । यसका लागि उद्यमीले उद्यमशीलताको सैद्धान्तिक तथा व्यवहारिक पक्षका बारेमा गहीरो जानकारी राख्नु अत्यावश्यक हुन्छ । खासगरी नयाँ–नयाँ साेंच ल्याउने नयाँ कृषि प्रविधिको प्रयोगको शुरुवात गर्ने, साझेदारीको शुरुवात र चयन गर्न सक्ने, लगानीका लागि साझेदारहरुलाई विश्वस्त तुल्याउने र त्यसलाई व्यवहारिक स्वरुप दिनु नै सफल उद्यमी हुनेतर्फको खुड्किलो हो । सफल उद्यमी बन्नका लागि व्यवसायिक सीप, व्यवस्थापकीय सीप, अवसर पहिल्याउन सक्ने सीप, रणनीतिक सीप र सहकार्य र साझेदारी निर्माणको सीप हुनु अनिवार्य रहन्छ । यस्तो भयो भने मात्र कृषिमा उद्यमशीलताको विकास गर्न सकिन्छ । जसले गर्दा विद्यमान बेरोजगारी समस्या न्यून गर्नुको साथै विदेशबाट फर्केका युवाहरूलाई पुनः विदेश जानुपर्दैन । तसर्थ अब निर्वाहमुखी कृषि प्राणाली निरुत्साहित गर्दै कृषि उद्यमशीलतालाई जोड दिन जरुरी छ ।

प्रकाशित मिति: आइतबार, माघ २५, २०७७  १२:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update