Shittalpati
बर्डफ्लुको प्रकोपबाट सचेत बनौं

नेपाल कोरोना महामारीको प्रकोपबाट आक्रान्त बनिरहेका बेला फेरी बर्डफ्लुको प्रकोप देखा परेको छ । पछिल्ला केही समय यता कोरोना महामारीबाट नेपालमा केही सहज भएर दैनिकी सुचारु गर्न थालिए पनि फेरी बर्डफ्लुको प्रकोपले भने भय उत्पन्न गराएको छ । काठमाडौं उत्तरको तारकेश्वर नगरपालिकाको–७ साङ्लेखोला फुटुङमा बर्डफ्लुका कारण किसानका फर्मका हाँस, कुखुरा, टर्की, बट्टाईमा बर्डफ्लु देखापरेका समाचारहरु बाहिर आएका छन् । त्यहाँका किसानको फर्मका हाँस, कुखुरा, टर्की, बट्टाई, तिनका अण्डा, दानालगायत पक्षीजन्य पदार्थहरूसमेत नष्ट गरिएको छ । यसबाट जोगिन बेलैमा सावधानी अपनाउनुपर्ने हुन्छ । यहाँ फैलिएको बर्डफ्लु अन्य ठाउँमा पनि नफैलेला भन्न सकिदैन । यसले मानवमा पुनः अर्को त्रास सिर्जना गराएको छ । यो अवस्थामा प्रकोप बारे हामी सजग हुन आवश्यक छ ।

बर्डफ्लु पंक्षीबाट पंक्षी तथा पंक्षीबाट मानिसमा लाग्ने रोग हो । यसलाई ‘एभियन इन्फ्लुएन्जा’ पनि भनिन्छ । दाना वा पानीको माध्यमबाट यो रोगको भाइरस द्रुत गतिमा फैलिएर धेरैको ज्यान लिन सक्ने भएकाले बर्डफ्लुलाई प्राणघातक रोग पनि भनिन्छ । यो रोग सर्वप्रथम सन् १९७८ मा पंक्षीमा र सन् १९९७ मा मानिसमा देखिएको हो । विश्वमा बर्डफ्लुको संक्रमण भेटिएको पछिल्लो ६६ औं मुलुक हो नेपाल । थाइल्याण्ड, बङ्गलादेश र इण्डोनेशियामा यसले विकराल अवस्था निम्त्याएको थियो । बर्डफ्लु खोकीको संक्रमण जस्तै हो । यो रोगको भाइरस कुखुराको मासु, प्वाँख, सिंगान, ¥याल, सुली, दाना, अण्डा तथा क्रेट, दाना राखेको बोरा आदिको सम्पर्कबाट मानिसमा सर्न सक्छ । जनस्वास्थ्यलाई मध्यनजर राखेर रोगी बिरामी तथा मरेका पक्षीको मासु बेच्ने जस्ता काम गरिनु हुँदैन । यो संक्रमण जहाँ पनि फैलिन सक्छ । यसको समयमै नियन्त्रण गर्नुपर्ने हुन्छ । नत्र यसको विस्तार भयो भने भयावह बन्न सक्छ । तसर्थ प्रकोप देखा पर्न साथ यसको रोकथाम तथा नियन्त्रणमा विशेष सचेत हुन जरुरी छ ।

प्रकाशित मिति: शनिबार, माघ २४, २०७७  १४:००
प्रतिक्रिया दिनुहोस्
Weather Update