Shittalpati
बगनासकालीका स्वास्थ्यकर्मीलाई झोला

पाल्पा, बगनासकाली गाउँपालिकाका स्वास्थ्यकर्मीहरुलाई झोला वितरण गरिएको छ । गाउँपालिकाले कोरोना महामारीका बेला अग्रभागमा रहेर काम गर्दै आएका स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेवीकाहरुले गरेको कार्यको उच्च मूल्याङ्कन गर्दै पुरस्कार स्वरुप झोला दिएको हो ।

चिर्तुङ्धारा स्वास्थ चौकीमा महिला स्वास्थ्य स्वयंसेवीकाको अर्धवार्षिक समिक्षा कार्यक्रममा १ सय ४० जना स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेवीकाहरुलाई झोला दिइएको गाउँपालिकाका स्वास्थ्य संयोजक मणिराम अधिकारीले बताए । उनका अनुसार ९ वटा स्वास्थ्यचौकी, एक सामुदायिक स्वास्थ्यचौकीका स्वास्थ्यकर्मी र ७७ जना महिला स्वास्थ्य स्वयंसेवीकाहरुलाई झोला दिइएको हो ।

गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले उनीहरुलाई झोला वितरण गरेका थिए । झोला वितरण गर्र्दै प्रमुख अतिथि समेत रहेका बस्यालले कोभिडका बेला स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयंसेवीकाहरुले देखाएको सहयोग र सद्भाव अत्यन्त प्रशंसनिय रहेको भन्दै उनीहरुलाई धन्यावाद दिए । उनले अगामी दिनहरुमा पनि उच्च मनोवलका साथ काम गर्न उनीहरुलाई आग्रह गरेका छन् । नेपाल सरकारले महिला स्वास्थ्य स्वयंसेवीकाहरुलाई अवकासपछि दिदै आएको रकममा गाउँपालिकाले थप २० हजार दिने निर्णय गरेको अध्यक्ष बस्यालले बताए । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सरस्वती चिदीले गाउँपालिकाको स्वास्थ्य क्षेत्रको विकासमा स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेवीकाहरुले खेलेको भूमिका महत्वपूर्ण रहेको बताईन् । स्वास्थ्य शाखा संयोजक मणिराम अधिकारीले नागरिकहरुको स्वास्थ्य उपचारमा गाउँपालिकाका स्वास्थ्यकर्मीहरु निरन्तर रुपमा खट्दै आएको बताए । चिर्तुङ्गधारा स्वास्थ्यचौकी सञ्चालन तथा व्यवस्थापन समितिका उपाध्यक्ष कूलप्रसाद ढुङ्गानाको अध्यक्षता, स्वास्थ्यचौकी प्रमुख नोद प्रसाद बस्यालको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: बिहीबार, माघ १५, २०७७  १७:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update