Shittalpati
तानसेनमा सवारी कर उठाउन रोकियो !

रामचन्द्र रायमाझी
पाल्पा, तानसेन नगर सरकारले उठाउदै आएको सवारी कर रोकिएको छ । होलाङ्दी, बसपार्क, अप्पुभिलेज ढुङ्गाखानी सडकमा चल्ने सवारी साधनमा नगर सरकारले उठाउदै आएको कर चौतर्फी विरोधपछि बुधबारदेखि रोकिएको हो । शहरी सडकमा स्थानीय सरकारले पूर्वाधार उपयोग कर लिन पाउने भन्दै तानसेन नगरपालिकाले यि क्षेत्रमा चल्ने सवारी साधनमा कर उठाउदै आएको थियो ।

स्थानीय तहले आफ्नो फाइदाको लागि व्यवसायी तथा सवारी धनीहरुलाई मर्का पर्ने गरी पूर्वाधार सडक उपभोग शुल्कको नाममा मनोमानी रुपमा राजमार्ग प्रवेशमा लिइरहेको शुल्क विद्यमान ऐन कानुन विपरीत भएको भन्दै उद्योग वाणिज्य संघ गुल्मीले मंगलबार जिल्ला प्रशासन कार्यालय पाल्पा र तानसेन नगर सरकारको ध्यानाकर्षण गराएको थियो । सडक डिभिजन कार्यालयले पनि बर्तुङ्ग–होलाङ्दी, बसपार्क, अप्पुभिलेज ढुंगाखानी सडक राष्ट्रिय राजमार्ग (आफ्नो क्षेत्राधिकार भित्र) पर्ने भन्दै नगरपालिका र जिल्ला प्रशासनमा पत्राचार गरेको थियो । सडक डिभिजनको प्राप्त पत्र अनुसार जिल्ला प्रशासन कार्यालय पाल्पाले तानसेन नगरपालिकालाई वर्तुङ्ग–तानसेन, रिडी वामीटक्सार, खर्वाङ्ग राष्ट्रिय राजमार्ग र होलाङ्गदी मोडदेखि धरमपानी हुँदै ढुंगाखानीसम्म सहायक मार्ग भएकाले स्थानीय पूर्वाधार सडक उपभोग शुल्क नउठाउन निर्देशन दिइएको छ । प्रशासनले मंगलबार तानसेन नगरपालिकालाई एक पत्र पठाउदै सार्वजनिक सडक ऐन २०३१ अनुसार राष्ट्रिय र सहायक मार्गको दायाँ सडक भित्र स्थानीय पूर्वाधार सडक उपभोग शुल्क उठाउन नमिल्ने जनाएको छ । सार्वजनिक सडक ऐन २०३१ अनुसारको व्यवस्था अविलम्ब कार्यन्वयन गर्न पत्रमा उल्लेख गरिएको छ । सार्वजनिक सडक ऐन मै राष्ट्रिय र सहायक मार्गको दायाँ सडक भित्र स्थानीय पूर्वाधार सडक उपभोग कर उठाउन नमिल्ने व्यवस्था भएकाले तानसेन सरकारलाई सवारी कर नउठाउन निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले बताए । उनले भने ‘ कानुनमा उल्लेख भए अनुसार राष्ट्रिय राजमार्ग र सहायक मार्गका सडकहरुबाट स्थानीय सरकारले सवारी कर उठाउन पाउदैनन् ।’

जिल्ला प्रशासनबाट उक्त पत्र प्राप्त भए पछि तानसेन नगर सरकारको मंगलबार बसेको बैंठकले तत्कालका लागि कर नउठाउने निर्णय गरेको छ । कार्यवाहक नगरप्रमुख लक्ष्मीदेवी पाठकको अध्यक्षतामा बसेको बैंठकले तत्कालका लागि कर नउठाउने निणर्य गरेको हो । २०६९ साल भदौ १८ गते प्रकाशित राजपत्रमा नेपाल सरकारले सार्वजनिक सडक ऐन, २०३१ को दफा ३ ले दिएको अधिकारको प्रयोग गरी वर्तुङ्ग, तानसेन, रिडी तम्घास सडकको होलाङ्दी मोडदेखि बसपार्क, गौरीशंकर, अप्पुभिलेज ढुंगाखानी सम्मको बाटोलाई शहरी मार्ग कायम गरेकाले सोही अनुसारको पूर्वाधार कर लिइदै आएको कार्यवाहक प्रमुख पाठकले बताईन् । उनले भनिन् ‘जिल्ला प्रशासनबाट आएको पत्रलाई परिपालना गर्दै तत्कालका लागि रोकिएको र यस विषयमा नगर सरकार, सडक कार्यालय र जिल्ला प्रशासन कार्यलयको बैठक बसी थप निर्णय गर्ने छ ।’ २०६९ साल भदौ १८ गते को राजपत्रमा वर्तुङ्ग, तानसेन, रिडी तम्घास सडकको बसपार्क, गौरीशंकर, अप्पुभिलेज ढुंगाखानी सम्मको बाटोलाई शहरी राजमार्ग कायम गरेको थियो । तर पछि २०७६/०२/०६ को नेपाल सरकारको निणर्यले वर्तुङ्ग, तानसेन, रिडी वामीटक्सार, खर्वाङ्ग सडकको होलाङ्दी मोडदेखि तानसेन बसपार्क सडकलाई राष्ट्रिय राजमार्गको रुपमा कायम गरेपछि अहिले विवाद सिर्जना भएको हो । कार्यवाहक नगर प्रमुख पाठकले उक्त बाटो सडक कार्यलयको क्षेत्र अधिकार भित्र पर्ने भए सडकले त्यसको मर्मत संभारको काम गर्नु पर्ने बताईन् । उनले भनिन्‘सडक कार्यालयले तानसेनको बाटोको अवस्था जिर्ण बन्दै जाँदा समेत ध्यान नदिदा स्थानीय सरकारले सडक स्तरन्नोती काम गरेको छ त्यसैले पनि राजस्वको लागि सवारी कर उठाइएको हो ।’

प्रकाशित मिति: बुधबार, माघ १४, २०७७  १८:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update