Shittalpati
राजनीति भन्दा माथि उठे मात्र सहकारीको विकास सम्भव : सांसद राना

रामचन्द्र रायमाझी
पाल्पा । लुम्बिनी प्रदेशका सांसद वीरबहादुर रानाले सहकारी अभियान्ताहरु राजनीति भन्दा माथि उठे मात्र सहकारीको विकास सम्भव रहेको बताएका छन् । सोमबार बचत तथा ऋण सहकारी संघ पाल्पाको २१ औं साधारण सभालाई तानसेनमा सम्बोधन गर्दै सांसद रानाले यस्तो बताएका हुन् ।

उनले पवित्र भावनाबाट मात्र सहकारी सञ्चालन हुने भएकाले राजनीति आस्था र विचार भन्दा माथि उठेर लाग्न सके मात्र सहकारीको विकास र विस्तार हुने बताए । सांसद् रानाले भने ‘सहकारीमा राजनीति छिर्नु भनेको अंशवण्डा गर्नु जस्तो हो, त्यसैले सहकारीको जुन रुपमा विकास र विस्तार हुनुपर्ने हो त्यसो हुन सकिरहेको छैन ।’ सहकार्य र विश्वासले मात्र सहकारी चल्ने भएकाले राजनिती आस्था भन्दा माथि उठेर काम गर्न उनले सहकारी अभियान्ताहरुलाई आग्रह गरेका छन् । नेपाली काँग्रेस पाल्पाका सभापति समेत रहेका रानाले राजनीति आस्था र विचार सिमित ठाउँमा मात्र प्रयोग गर्न सकिने भएपनि त्यसलाई सहकारी जस्तो पवित्र ठाउँमा प्रयोग गर्न नहुने धारणा व्यक्त गरे ।

उनले सामाजिक क्षेत्रबाट शुरु भएको सहकारी अभियानमा अहिले राजनिती हावी भएको बताए । ‘आफ्ना कार्यकर्ताहरुलाई रोजगारी दिने ठाउँ भएको छ । कुनै पनि पार्टीको फेरो समातिएन भने जिल्लागत संघ र केन्द्रिय संघको सञ्चालक बन्न पाइदैन । अहिले राम्रो मान्छे भन्दा पनि हाम्रो मान्छेले ठाउँ पाइरहेका छन् र सहकारीमा विकृति बढेर गएको छ’ सभापति रानाले भने । जबसम्म यो अवस्था सहकारीमा रहिरहन्छ । तबसम्म एक अर्काप्रति हाम्रो विश्वास र सहकार्यता हुँदैन । सहकारीका सबै गुण बिलाएर जान्छ । यस्तो अवस्थामा सहकारीको विकासको सम्भावना न्यून हुन्छ । समाज र देशको आर्थिक समृद्धि हासिल गर्नका लागि सहकारीको महत्वपूर्ण भूमिका रहने भन्दै उनले विचार र आस्था भन्दा माथि उठ्न सके मात्र सहकारीको विस्तारमा कायापलट ल्याउन सकिने धारणा व्यक्त गरे । सांसद रानाले सहकारीबाट मात्रै जनताको जीवनस्तरमा सुधार ल्याउन सकिने बताएका छन् । उनले सबै नागरिकहरुलाई सहकारीमा आवद्ध गराउन जरुरी रहेको धारणा व्यक्त गरे ।

कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष ध्रुव अधिकारीले सहकारीको विकासमा स्थानीय सरकारले ध्यान दिन नसकेको बताए । उनले स्थानीय सरकारले सहकारीको अभियानप्रति अनविज्ञयता प्रकट गरेकै कारण सहकारीको विकास र विस्तार हुन नसकेको प्रति चिन्ता व्यक्त गरे । संघका सल्लाहकार टिकाराम भण्डारीले सहकारीलाई पेशा र व्यवसायका रुपमा नलिदासम्म सहकारी फष्टाउन नसक्ने बताए । उनले सहकारीलाई प्रतिष्ठानका रुपमा नहेर्न सहकारी अभियान्ताहरुलाई आग्रह गरे । संघका अर्को सल्लाहकार भुपति पाण्डेले सहकारीको विकासमा स्थानीय र प्रदेश सरकारले ध्यान दिनुपर्ने बताए । उनले सहकारी र स्थानीय सरकार बिच समन्वय हुन नसकेको भन्दै समन्वय र सहकार्यको वातावरण मिलाईदिन सांसद रानालाई आग्रह गरेका छन् । बगनासकाली बहुउद्देश्य सहकारी संस्थाका अध्यक्ष कृष्ण भुषालले अर्थतन्त्रको तीन खम्बे अर्थनीतिका रुपमा सहकारीलाई लिए पनि सरकारी तवरबाटै सहकारीको वेवास्त भएको बताए । कार्यक्रममा संघका लेखा संयोजक टेकराम गाहाले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्दै संघले आर्थिक वर्ष २०७६/०७७ मा ९ हजार ९ सय ४२ नाफा गर्न सफल भएको बताए । कोषाध्यक्ष शशी श्रेष्ठले आर्थिक वर्ष २०७७/०७८ को अनुमानित आयव्यय प्रस्तुत गरेकी थिइन् । कार्यक्रम संघका अध्यक्ष जगदीश भट्टराईको अध्यक्षता, उपाध्यक्ष होमनाथ न्यौपानेको स्वागत, सचिव धनबहादुर रायमाझीको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: सोमबार, पुस २७, २०७७  १९:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update